पोखरा–भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा आगमनलाई भव्य र सभ्य बनाउन तीब्र रुपमा तयारी गरिएको छ। यही अवसरमा बिहीबार बिहान पूर्वअभ्यास पनि गरिएको छ।
मुखर्जी शुक्रबार दिउँसो पौने १ बजे जनकपुरबाट पोखरा आउनेछन्। उनी भोलि नै दिउँसो ४ बजे पोखराबाट काठमाडौं फर्कनेछन्। जनकपुरबाट बुद्ध एयरको चार्टर जहाज चढेर मुखर्जी पोखरा आउने सुरक्षा स्रोतले बताएको छ। ‘तीनघण्टा जति मुखर्जी पोखरा रहनेछन्। त्यसपछि सिधै काठमाडौं फर्कनेछन्’, स्रोतले भन्यो।
मुखर्जीले सम्बोधन गर्ने पेन्सन क्याम्पमा करिब १० हजार पूर्व भारतीय गोरखा सैनिकका लागि बस्न व्यवस्था मिलाइएको छ। त्यसबाहेक सम्बोधनस्थलको पनि तयारी भइसकेको पेन्सनक्याम्पका अधिकारीले बताए। ‘लगभग तयारी पूरा भएको छ। रातदिन खटेर तयारी गरेका छौं,’ पेन्सनक्याम्पका एकजना उच्च अधिकारीले भने । क्याम्पमा सहभागि हुनका लागि पूर्व भारतीय सैनिकलाई निमन्त्रणा गरिएको छ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालका अनुसार मुखर्जीको सवारीको बेला विमानस्थल देखि होटल, होटलदेखि पेन्सन क्याम्पसम्मको बाटोमा अरु सवारी चलाउन रोक लगाइनेछ। ‘अरुतिर गाडी चल्छन्। तर, राष्ट्रपतिको सवारीका बेला केही समय बाटोमा अरु गाडी रोकिनेछन्’, उनले भने। मुखर्जीको स्वागतार्थ सवारी गुड्ने सडकमा स्वागतद्वार बनाइएको छ । बाटो चक्लाउने र आसपासमा सरसफाई गर्ने काम चलिरहेको छ। ट्राफिक व्यवस्थापनका लागि भैरहवा र बुटवल लगायतका क्षेत्रबाट थप प्रहरी पोखरा ल्याइएको छ। त्यसबाहेक सडकका खाडल पुर्ने र सम्याउने कामले पनि तिब्रता पाएको छ।
प्रकाशित: १८ कार्तिक २०७३ ०५:२४ बिहीबार