'पहिलेका पुस्तकहरुमा तराइको मनछुने कथाहरु ल्याएर सबैको मनमा बस्न सफल नयनराज पाण्डेले यसपाली बेग्लै थलो, परिवेश र पात्रहरुमार्फत पनि उस्तै मीठो सिर्जना गरेका छन्,' विमोचन कार्यक्रममा बोल्दै कवि श्यामलले भने।
यसअघि आफू हुर्केको पश्चिम तराईको कथा, उपन्यासका परिवेश बनाउँदै आएका लेखक पाण्डे 'सल्लीपिर' मा हिमाली भू–भागतर्फ उक्लेका छन्। 'वृत्तचित्र र सिनेमामा काम गर्दा कुनै बेला म खुम्बुमा ६ महिना बसेको थिएँ। शेर्पाहरुको जन्मदेखि मृत्युसम्मको संस्कार नजिकबाट देख्न पाएको थिएँ। त्यसको एउटा गहिरो छाप मेरो स्मृतिमा परेको थियो। त्यही छापले मलाई सल्लीपिर लेख्न प्रेरित गरिरह्यो। लामो प्रतिक्षापछि शेर्पा संस्कृतिमाथि लेख्न पाएकोमा निकै खुुशी लागेको छ,' लेखक पाण्डेले भने।
'सल्लीपिर' हिमालमा गौरवशाली संस्कृति बोकेर बसिरहेको शेर्पा समाजभित्रको कथा हो। प्रतिकात्मक रुपमा यसमा एउटा शेर्पा परिवारको संघर्ष देखाइएको छ।
लेखक पाण्डेले यसअघि 'लू' र 'उलार' लगायत कृतिहरु सार्वजनिक गरिसकेका छन्। यो उनको सातौं उपन्यास हो। यसअघि उनका तीन कथासंग्रह समेत प्रकाशित भइसकेका छन्। पुस्तकलाई फाइनप्रिन्टले बजारमा ल्याएको छ। चितवन र पोखरामा समेत विमोचन हुने पुस्तकको मूल्य तीन सय ४८ रुपैँया रहेको छ।
प्रकाशित: १८ वैशाख २०७३ ०३:१० शनिबार