अन्य

प्रेम समष्टिमा खोज्ने कि !

अनुहार देखेर, मेरो हृदय कहिल्यै रोकिएन,

तर, तिम्रो हाँसोले मेरो हृदय धेरैपटक टक्क अडिएको छ !

रोज डे, प्रपोज डेदेखि सुरु हुने भ्यालेन्टाइन सप्ताह, चकलेट डे, हग डे हुँदै ‘भ्यालेन्टाइन्स डे’ मा गएर टुंगिने रहेछ। पश्चिमाले मनाउन सुरु गरेको भए पनि नेपालीमा समेत यसको प्रभाव पार्न थालेको सामाजिक सञ्जालमा सार्वजनिक हुने फोटोबाट प्रष्ट हुन्छ। युवाहरूको त कुरा छाडौं, अनुहारमा चाउरीको रेखा देखिन थालेका बाआमाले एक अर्कामा गुलाफको फूल साटेको देख्दा कसलाई खुसी लाग्दैन र ! यसले प्रष्ट पार्छ प्रेम दिवस आयातित पर्व भए पनि प्रेम सबैको स्वभाव हो।

गज्जबको संयोग के भने नेपालमा स्वस्थानी महिना सुरु भएर अन्त्य हुने समयमै प्रेम दिवस पर्छ। प्रेम दिवस थाहा हुने हाम्रा युवाहरूलाई स्वस्थानीको महत्व र स्वस्थानी कथाबारे भने जानकारी छैन। सन्त भ्यालेन्टाइन (पुजारी) एउटी प्रेमिकाको प्रेममा परेको प्रसंग जोडिएर आउने भ्यालेन्टाइन डे (प्रेम दिवस) पूर्ण प्रेममा आधारित प्रचलन हो, भने, शिव र सतीदेवीको कथामा आधारित श्री स्वस्थानी ब्रत कथा प्रचलन पनि पूर्ण प्रेममा आधारित कथा हो। प्रेमका लागि बीचमा आउने चुनौतीका प्रसंग दुवै कथामा आउँछन्। तर, जसरी प्रेम दिवस एउटा स्थापित पर्वको रूपमा विकसित हुँदै आएको छ, त्यसरी नै स्वस्थानीको महिमालाई यसका गुण, दोष केलाउँदै, परिस्कृत बनाउँदै शक्तिपीठहरूको माध्यमबाट पर्यटकीय स्थललाई निरन्तरता दिन सकिएला ?

एक युगल जोडीको प्रेम कथामा आधारित किंवदन्ति जोडिएर फेब्रुअरी १४ अर्थात् प्रेम दिवसको रूपमा रोम, अमेरिका, लन्डनलगायतका देशहरूबाट भए पनि १०/१५ वर्षदेखि नेपालमा मनाउने प्रचलन बर्सेनी बढ्दै गएको छ। विशेष गरी युवा जमातमा आफ्ना प्रेमी–प्रेमिकाबीच रातो गुलाफ, भ्यालेन्टाइन चकलेट, कार्ड र उपहार आदान–प्रदान गर्ने प्रचलन छ। यसले चकलेट, गुलाफ र कार्डको माध्यमबाट व्यापारमा समेत सघाउ पु¥याएको देख्न सकिन्छ।  

त्यसो त स्वस्थानी कथा पनि यस्तै प्रेम प्रसंगबाट सुरु भएको कथा वाचनमा उल्लेख छ। सदियौंदेखि प्रचलनमा आएको स्वस्थानी व्रत कथामा विभिन्न कथाका प्रसंग जोडिए पनि ७ वर्षकी गोमाले ८० वर्षका महादेव पाउन बसेको व्रत भित्र प्रेम मात्र नभएर सुरक्षा, सहारा र कल्याणकारी भावनाको तथ्य अवश्य लुकेको हुनुपर्छ। शिव अर्थात् महादेव भन्नासाथ कल्याणकारी भन्ने बुझिन्छ। त्यसमा पनि देवहरूका देव महादेव जसको अर्थ दाता, दिनेवाला भनेर बुझिन्छ।  

उनै कल्याणकारी, दाता, देवका पनि देव जस्ता गुणहरूले भरिएका पति सबै पत्नीहरूले पाउन चाहन्छन् भन्ने एउटा प्रतीकात्मक र संकेतात्मक सन्देश स्वस्थानी कथाले दिन खोजेको हुनुपर्छ। अन्यथा ७ वर्षकी बालिका र ८० वर्षका वृद्धको विवाह त्यो समयमा पनि कल्पना बाहिरकै हुनुपर्छ। स्वस्थानी व्रतको कथामा कतै शिव शर्मा ब्राह्मण र उनकी ब्राह्मणी सतीलाई कुनै सन्तान नहुँदा दुःखी भएको कुरा आउँछ। त, कतै उनीहरूको पुण्यले गर्दा एउटी गाईको गोबरमा उत्पन्न रूपवती कन्याको गोमा नाम राखेर शिव शर्माले पालेको र ठूली भएपछि संन्यासी भेषमा आएका भगवान् शिवलाई तुरुन्त भिक्षा नदिँदा उनले ‘८० वर्षको बुढो पति होस्’ भन्ने श्राप दिएको। अनि पछि त्यस्तै भएर वृद्धबाट गोमाको गर्भमा पुत्र रहेको प्रसंग जोडिएर आउँछन्।

महिला अधिकारको आवाज र बालविवाहविरुद्ध अभियानमा लागेको आजको समाजमा स्वस्थानीको कथाले सकारात्मक अर्थ दिँदैन। यो कुनै पण्डितद्वारा आफ्नो अनुकूलतामा बनाइएको कथा भनेर अर्थ लाग्ने गरेको छ।  

त्यस्तै, कतै दक्षप्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा विवाह भएको र दक्षप्रजापतिले आफ्ना पती शिवको निन्दा गरेको सहन नसकी सतीदेवीले प्राण त्याग गरेको प्रसंग आउँछ। भ्यालेन्टाइन डे बुझ्ने र स्वस्थानी नबुझ्ने हाम्रा युवा पुस्तालाई स्वस्थानीको वर्णन कसरी गर्ने त्यो एउटा चुनौतिको विषय पनि छ। आफ्ना छोरीलाई स्थान नदिएर मित छोरालाई प्राथमिकतामा राखिनुले छोरीप्रतिको भेद र छोराको उच्च भूमिका कति जायज छ, जस्ता प्रसंग सहित सकारात्मक र नकारात्मक पक्षलाई कसरी केलाउने अनुसन्धानको रूपमा पनि लिन सकिन्छ।  

प्रेमी–प्रेमिकाबिचको प्रेम होस् या पति–पत्नीबिचको प्रेम, बा–आमा र छोराछोरीबीचको प्रेम या अरू कुनै सम्बन्ध बनाएको प्रेम होस्। सम्बन्ध छ र प्रेम छ, यो कारणबस गरिएको जस्तो प्रेम नै हामीले बुझेको हुनुपर्छ। त्यसैले त सम्बन्ध रहँदासम्म प्रेमको अनुभूति छ, रमाइलो र खुसी छ। सम्बन्धमा टकराव आउना साथ सबै खत्तम, छुट्यो प्रेम, अब प्रेममा मुद्दा पर्न थाल्छ। प्रेम अब न्यायका लागि अदालत धाउन थाल्छन्। यही यथार्थता हाम्रो समाजमा, राष्ट्रमा हामीले भोगेका, देखेका र जानेका यथार्थता हुन्। प्रेमको वास्तविक महत्व थाहा नभएको, प्रेमलाई जीवन जिउने सूत्र नबनाएको, प्रेमलाई देखासिकीको रूपमा अपनाइएको र प्रेमलाई प्रेम नै रहन नदिएर यसलाई आफ्नो स्वार्थसँग, सम्बन्धसँग जोडिएको छ भन्दा अनुपयुक्त नहोला।  

प्रेम कुनै उपन्यास र सिनेमा अनि कथा होइन जो कहीँबाट सुरु हुन्छ र कतै गएर टुंगिन्छ। यो त भित्रको अनुभूति हो जसले बिना कारण जीवनमा ऊर्जा प्रदान गर्दछ। प्रेम भित्र डुब्ने कला हो, अन्तर्मुखी हुने माध्यम हो। प्रेम स्वयंको अनुभूति दिलाउने माध्यम हो। प्रेमले नै सबै फोहोरहरू पखालेर शुद्ध आत्माको अनुभूति दिलाउन सक्छ। प्रेम नै सौन्दर्य र सम्पन्नता हो, अन्यथा प्रेम बिनाको सम्पन्नता कौडी बराबर नै हुन्छ। के काम त्यो धन, पद, सम्मान जहाँ प्रेमको सुगन्ध छैन। फेब्रुअरी १४ मात्र होइन ३६५ दिन नै कसरी प्रेममय बनाउने र जीवन नै कसरी प्रेममय बनाउने त्यो सोचको विकास हुनुपर्दछ।  

आफ्नी प्रेमीकासँग मात्र होइन, घरपरिवार, साथीभाई, आफन्तमा कसरी प्रेमको सम्बन्ध राख्ने त्यो महत्वपूर्ण पक्ष हो। जसरी प्रेम दिवसलाई सन्त भ्यालेन्टाइनको प्रेम प्रसंग बनाएर मनाइन्छ के भगवान शिवले आफ्नी प्रमिका पत्नीको मृत शरीरका प्रत्येक अंग समाप्त नभैकन बोकेर डुलेको कथा कम सान्दर्भिक र मार्मिक छ र ? शिव र सतीको प्रेम, दिव्य प्रेम, एक अर्काबीचको श्रद्धा अनि भक्ति पनि त्यो प्रेममा झल्किन्छ। प्रेम नै जीवन हो र जीवन नै प्रेम हो भने हाम्रा हरेक कर्म र सम्बन्धलाई नयाँ आयामबाट प्रेमरूपी उर्जाको रूपमा प्रस्तुत हुन दिऔं। प्रेम साधनमा होइन समष्टिमा खोजौं। प्रेम शरीरमा होइन हृदयमा खोजौं। प्रेमलाई वासना होइन उपासना बनाउन सिकौं।

प्रकाशित: २ फाल्गुन २०७७ ०२:०३ आइतबार

प्रेम समष्टिमा खोज्ने कि !