चन्द्रमा पौडेल
गैरी खेतको रोपाइँमा म पनि जान्छु
सानातिना अह्राएका काम सबै गर्छु
भोक लाग्दा खाजा पनि दोपहरे खान्छु
लौन आमा म पनि रोपाइँमा जान्छु।
बहिनीले धान रोप्छिन् म बाउसे गर्छु
ब्याडेमा बीउ काढी गरातिर फाल्छु
खेत हिल्ल्याई पटाहाले सम्म्याएको हेर्छु
लौन आमा म पनि रोपाइँमा जान्छु।
खेतालालाई खाजा चिया दिन सघाउँछु
कुलाबाट पानी ल्याई समाहा चलाउँछु
खेतका सबै गराहरूमा पानी मिलाउँछु
लौ न आमा म पनि रोपाइँमा जान्छु।
हलीसँग हिल्याउँछु रोपाहारसँगै रोप्छु
बाहुसे गरी सम्याएर पटाहामा चढ्छु
मुसलधारे पानी परे ओढा घुम ओढ्छु
लौ न आमा म पनि रोपाइँमा जान्छु।
झमझम झरीसँगै मैझारो मनाउँछु
ठूलाठूला बाला झुलोस् भनी आशिष् दिन्छु
हिलो खेल्दै रोपाइँ सकी सबलाई बिदा भन्छु
लौ न आमा म पनि रोपाइँमा जान्छु ।
प्रकाशित: ५ श्रावण २०७७ ०९:०३ सोमबार