अन्य

कुञ्जिनी र गोरेको पुनरागमन

मूलतः देश यात्राको मनोवर्णन हो- कुञ्जिनीको गामबेँसी। पछिल्ला वर्षमा गरिएका पूर्वको पाँचथरदेखि पश्चिमको बाग्लुङ अनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मावली गाउँ नुवाकोट यात्राका अनुभूति यसमा छन्।'मान्छे प्रकृतिको उपासक हो र मान्छे नै प्रकृतिको विनाशक पनि हो' भन्ने लेखकको नियात्रा लेखनीमा प्राकृतिक मनोरम र मानवीय संवेदनाको पक्षको समन्वयात्मक भाव प्रवाह हुने गरेको पाइन्छ। यस कृतिले गामबेँसीतिरका जनजीवनलाई पहिल्याई उनीहरूका मनोदशा र मनोकांक्षालाई साहित्यिक रूपमा अभिव्यक्त गराएको छ। २२ नियात्रा समेटिएको पुस्तकले महाकवि देवकोटाको लोकप्रिय खण्डकाव्य 'कुञ्जिनी'का पात्र कुञ्जिनी र गोरेको प्रेमको सन्दर्भलाई छ दसकपछि फरक शैलीमा नवीकरणको भल्को दिएको छ।

देवकोटाको मावली गाउँ नुवाकोटाको झिल्टुङमा लेखक नेपाल २०६९ फागुन २६ मा पुग्दा कुञ्जिनीका एक पात्रबारे स्थानीयवासीबाट चर्चा सुनेका थिए। त्यस क्रममा वर्ष दिनअघि गोरेको निधन भएको जानकारी दिइएको थियो, त्यही सन्दर्भले पुस्तकलाई साहित्यिक ऐतिहासिकता प्रदान गरेको छ। देवकोटाले चिनाएका गोरेलाई लेखकले पाठकमाझ स्मरण गराएका छन्। यो प्रयासले झिल्टुङको पर्यटकीय महŒव प्रदर्शित गर्न पनि टेवा दिएको छ।

कुञ्जिनीको गामबेँसी पे्रमिल, निजात्मक खोज र चेतनाको मार्ग हो। यात्रा वर्णनका क्रममा त्यस्ता चेतनाका मार्गलाई लेखकले कोरेका छन्। पाँचथरको यात्रामा अहिलेको समयमा पनि जातीय विभेद र छुवाछुतको चरम दरिद्रपनलाई लेखकले जीवन्त रूपमा प्रस्तुत गरेका छन्। 'तीन दसकपछिको पाँचथर' शीर्षकको यस वाक्यले त्यही कुराको प्रमाण दिएको छ— 'मैले आफू विश्वकर्मा भएको र फिदिमतिर हिँडेको परिचय दिएपछि तिनले दस पटक थु थु थु थु गरेर आफूभन्दा देब्रेतिरको छेउ मेरा लागि खाली गरिदिएका थिए।'

देखेको र लागेको कुरा सोझै भन्ने शैलीका लेखकले नेपाल र भारतबीचको सम्बन्धका असमानताबारे पनि बोलेका छन्। संविधान जारी भएपछि भारतले गरेको व्यवहारपछि यसमा आम नेपाली जनतामा महसुुस भइरहेका विषय लेखकले त्यसअघि नै उजगार गरेका रहेछन्। 'सिमानाको आकाश रुँदा' शीर्षकमा भनिएको छ— 'यथार्थमा भारतीय शासकहरू नेपालसँग बराबरको मैत्री सम्बन्ध राख्न चाहँदैनन्। ठूलो–सानाको भेद, शक्ति र निरीहताको भेद, तिनीहरूको यथार्थ परिचय हो।' यी हरफ पढिरहँदा भारतीय सीमामा देखिएको अघोषित नाकाबन्दी र पेट्रोलियम पदार्थको अभावका पीडामाथि भावनात्मक मल्हम पाइएको अनुभूत हुन्छ। यद्यपि, हाम्रो राष्ट्रियता भारतविरोधी वा भारतीय जनता नेपालविरोधी भनाउनु होइन।

पुस्तकमा दोस्रो संविधानसभामा समानुपातिकको सूचीमा रहेर तथा नेकपा (एमाले) का शीर्ष नेताले वचन दिएर पनि सभासद् बन्न नसकेकोमा लेखकका केही आत्मानुभूति एवम् दुखेसो पोखेका छन्। तर त्यसलाई साहित्यिक सक्रियताको अवसरका रूपमा स्विकारेर आफूलाई संयमित बनाएको देखिन्छ। पद र सुविधा नपाउँदा पार्टी र नेतृत्वको बदख्वाइँ गर्नेहरूका अगाडि उनको यो शैली उदारहणीय मान्न सकिन्छ।

पुस्तकभित्रका सबै नियात्राका आफ्नै महŒव छन् तर कतिपयमा यात्राको वर्णन मात्र हुनुले सबैमा उत्तिकै साहित्यिक रसस्वादन पाइँदैन। केही सामान्य प्राविधिक त्रुटिले पनि पाठकलाई अलमल्याउँछ। लेखकको नाममा द्विविधा छ। बाहिरी कभरमा प्रदिप लेखिएको छ भने भित्रपट्टि प्रदीप उल्लेख छ।

कृति : यात्रा निबन्ध

लेखक : प्रदिप नेपाल

प्रकाशक : अक्सफोर्ड इन्टरनेशनल पब्लिकेसन

पृष्ठ : मूल्य : २२५/–

प्रकाशित: २५ मंसिर २०७२ २२:४२ शुक्रबार