फोटो फिचर

मधेसको चुनावी रङ (फोटो फिचर)

लक्ष्मीनिया (महोत्तरी) – मंसिर महिना आधा बित्दै गर्दा मधेशका गाउँमा चिसो सुरु भएको छ । तर नजिकिदै गरेको चुनावले यहाँको माहोल झनै तात्न थालेको छ । खेत–खरियान देखि चिया पसलमा सबैतिर चुनावी चर्चा  छ । भजन गुन्जने माइकबाट चुनावी गीत बज्न थालेका छन् । केटोकटीहरू रगंविरगंका पम्लेट र पर्चा बटुल्दै छन्। उम्मेदवारहरू घर दैलो धाउँदै छन् । सर्वसाधरण चुनावी हारजितको जोड घटाउ गर्दैछन् । 

खेतीपातीमा व्यस्त गाउँका महिलालाई भने यो प्रतिष्पर्धा छैन् । उनीहरूलाई चुनाव लागेको छ, तर हारजितको चिन्ता भने पटक्कै नलागेको उनीहरू सुनाउछन । ‘कोनौ जितत भोट देबै’(जसले जितेपनि भोट दिन्छौ) लछमनियाकी सुशिला देवी महतोले भनिन, ‘जसले जितेपनि ‘समाज’ले जित्ने छ ।’

 उनले भनेको समाज साँघुरो छैन् । गाउँ ठाउँको पिरमर्का बुझ्नेलाई उनले समाज भनेको सुनाइन्। ‘जसले गाउँको विकाश गर्छ, उसैलाई भोट दिने हो,’ उनले थपिन्, ‘हामीलाई भोट हाल्ने रहर लागेको छ ।’ जसले जितेपनि समाजको राम्रो गरोस भन्ने चाहना रहेको उनले बताइन्। 

उनको जस्तै उत्साह छ रामसुनेर देवीलाई पनि । दुई विगाह खेतीमा तरकारी खेती गर्दै आएकी उनी सिंचाइका कारण बालीनाली राम्रो नसप्रेको सुनाउँछिन् । ‘खेतमा लाउने पानी भैदिए, तरकारी राम्रो हुन्थ्यो,’ उनले भनिन्, ‘तरकारी राम्रो भए सन्तानलाई पढाउन सजिलो हुन्छ ।’

तरकारीको मात्र भर नभएर भैसी समेत पालेकी उनले दुध पनि बेच्ने गरेको सुनाइन। ‘हामी त परिश्रमले बाँचेका छौँ,’ उनले भनिन्, ‘हाम्रो काममा हात बटाउने नेताको खोजीमा छाैँ ।’ 

उनले भनेका नेताको जस्तो खोजीमा छन् यस गाउँमा रहेका करिब ५५ घर महतो समुदायका किसान ।  तरकारी खेती गरेर गुजारा चलाउँदै आएको यो समुदाय सिंचाइको राम्रो व्यवस्था नहुँदा केही पछि परेको छ। ‘अझै पनि आकाशको पानीको भर छ,’ सोनीया देवी महतो सुनाउँछिन, ‘अब पानी दिनसक्ने भरपर्दो नेता चाहिएको छ।’

महोत्तरीको क्षेत्रनंम्बर १ मा पर्ने बर्दिबास नगरपालिको यस गाउँमा किसानका मागलाई पूरा गर्ने बाचाका साथ प्रतिनिधिसभा तर्फ वाम गठबन्धनबाट माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, नेपाली कांग्रेसबाट सीताराम भण्डारी र संघीय समाजवादी फोरमबाट लक्ष्मी महतो चुनावी मैदानमा उत्रेका छन्। 

स्थानीय चुनावमा बर्दिबास नगरपालिका र गौशाला नगरपालिकामा माओवादी र एमालेको मत अन्य दल भन्दा बढी देखिएकाले वाम गठबन्धनले जित्ने धेरैको अनुमान छ । तर पुरानो अंकगणितले अहिले खासै प्रभाव नराख्ने अन्य दलको भनाई छ । ४ निर्वाचन क्षेत्र रहेको महोत्तरीमा तीन लाख  १७ हजार ६८९  मतदाता रहेका  छन् । सबै क्षेत्रमा चुनावले छपक्कै छोएको छ। 

तस्बिर सबै उपेन्द्र लामिछाने

मधेसको चुनावी फोटो फिचर