फोटो फिचर

खुल्याे रसुवागढी–केरुङ नाका (फोटोफिचर)

रसुवागढी– रसुवागढी–केरुङ नाका लगातार साढे पाँच महिनाको बन्दपछि बिहीबारबाट पुनः सञ्चालनमा आएको छ । भूकम्पपछि पहिरोले सडक अबरुद्ध भएसँगै दुवैतर्फबाट नाका सञ्चालनमा आउन सकेको थिएन।

पहिरो पन्छाएपछि अक्टुबर १५ अर्थात् असोज २८ गतेबाट नाका पूर्ववत् अवस्थामा सञ्चालनमा आएको हो। वैशाख १२ को भूकम्प, शक्तिशाली परकम्पसँगै पहिरो खस्दा अबरुद्ध भएको नाका बिहीबारबाट सञ्चालनमा आएको हो।

'एक महिनाको लामो प्रयासपछि अबरुद्ध सडक खुलाएर नाका सञ्चालन गर्न सफल भएका छौं,' रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरुले नागरिकन्युजसँग भने, 'नाका खुलेपछि अब त्यस्तो कुनै अवरोध हुनेछैन।' नाका खुलेसँगै बिहीबार नै चीनबाट खाद्यान्नसहितको ट्रक भूकम्प पिडीतका लागि राहत सामग्री लिएर नेपाल प्रवेश गरेका छन्। 'अब दुई चार दिनमै व्यवसायिक गतिविधि पनि बढ्ने अपेक्षा छ,' उनले भने।

विहीबार ९ः३० बजे चीन सरकारका तर्फबाट डिपुटी डाइरेक्टर जनरल माक्विन सेङले नाका सुचारु भएको जनाएका थिए। नाका सञ्चालनका लागि नेपाल सरकारका तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला र परराष्ट्र मन्त्रालयका उपसचिव मणि भट्टराईको टोलीले एक दिनअघि नाकाको विषयमा बुझेका थिए । नाका सञ्चाालन पूर्व बुधबार चिनियाँ पक्षसँग अनौपचारिक रुपमा द्विपक्षीय बैठक बसेपछि नाका खुलेको घोषणा गरिएको हो । चीन सरकारले औपचारिक रुपमा एक साताअघि नाका खुल्ने निश्चित गरिएपछि नाका खुल्ने तयारी गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

अन्तर्राष्ट्रिय भन्सार नाकाको रुपमा सन् २०१२ मा केरुङ भन्सारको मान्यता दिएकाले आफूहरुको प्राथमिकता रसुवागढी नाका रहेको चीनका डिपुटी डाईरेक्टर जनरल माक्विन सेङले बताए । 'नेपाल र चीन बिचको पारष्परिक सम्बन्ध गास्ने दुई नाका मध्ये रसुवागढी पनि एक हो,' जनरल माक्विन साङल भने, 'चीनले यो नाका सुचारु गर्नेका लागि कहिल्यै पनि कन्जुसाई गर्ने छैन ।' त्यस्तै नाका सञ्चालनपछि नेपाल सरकारका तर्फबाट बाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले लामो समयपछि नाका खुलेकोले अब यो नाकाबाट सहज रुपमा आयात निर्यात हुने विश्वास व्यक्त गरे ।

चीनले रसुवा र राजधानी मात्रै होइन दक्षिण एशियाली महादेशलाई जोड्ने गरी रसुवागढी नाकालाई प्राथमिकता दिएको चिनियाँ पक्षको भनाइ छ । तत्काल नाका सञ्चालनका लागि भूकम्पले भन्सार कार्यालय पुरिएपछि रसुवागढी नाकाबाट तीन किलोमिटर वर भन्सार कार्यालय स्थापना गरिएको छ । भन्सारलाई व्यवस्थित बनाउनका लागि नेपालतर्फ नेपाल प्रहरी, नेपाली सेना नारायण दल गणको पोष्ट स्थापना गरिएको छ । भन्सारमा एक प्रमुख, तीन भन्सार अधिकृत र १६ जाँचकी सहितको कर्मचारी टिमुरे अस्थायी भन्सार कार्यालय स्थापना गरिएको छ ।

नाका सञ्चालन आउनुपुर्व नै रसुवागढी भन्सार कार्यालयले नेपालतर्फ १ सय २५ वडा कन्टेर अट्न मिल्ने यार्डसमेत तयार पारिसकिएको भन्सार प्रमुख पनेरुले बताए। 'पहिला १० देखि १२ वटा गाडीको क्षमताको होइन अब डेढ सय गाडी भित्राउन सक्ने क्षमताको यार्ड बनाईएको छ, प्रमुख पनेरुले भने 'नाका सञ्चालन सँगै सडक बिस्तारमा समेत मैले सडक बिभागमा जानकारी गराएको छु । चीनले यो नाकालाई दक्षिण एशियाली मुलुक जोड्ने अन्र्तराष्ट्रिय भन्सार नाकाको रुपमा विकास गर्ने लागेको हुदाँ पनि हामीले नाकालाई व्यवस्थित बनाउन ध्यान दिएका हौं,' उनले भने, 'चीन र भारतको ट्रान्जिट प्वाईन्टको रुपमा बिस्तार हुन लागेको यो नाकाले भविष्यमा ठूलो अर्थतन्त्रमा समेत सहयोग गर्ने छ।'

सिगात्से आईपुगेको रेलमार्ग सन् २०२० सम्म चीनको केरुङसम्म जोड्ने लक्ष्य सार्वजनिक गरेसँगै यो नाकालाई बिस्तार गरी चीनले दक्षिण एशियाली राष्ट्रमा व्यापार गर्ने मार्गको रुपमा बिकास गर्न खोजेको देखिन्छ ।