अन्य

आँसु र आक्रोश

महाभूकम्पको त्रासदीको हदलाई हामी सबैले भोग्यौं। त्रासदी सँगसँगै आफन्त र सम्पत्ति गुमाएको पीडा भोग्नेहरू लाखौं छन्। प्राकृतिक विपत्तिसँग कसैको केही लाग्दैन। तर त्यसबाट आइलागेका विपत्ति कम गर्ने दायित्व भनेको सरकारको नै हो।भूकम्प गएको चार दिनपछि हामी सिन्धुपाल्चोक जिल्लाको साँगा चोक गाउँ पुग्दा केही खाने कुरा पाउने आशाले यी ७२ वर्षीया देवुकुमारी गिरी हाम्राअगाडि आइपुगेकी थिइन्। घर भत्केर आफन्त गुमाएपछि मर्माहत भएकी यिनीसँग खानलाई केही थिएन। बाटोमा नयाँ मान्छे देखेपछि केही पाउने आशा उनको आँखामा देखिन्थ्यो। तर, हामी दिन होइन रिपोर्टिङका लागि पुगेको थाहा पाएपछि एकाएक उनका आँखाबाट आँसु झरे।
यिनीजस्ता लाखौं छन्, जसलाई यतिबेला सरकारको सबैभन्दा बढी आवश्यकता परेको छ। तर सरकार कता अलमलिएको छ, भन्न सकिँदैन। सरकारी निकायका कर्मचारी पनि विपतमा परेका होलान् तर भूकम्पको यो त्रासदीले सबै कर्मचारीलाई त पक्कै पनि गाँजेको छैन। सरकारी कर्मचारीलाई भूकम्पका कुरा दिन कटाउने बाटो भएको छ। बोल्नलाई तँछाडमछाड गर्दै दिनभरि कार्यालयमा सयौं वर्षअगाडि देखिका भूकम्पका कुरा गरेर बस्न कुनै लाज लाग्दैन। छेउछाउका पीडितलाई अलिकति भए पनि सहयोग गर्न गए पाप त लाग्ने थिएन होला नि!
राजनीतिक दलका नेता अनि कार्यकर्ता पनि यो विपत र त्रासदीका बेला कुन दुलोमा पसेर बसेका छन्? भोलिका दिनमा भोट माग्न कुन मुख लिएर जालान् जनतासामु? अरू केही नै नभए पनि सान्त्वनाका दुई शब्द लिएर गाउँ पुग्न त सक्थे होलान् नि!
आफूले त गरेनन् गरेनन्। अरूले दिएको सहायता कताबाट चट्काउन पाइन्छ भनेर सोच्ने, त्यही धुनमा बस्ने अनि मौका मिल्नासाथ नंग्रा गाडिहाल्ने अधर्मीहरूको पनि यहाँ कमी छैन। कम्तीमा यस्तो त्रासदी र विपत्तिका बेला त लोभ नगरिदिए तिनीहरूको के नै जान्थ्यो र?
त्रासदी र विपत्तिले घेरिएका गाउँलेहरूका गालामा आँसुको भेल बगेर सुकेको दाग र रुँदारुँदा सुन्निएका आँखाभित्र राज्यप्रतिको आक्रोश र घृणा सजिलै देखिन्छ। यति ठूलो महामारी बेला समयमै राहत र सहायता पाउन नसकेका यी हजुरआमाजस्ता लाखौं गाउँले आँसु बगाउँदै केही पाउने आशामा भोकभोकै दिन बिताउन बाध्य छन्। गर्नुपर्नेले नगर्ने र पीडितका नाममा आएको सहयोगमा समेत नंग्रा गाड्नेहरू गरिब र निमुखा जनताको आँसु र श्रापको भए पनि डर मान है। नभए कुनै दिन यसले पिरोल्नेछ।

प्रकाशित: १८ वैशाख २०७२ २१:४८ शुक्रबार