अन्य

चेपाङ बस्तीमा आगो, हत्यारालाई फूलमाला !

सुमित्रा बाङ्देल ‘चेली’का १० मुक्तक

सुमित्रा बाङ्देल ‘चेली’

जरुरत के बन्दुक भाला र छुरीको,

धनुषवाण, आँसी, कर्द, खुकुरीको।

वचनवाण नै काफी घाइते बनाउन,

उठाएर फाइदा मजबुरीको।

०००

हत्यारालाई फाँसी दिन आवाज उठाऔं अब,

ओठमा ताल्चा ठोक्नु हुन्न आओ फुटाऔं अब।  

रञ्जनहरू वाइज्जत बरी माइला लामा बन्दी,

अन्यायको विरुद्धमा हिम्मत जुटाऔं अब।  

०००

महान काम गरेजस्तो हत्याराको शान हेर,

बधशालाको मालिकजस्तो न्यायधिशको इमान हेर।

विवेकको तराजुलाई रुपैयाँले थिचेपछि,,

दराजमा थन्किएको नयाँ संविधान हेर।  

०००

गरीबका झुपडीमा आगो झोस्नेहरू,

हत्यारा र चोरडाँकालाई पाल्ने पोस्नेहरू।

खबरदार ! असत्यको हार हुन्छ एकदिन,

गरीबको उठिवास मुख मोस्नेहरू।

०००

चेपाङ बस्तीमा आगो, हत्यारालाई फूलमाला,

खुट्याउन हम्मे प¥यो न्यायालय कि बधशाला।

घट्दैछ जनविश्वास, बढ्दैछ जन आक्रोश,

सरकार! यस्तै चालाले समाजवाद कता जाला?

०००

अगाडि बढ भन्छ तर खुट्टा तान्छन्,

पदोन्नति गर्नुपरे साला–साली छान्छन्।

भाषणमा समानता, व्यवहारमा विभेद,

ताक परे भकुण्डो बनाई लात्ताले हान्छन्।

०००

तिमी जस्तै, म उस्तै कोरोनाको कहरमा छु,

चराहरू गुँड फर्के, म सुनसान सहरमा छु।  

सहर पस्ने, यहीँ बस्ने एउटा ठूलो सपना थियो,

अहिले गाउँ फर्किएर गुँड बनाउने रहरमा छु।  

०००

हुनेभए सास फेर्ने हावा पनि रोकिदिन्थे,

सक्नेभए खोलानाला सुकाउँथे, पोखिदिन्थे।

मुस्कानभित्र तीखा दाँत लुकाएर हाँस्नेहरू,

मौका परे कसाही झैँ छिनालेर जोखिदिन्थे।

०००

चाहिन्छ उसलाई उच्च आसन,

चलाउँछ सधैँ जहानीयाँ शासन।  

अगस्ती झैँ भोक अघाउन्न पेट,

गरीबको उत्थान मीठो भाषण।

०००

बोक्न नसक्ने भारी बोक्छौ,

कमाइजति रक्सी धोक्छौ।  

बेलैमा बुद्धि पु-याउँदैनौ अनि,

आफैंलाई सरापी पुर्पुरो ठोक्छौ ।

०००  

प्रकाशित: २८ श्रावण २०७७ ०७:१७ बुधबार

अक्षर मुक्तक