अन्य

बाँदरको सल्लाह

बालकथा

 श्रीबाबु कार्की उदास 

शिशिर ऋतुको समय थियो । लामो समयको खडेरीले वनजङ्गलमा कुनै जङ्गली फलफूल र कुनै कन्दमूल बाँकी थिएन । हरियाली कहीँ कतै बाँकी नरहेकोले जङ्गल रुखासुखा र उराठलाग्दो भएको थियो । त्यही उराठलाग्दो जङ्गलको आश्रयमा लामो समयदेखि एक हुल बाँदर बसेका थिए ।

त्यस जङ्गलको बीचमा एउटा पानीको मुहान थियो । त्यही पानीको स्रोतबाट नजिकै एउटा पानीको पोखरी बनेको थियो । चर्को घाममा बाँदरहरू त्यही पोखरीमा पौडी खेलेर रमाउँथे । नजिकैको जङ्गलमा जङ्गली फलफूल, कलिला मुना र गिठ्ठा, भ्याकुर, तरूलजस्ता कन्दमूल खोजेर बाँदरहरूको भोक टर्ने गरेको थियो । तर यो पटक लामो समय खडेरी परयो । खडेरीकै कारणले जङ्गल उराठलाग्दो भयो । बाँदरहरूले जङ्गलमा खानेकुरा केही पाउन छाडे र धेरै दिनदेखि बाँदरको हुल खान नपाएर आकुलव्याकुल थिए ।

खान नपाएका बाँदरहरूलाई  बिहान चाँडै निद्राले छाड्न थाल्यो । बिहान झिसमिसेमै नजिकै रहेको गाउँघरका  बारीमा पुग्थे, बारीमा पनि बाँदरले खानेकुरा केही भेट्टाउँदैनथे । हिउँदको याम भएकोले बारी पनि खाली–खाली हुन्थ्यो ।

बाँदरहरू बारीका डिलबाट मानिसहरूले घर अगाडि बनाएको मकैका थाङ्ग्रा हेरेर घुटुघुटु थुक निल्थे । ती मकैका थाङ्ग्राबाट मकैका झुत्ता चोर्ने अनेक दाउ गर्थे तर मानिसहरू बाँदरको हुल गाउँमा पसेपछि सबै जम्मा भएर बाँदरलाई धपाउन हा..हा..हो…हो… गर्दै ढुङ्गामुढा गर्न थाल्थे । विचरा ! बाँदरहरूको केही लाग्दैनथ्यो ।

आक्कलझुकल मात्र बाँदरहरूले मानिसका घरबाट मकैका घोगा उम्काउन सफल हुन्थे । त्यो थोरै घोगाले भोका बाँदरहरूको अचाक्ली भोक साम्य हुँदैनथ्यो ।  धेरै समयसम्म बाँदरहरू बारीका  नाभो  आलु, सुकेका मकैको ढोंड,  बारीमा झरेका कोदोका बाला र खेतमा झरेका धानका गेडा टिपेर खान्थे ।

त्यसले पनि बाँदरका भोक मर्दैनथ्यो । सिला खोजेको खानेकुराले कति दिन भोक टरथ्यो  र ? साँझ जङ्गल फर्कनु र कंकलास वात गर्दै झगडा गरेर बाँदरहरूको रात बित्ने गर्दथ्यो । बाँदरहरू आफू केही जोहो नगर्ने । अर्काले गरेको पनि देखिसहँदैनथे ।

उपद्रो गर्नु, विगार गर्नु र ध्वंस गर्ने बानीले बाँदरलाई मानिसहरू पटक्कै मन पराउँदैनथे । “बाँदरले आफ्नो पनि घर बनाउँदैन र अर्काको घर पनि बाँकी राख्दैन” भन्ने उखान मानिसहरूमा प्रसिद्ध छ ।

एकदिनको कुरा हो, जङ्गलमा खानेकुरा केही नभएपछि बाँदरमध्येकी एउटी बूढी बाँदरर्नीले कसरी आफ्ना सन्तान र आफ्नो भोक मेटाउने भनेर स्थायी उपाय निकाल्ने कुरा सोच्न थाली । बूढी बाँदर्नीले धेरै उपाय लगाउँदा पनि बाँदरहरूको भोक मेटाउन कुनै सूत्र फेला परेन । उसलाई थाहा थियो, उपद्रोको अचाक्ली सहँदा सहँदा मानिसहरू पनि बाँदरहरूसँग चौपट्ट रिसाएका थिए ।

अन्ततः बूढी बाँदर्नीले आफ्ना सम्पूर्ण सन्तानलाई भोको नराख्ने उपाय निकाली । उक्त उपायले बूढी बाँदर्नीलाई आफूहरू भोकै बस्नु पर्दैन भन्ने लागेको थियो । बूढी बाँदर्नीले आफ्ना सबै सन्तानहरूलाई जङ्गलमा आफ्नो कुरो सुनाउने निधो गरी । भोकले  आकुलव्याकुल बाँदरहरू पनि बाँदर्नीको छेउमा बसेर भोक टार्ने उपाय आउँछ कि भनी जिज्ञासु बन्न थाले ।

बूढी बाँदर्नीले आफ्नो उपाय बाँदरहरूलाई बताउन थाली– “सुन्, मेरा सम्पूर्ण आफन्तहरू ! हामी धेरै दिनदेखि भोका छौं । हाम्रा कति सन्तानहरू त अचाक्ली भोककै कारण मृत्युवरण गर्न पुगे, कति कुपोषणले ग्रस्त छन् । यसको लागि हामीले केही उपाय लगाउनु पर्यो ।”

बूढी बाँदर्नीले यति के बोलेकी थिई एउटा चङ्खे बाँदरले प्वाक्क बीचमै बोल्यो– “हैन खै त खानेकुरा ?”

चङ्खेलाई रोक्दै बूढीले भनि– “हतार नगर, अब यो जङ्गलमा पनि खानेकुरा केही छैन । हामीले बाँच्ने उपाय त लगाउनै पर्छ कि कसो ?”

“हो…हो… सबै बाँदरले एउटै स्वरमा भने ।”

बाँदर्नीले थपी– “यो जङ्गल पनि पहिले हाम्रो पालाको जस्तो बाक्लो छैन । मानिसले हाम्रो  बासस्थान (जङ्गल) पनि धेरै मासिदिए । हाम्रो खानेकुराको स्रोत पनि घटेर गयो । हामीले साकाहारी खानेकुरा मात्र खान्छौं, त्यसको लागि जङ्गली फलफूल,  कन्दमूल र वनस्पतिका कमिला मुना र डुकु नै हो । त्यो आज बाँकी छैन । अब के गर्ने त ?” बूढीले प्रश्न राखी ।

जङ्गलका सबै बाँदर चुप लागे । “हेर, अब चुप लाग्नु हुँदैन । दिनभरि जङ्गलमा चलेर, खेलेर बस्नुभन्दा यो जङ्गलमा धेरैभन्दा धेरै जङ्गली फलफूल र कन्दमूलको  बिरुवा हामीले पनि रोप्नु परयो । लौ यो उपाय हामीले आजैबाट सुरू गर्न थालौँ । नत्र हामी र हाम्रो वंश विनाश हुने निश्चित छ ।”

बूढीले यत्ति के बोलेकी थिइ । बाँदरहरूले आफ्नो स्वभाव किन छाड्थे । एउटा बाँदरले बोलिहाल्यो– “हाम्रो काम मानिसहरूको जस्तो काम गरेर खाने होइन । हामीले त अर्काको आश्रयमा बाँच्ने हो । अर्काले लगाएको चोरी खाने र जङ्गलको भरमा बाँच्ने हो । हामीहरूको हजारौं पुस्ता यसरी नै   वितेको छ, होइन र ?”

– बूढी बाँदरर्नीले सम्झाउन थाली, “हेर नानी बाबुहरू हो ! अब पनि अर्काको भरमा  बाँचेर हुन्छ ? अर्काले लगाइदेला र खाउँला भन्ने जमाना गए । अब त जसले आफैँ कर्म गरेर खाँदैन ती जीव जनावरको जीवन अस्तित्वको सङ्कटमा पर्छ, हो कि होइन ?

– बूढीआमाले ठीक भन्नुभयो । अब हामीले पनि आफैँले श्रम गरेर खानुपर्छ । यो वर्ष जसोतसो खाउँला । अर्को वर्षका लागि त वनमा हामीले पनि जङ्गली फलफूलका बिरुवा  रोप्नु परयो । जङ्गलमा धेरै  फलफूलको बोटबिरुवा भयो भने हामी मानिसहरूले लगाएको अन्नबाली चोर्न गाउँघर पस्नु पर्दैन, होइन र ? भीडबाट एउटा बाँदरले भन्यो ।

बूढी बाँदरर्नीको जङ्गलमा वृक्षरोपण गर्ने कुरामा धेरै बाँदरहरू सहमत भए । प्रक्रिया अघि बढ्यो । आफ्ना भावी सन्ततिका       लागि भए पनि बाँदरहरूले जङ्गलमा लप्सी, बकैनो, क्यामुना, सरिफा, चिउरी, जामुनो,  ऐंसेलु, काफल, चुत्रो, बयर लगायतको फल लाग्ने बिरुवा लगाउने निधो गरे । ती फलफूलका बिरुवा वर्षा याममा लगाउन सबैले खोजी गर्ने निर्णय भयो ।

नभन्दै धेरै जातका जङ्गली फलफूलका बिरुवा सङ्कलन भयो । बूढी बाँदरर्नीले सबैले खोजेको बिरुवा खडेरीबाट बचाउन नजिकैको तलाउ छेउछाउमा गाड्ने र वर्षा लागेपछि सबै मिलेर वृक्षरोपण गर्ने जानकारी गराई ।

भोकले आकुलव्याकुल  बाँदरहरूलाई खानकै समस्या थियो । बाँदरहरूको शब्दकोषमा सञ्चित गरेर खाने भन्ने शब्दै थिएन । अगाडि जे भेट्टाइन्छ त्यो खाने हो । भविष्य सोच्ने फुर्सद कहाँ थियो र बाँदरलाई । कुरा हो एउटा बाँदर पानी खान तलाउको छेउमा पुगेको थियो । उसले छेउमा हुर्काएका  बिरुवामा आँखा लगायो । बिरुवामा चिसोले गर्दा विस्तारै मुना पलाउन थालेको थियो । उसले सोच्यो, “यो बिरुवा कहिले रोप्ने, कहिले फल्ने र खान पाउनु, बरू यो मुना भाँचेर आजै भोक मेटाउनु परयो ।”

उसले धमाधम  बिरुवा उखेल्दै मुना खान थाल्यो । उसले खाएको देखेर एकाएक धेरै बाँदर मुना खान रूखबाट ओर्लिए । बिरुवाको मुना खान सबै बाँदरमा हानाथाप परयो । निक्कै समय ङ्यारङ्यारङुरङुर गर्दै सबैले एकएकओटा बिरुवा बोक्दै कुद्न थाले ।

हेर्दाहेर्दै तलाउको खडेरीबाट जोगाउन राखेका बिरुवा सखाप भयो । बाँदरहरू हल्लीखल्ली गर्दै बिरुवाको डाँठसम्म टोक्न थाले । विचरी चञ्चली बूढी बाँदरर्नी आफ्नो सल्लाह एकक्षणमै चकनाचुर भएकोमा दुःखी भई । लोभी बाँदरहरुले भविष्यको लागि नसोचेकामा ऊ थप चिन्तित बनी ।

प्रकाशित: ३० असार २०७७ ०६:५८ मंगलबार

जूनकीरी