फोटो फिचर

धरानको फुस्रेदेखि ऐतिहासिक साँगुरीगढीसम्म एकीकरण मार्गमा पदयात्रा (फोटोफिचर)

३०१ औं पृथ्वी जयन्ती एवं एकता दिवसको अवसरमा धरानको फुस्रेदेखि ऐतिहासिक साँगुरीगढीसम्म बुधबार पदयात्रा कार्यक्रम भएको छ।  

नेपाली सेनाको भीमदल गण धनकुटाको आयोजनामा एकीकरण मार्ग नाम दिइएको बाटोमा पदयात्रा भएको हो। फुस्रेबाट करिब ५ किलोमिटर उकालो पदयात्रामा नेपाली सेनाको पुर्वीपृतनापति सहदेव खड्का, धरानका मेयर हर्क साम्पाङ, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, जिल्ला समन्वय समिति अध्यक्ष निरेन तामाङसहित ६ सयभन्दा बढी सहभागी भएका थिए।गढीमा पुगेपछि पृथ्वीनाराण शाहको फोटोमा माल्र्यापण गरिएको थियो भने राष्ट्रिय झण्डा झण्डोत्तलन गरेर सलामी पनि दिइएको थियो। साथै, साँस्कृतिक कार्यक्रम पनि भएको थियो।

पदयात्रा आयोजक भीमदल गण धनकुटाका गणपति एवं सेनानी सुमन थापाले राष्ट्रिय एकताको भावना जगाउन तथा ऐतिहासिक कुराहरुलाई संर्वद्धन र जर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको हो।अरुण पुर्व लिम्बुवान एकीकरण हुनुअघि साँगुरीगढी तत्कालिन लिम्बुवानको एक महत्वपुर्ण गढी रहेको थियो। सयोक यक भनिने यो गढीको स्थापना तत्कालिन लिम्बु राजा सयोक हाङले बनाएको बताइन्छ। सयोक यकलाई नै अचेल साँगुरीगढी भनिन्छ।

यो गढी निर्माण गर्दा धरानको तामाखाम क्षेत्रको ढुंगाहरु लस्करै सेना राखेर लगिएको थियो। अहिले पनि गढीमा ती ढुंगाहरु सुरक्षित नै छन्। युद्धमा पराजित हुन नसकेका लिम्बु राजाहरुसँग तत्कालिन शाह राजाले अरुण पुर्वा लिम्बुवान भुमीलाई वि.स. १९३१ साउन २२ गते सम्झौता गरि नेपालमा विलय गरेको इतिहास छ।  

धनकुटा र सुनसरी (धरान) को सिमानामा अवस्थित यही गढीको नामबाट धनकुटाको दक्षिणी गाउँपालिकाको नाम साँगुरीगढी राखिएको छ। यो गढी प्रसिद्ध पर्यटकीयस्थल भेडेटारबाट २.३ किलोमिटर पश्चिमतर्फ पर्छ। कोशी राजमार्गको धरान धनकुटा सडक निर्माण हुनुअघि धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमलगायत जिल्लाहरुका मानिसहरु धरानको फुस्रेमा किनमेल गर्न आउथे। त्यसबेला धरानको फुस्रे हुँदै चिउरीबास, साँगुरीगढीबाट धनकुटाको फेदी, बेलहारा, उत्तरपानी, पाख्रिबास हुदै मानिसहरु ओहोरदोहोर गर्थे। त्यही ऐतिहासिक बाटोलाई नेपाली सेनाले एकीकरण पदमार्ग नामकरण गरेको हो।

पृतनापति खड्काले ऐतिहासिकस्थल, गढी तथा किल्लाहरुको संरक्षण गर्ने जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको बताए। सोही जिम्मेवारी अन्तर्गत साँगुरीगढी र एकीकरण पदमार्ग संरक्षणमा ध्यान दिइएको उनले बताए। नेपाली सेनाले राजनीति, विचार र वादको दायराभन्दा माथि बसेर, जात जाति, धर्मभन्दा पर बसेर राष्ट्रिय एकतालाई शिरमा राखेर काम गरिरहेको बताए। ‘राष्ट्रिय एकतालाई संर्वद्धन गर्ने विभिन्न पालिकाहरुमा कार्यक्रम गरेका छौं। गढीकिल्लाहरुको संर्वद्धन गरेका छौं, पुराना मठमन्दिरहरुको संरक्षण गरेका छौं। गढी किल्लाहरुमा बनिएका संग्रहालयहरुलाई पर्यटनसँग जोड्ने प्रयास गरेका छौं,’पृतनापति खड्काले भने।

उनका अनुसार भोजपुरमा निशान मन्दिर र पालिकासँग समन्वय गरेर सेनाले काम गरेको छ भने विराटनगरमा विराट राजाको दरबार उत्खनन्को काम भएको छ। यस्तै, धनकुटामा निशान मन्दिर र ३ सय बर्ष पुरानो ढुंगे धाराको उत्खनन् र संवद्र्धन गर्न थालेको पनि खड्काले बताए। ‘साँगुरीगढीमा जग्गाको स्वामित्वको समस्या थियो। यो बर्ष पहल गरेर जग्गाको स्वामित्व नेपाल सरकारको भएको छ। यसको डिपिआर तयार छ, त्यसअनुसार अब काम गर्न लाग्नेछौं,’उनले भने,‘पर्यटन क्षेत्र प्रर्वद्धन हुनसक्ने गरि अब काम हुन्छ।’

 

३०१ औं पृथ्वी जयन्ती एवं एकता दिवस