अन्य

झरी र प्रेम

साउनको झरीलाई लिएर धेरै गीतहरू लेखिएका छन्, गाइएका छन्। साहित्यमा पनि मनसुने–साउन त्यत्तिकै पढ्न पाइन्छ। दीपक जंगमले लेखेको र नारायणगोपालले गाएको यो कालजयी गीतले पनि साउनलाई सधैं सम्झाइरहन्छ-साउनको झरी बनी तिमी आऊ न

मेरो मनको अँधेरीमा जुन छाऊ न

यो यस्तो गीत हो, जसले धेरै प्रेमी–प्रेमिकालाई रुझाउँछ; झरीले होइन यादले। त्यसैले साउन अर्थात् मनसुनको मौसम प्रेमिल मनहरूका लागि केही पक्कै हो। चारैतिर हरियाली, सेता–काला बादलसँग लुकामारी गर्ने अकाश अनि झमझम पानीको संगीतलाई अनुभूत गरेर अक्षरमा उतार्न कवि हृदय हुनैपर्छ।

दुई दिनअगाडि चर्को घामपछिको दर्केझरीमा रुझ्न पाउँदा रमाएको यो चरी (ढुकुर) देख्दा मलाई पनि कवि बन्न मन नलागेको होइन। दायाँ र बायाँ पखेटा फिजाउँदै, घरि चुच्चोले प्वाँखभित्रका फोहोर निकाल्दै त घरि फुरुर्र शरीरको पानी टकटक्याउँदै गर्दाको दृश्यले म एकोहोरिएको थिएँ। आकाशबाट परेको पानी चुच्चोमा थाप्दै गरेको दृश्य देख्दा मेरो मन पनि झरीमा रुझ्न कम लालायित भएको थिएन। जे होस्, झरीमा कविहरूका सिर्जनाले मात्र होइन चराचुरुंगी र जीवजन्तुको व्यवहारले पनि सम्मोहित पार्दो रहेछ।

प्रकाशित: ८ श्रावण २०७२ २१:२१ शुक्रबार