गङ्गा कर्माचार्य पौडेल
‘कोरोना भाइरसका कारण भोलिदेखि सरकारले अधिराज्यभरि एकसाथ लकडाउनको घोषणा गरेको छ । हामी त जसोतसो समय कटाउँला । केटाकटीलाई पो कसरी भुलाउने होला ? मेरो छोरा एकछिन घरभित्र बस्दैन । साथीकोमा जान्छु भन्दै फुत्तफुत्त निस्किरन्छ ।’ विनोदले आफ्नो मिल्नेसाथी रविसँग गुनासो गरे ।
‘ए तँलाई थाहा छैन ? अचेलका केटाकेटी मोवाइल भनेपछि भुतुक्कै हुन्छन् । मोवाइल हातमा भए बाहिर जानु त के भोक लागेको पनि थाहा पाउँदैनन्’रविले भने
‘त्यो त हो के तर मैले उनीहरूको पढाइ बिग्रिन्छ भनेर मोवाइल दिएको छैन । छोरा भर्खर ८ कक्षामा छोरी ६ कक्षामा पढ्दैछन् ।’
ह्या... तँ पनि सारै पुरानो विचारको मान्छे छस् यार । जमाना कहाँ पुगिसक्यो । प्रविधिले फड्को मारेर शिखर चुमिरहेको बेलामा बच्चाहरूलाई मोवाइलदेखि टाढा राख्नु भनेको उनीहरूलाई कमजोर बनाउनु हो बुझिस् । ’अहिले, तराई, पहाड र हिमाली भेगका केटाकेटीले समेत मोवाइल चलाउन जानिसके । काठमाडौंको मान्छे भएर तँलाई यस्ता कुरा गर्न सुहाउँदैन । फेरि अहिले स्कूल छुट्टी भएको बेला पढाइ भए न बिग्रनु । खुरुक्क मोवाइल किन्दे । ’ रविले भन्यो ।
‘अनि तेरो छोरा छोरी नि मोवाइल खेल्छन् ?’ विनोदले सोध्यो ।
‘मैले त बच्चाहरूलाई सानैदेखि खेलाउन दिएको हो । अहिले उनीहरू मोवाइल चलाउन मभन्दा सिपालु छन् । पढाइमा पनि राम्रो छ । मोवाइलले केटाकेटी बिगार्ने हैन रैछ । बरु जथाभाबी चलाएर दुरुपयोग गर्नेहरू आफै बिग्रिएका हुन् । हामीले चाहिँ छोराछोरीलाई बिहान उठ्ने,पढ्ने,खाने,खेल्ने ,राति सुत्ने समय तोकिदिएका छौं । उसकी आमाले र मैले पालैपाले निगरानी राख्ने गरेका र्छौं । त्यसैले सब ठीक ठाक चलिराछ ।’
रविको कुरा विनोदलाई मनासिब लाग्यो । त्यसपछि साँझ घर फर्कदा दुईथान किनेर लगे । विनोदको हातमा नयाँ मोवाइल देखेर पार्वतीले आफूलाई ल्याइदिएको भन्ठानेर खुसी हुँदै सोधिन्, ‘आहा... मलाई ल्याइदिनुभएको हो ?’
‘हैन केटाकेटीलाई’ विनोदको जवाफ सुनेर पार्वती उफ्रिन थालिन् । उनले तपाईले गर्दा छोराछोरी बढी पुलपुलिएका छन् । मैले भनेको पटक्कै टेर्दैनन् । झन् मोवाइल पाएपछि त उनीहरूको पढाइ नै चौपट हुनेभयो । हैन..तँपाईले यो के गर्न खोज्नुभएको भन्नुस्त?
पार्वतीको फतफतको बेवास्ता गर्दै विनोदले छोराछोरीलाई बोलाएर उनकै अगाडि मोवाइल दिंदै भने, ‘लकडाउनमा तिमीहरूलाई बोर नहोस् भनेर मोवाइल किनेर ल्याइदिएको छु, ल लिऊ...।’
‘बुबा, हामीलाई मोेवाइल चाहिँदैन’ छोराछोरीले एकसाथ भने ।
‘हँ पहिला त तिमीहरूलार्ई मेरो मोवाइल देख्नै हुन्नथ्यो । को पहिला भनेर टिप्न तँछाडमछाड गरथ्यौं । आज किन चाहिँदैन भनेको ?’आश्चर्य मान्दै विनोदले सोधे ।
उनीहरू दुवै जनाले गोजीबाट बुबाले ल्याएको भन्दा दामी मोवाइल झिकेर देखाउँदै भने , ‘यी.. हामीसंगै छ मोवाइल ।’
छोराछोरीको हातमा मोवाइल देखेर पार्वतीको कनसिरीका रौं ठाडा भए । उनले छोराको हात ट्याप्प समातेर झपार्दै भनिन्, ‘काँबाट ल्याइस मोवाइल ? मोवाइल किन्ने पैसा कस्ले दियो तँलाई ? कस्को पैैसा चोरर किनिस् लौ भन छिटो ?’
‘कसैको चोरया छैन बुझ्नुभो । यो मोवाइलकै कमाल हो । तपाईले घरमा छुन नदिएपछि म साथीको घरमा गएर मोवाइल चलाउन र गेम खेल्न सिकें अनि एकदिन एउटा विदेशी कम्पनीले गेमको प्रतियोगिता गरायो । साथी र म भएर भाग लियौ र जित्यौं पनि त्यही पैसाले मलाई र बहिनीलाई एकुन्टा किनेको हो ।’ छोराको जवाफ सुनेपछि विनोद र पार्वती हेराहेर गरे ।
प्रकाशित: २५ असार २०७७ ०८:४८ बिहीबार