विनाशकारी भूकम्प गएको एक महिना दुई दिनपछि खोकना गाउँको पुछारमा रहेको चौतारोमा बसिबियाँलो गरिरहेका स्थानीयहरूको तस्बिर हो यो। भूकम्पका सुरुवाती दिनझैं अब मानिसहरूमा डर कम हुँदै गएको छ। तर, सचेतता भने अपनाइरहेकै छन्। सानातिना पराकम्पनसँग त धेरैजसो अभ्यस्त भइसकेका छन्। प्रकृतिको नियमलाई कसैले रोक्न सक्दैन, त्यसैले भन्ने गरेका होलान्— हुने हुनामी टर्दैन। आकस्मिक आइलागेका प्राकृतिक विपत्तिसँग डराएर/भागेर साध्ये पनि हुँदैन। किनकि जीवनलाई गति त दिनैपर्छ। अब भूकम्पसँग डराउने होइन कि सचेत हुँदै जीवनयापनका लागि नयाँ सोचबाट अघि बढ्नु नै अहिलेको अवस्थामा बेस हुनेछ।दुःख–सुख, घाम–छायाँ नभए जीवनको रोमाञ्चकता कहाँ! तस्बिरमा देखिएकै छ नि, ज्याकरन्डा नीलो फूल फुलाएर हाँसिरहेको छ। पारि बादलले बेरिएको आकाश भने धुम्म छ। जीवन पनि यस्तै हो— कहिले हाँसो त कहिले दुःख। यिनै उतारचढावलाई स्विकार्दै भूकम्पका कहरिला दिनबाट बचेको जीवनलाई अझ सकारात्मक बनाउने र उन्नति गर्नेतिर लागे भूकम्पको धङधङी पनि आफैं हटिहाल्छ।
प्रकाशित: १५ जेष्ठ २०७२ २१:१६ शुक्रबार