फोटो फिचर

प्रकृतिको मनोरम उपहार बल्थली

केही वर्ष अघिसम्म गुमनाम जस्तै काभ्रेको बल्थली गाउँ अहिले काठमाडौं उपत्यकाको कोलाहलबाट मुक्त भइ फुर्सदको समयमा प्रकृतिसँग रम्न मन पराउनेहरुका लागि उपयुक्त गन्तव्य बनेको छ । 

काठमाडौंबाट ४० किमीको दुरीमा रहेको बल्थली बनेपा–पनौती–खोपासी हुँदै पुग्न सकिन्छ । खोपासीबाट बल्थली सम्मै कच्चि बाटो पुगेको भए पनि पैदलै रोशी, लड्कु खोला तरि खेतबारीको कान्ला छिचोल्दै हिँड्नुको मज्जा विशेष हुन्छ । नमोः बुद्धबाट करिब दुई घण्टाको हाइकिङमा पनि बल्थली गाउँ पुग्न सकिन्छ । 

शान्त वातावरणमा मनोरम गाउँको दृश्यावलोकन गर्दै लड्केश्वर महादेव मन्दिर, वीरचुली डाँडा कामी डाँडासम्म भ्रमण गर्न सकिन्छ भने स्थानीय स्तरमै उत्पादित खाना खानुको मज्जा बेग्लै हुन्छ । जाडो समयमा बल्थलीबाट देखिने नुम्बुर–गौरीशंकर तथा लाङटाङ–मनास्लु हिमशृंखलाको मनमोहक दृश्यले त्यहाँ पुग्ने जो कोहीलाई पनि लोभ्याउँछ ।

वार्षिक सरदर दश हजार जस्तो आन्तरिक तथा बाहिरी पर्यटक घुम्न बल्थली पुग्ने बताउँछिन् सविनाज होमस्टेकी सविना हुमागाँई । आन्तरिक नै बढी घुम्न पुग्ने बल्थलीमा वार्षिक पर्यटक आगमनमा पनि वृद्धि भइरहेको छ। बल्थलीको पर्यटन विकासमा ग्रामीण पर्यटन प्रवर्धनमा सक्रिय गाँऊ पर्यटन प्रवर्धन मन्च (भिटोफ) नेपालले पनि त्यतीकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

बल्थलीमा खुलेका रिसोर्ट तथा होमस्टले त्यहाँ जाने पर्यटकहरुका लागि एक रात दुई दिन वा दुई रात तीन दिन सम्मको विभिन्न प्याकेज टुरको व्यवस्था गरेको पनि पाइन्छ । 

तस्बिरहरू सबै दिपेश श्रेष्ठ