फोटो फिचर

‘पोखरा घुम्न आउनु है’ (फोटो फिचर)

पोखरा – आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाउँदै विहीबारदेखि यहाँस्थित कोमागाने पार्कमा पोखरा सडक महोत्सव सुरु भएको छ। पोखरालाई आन्तरिक पाहुनामय बनाउने योजनासहित आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान)ले पोखरामा पाँँच दिनका लागि महोत्सव आयोजना गरेको हो। 

तामझामपूर्ण तरिकारले विहीबारदेखि सुरु भएको महोत्सवले अबका पाँच दिन पोखरामा आन्तरिक पाहुना खचाखच हुने आयोजकको अपेक्षा छ । अंग्रेजी नयाँ वर्षको स्वागत र पुरानो वर्षको बिदाई गर्दै रेबानले हरेक वर्ष एकै समय र अवधिका लागि पोखरामा सडक महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवको यो १९ औं संस्करण हो । महोत्सवको कास्कीबाट हालै निर्वाचित प्रतिनिधि तथा प्रदेससभा सदस्यहरूले सामूहिक रुपमा उद्घाटन गरे। 

रेबान पोखराका अध्यक्ष चौबहादुर गुरुङले पोखरामा आन्तरिक पाहुनालाई लक्षित गर्दै सडक महोत्सव आयोजना गरेको बताए। उनले महोत्सवमार्फत पोखरामा आन्तरिक पाहुना भित्र्याउन आयोजक सफल भएको पनि बताए। 

रेबानका अनुसार महोत्सव सुरु हुनुअघि विहीबार जापान, चीन, कोरियन र भारतीय समूहले सांस्कृतिक कार्यक्रम पस्केका थिए । नेपालका सातैवटा प्रदेशका सांस्कृतिक समूहले आफ्नो कला प्रदर्शन गरेका थिए । प्रदेश १ बाट झापाको सतार, २ बाट जनकपुरको मैथली, ३ बाट काठमाडौंको नेवारी, ४ बाट कास्कीको गुरुङ, ५ बाट बर्दियाको थारु, ६ बाट हुम्लाबाट हुम्लेली र ७ बाट डडेलधुराको देउडा जातीको सांस्कृतिक समूहले विहीबार उद्घाटन सत्रमा झाँकी प्रस्तुत गरेका थिए।

महोत्सवमा लोकदोहोरी गीत, बाल उद्यान, फुड फेष्टिवल, पञ्चेबाजा, नेवारी लाखेनाच, गुरुङ नाच, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो लगायतका गतिविधि हुनेछन् । महोत्सवमा १ सय भन्दा बढी ब्यापारिक स्टल राखिएका छन्। त्यसबाहेक कास्की आसपासका ६ जिल्लाका उत्पादित सुन्तला तथा कृषि उत्पादनको प्रदर्शनी तथा बिक्रीमा राखिएको छ। 

महोत्सव सुरु भएको पहिलो दिन विहीबार दिउँसो हल्लनचोकबाट सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो। हल्लनचोबाट हिडेको बाजागाजासहितको झाँकी कोमागानेपार्कमा पुगेर महोत्सवमा परिणत भएको थियो। महोत्सवको उद्घाटनलाई भव्य बनाउन विहीबार २ वटा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो। 

 तस्बिरः सबै उमेश पुन

पोखरा घुम्न आउनु है फोटो फिचर