खेमराज पोखरेल
नानीबाबुहरू,
आज म तिमीहरूलाई मेरी २ वर्षकी नातिनी नाइसा र डायनासोरको कथा सुनाउँछु । भर्खर २ वर्ष पुगेर तीन वर्ष लागेकी नाइसा अलिअलि अंग्रेजी अलिअलि नेपाली मजाले बोल्छिन् । नाइसालाई डायनासोर खूब मन पर्छ । डायनोसरका खेलौना मन पराउँछिन् । गीत पनि डायनासोरकै गाउँछिन् । भिडियो पनि डायनासोरकै हेर्छिन् । रिसाएर रोएको बेलामा डायनासोर खेलौना दियो भने चुप लाग्छिन् । नाइसालाई धेरै डायनासोरको नाम पनि थाहा छ । उनले मेरो मोबाइल ल्याएर मलाई नै दिएर भन्छिन् – प्लिज हब्बा, डायनासोर ।
मैले टिभीमा, आइप्याडमा वा मोबाइलमा डायनासोरको गीत लगाइदिनै पर्छ । भिडियो देखाइदिनै पर्छ । देखाइदिइनँ भने उनी एकदम रिसाउँछिन् ।
अँ त डायनासोर भनेको के हो तिमीहरूलाई थाहा छ ? छ भने ठीकै छ । थाहा छैन भने म भन्छु है त । डायनासोर पनि हामी मान्छेजस्तै यही पृथ्वीको प्राणी हो । वैज्ञानिकहरूले डायनासोर २४३ मिलियन वर्ष पहिलेदेखि पृथ्वीमा थियो भनेका छन् । तिमीहरूलाई यो मिलियन भनेको थाहा छैन होला । दस लाखको एक मिलियन हुन्छ । अब तिमीहरू आफैं हिसाब गरेर भन्न सक्छौ, कति वर्ष पहिलेदेखि डायनासोर पृथ्वीमा थियो भनेर । त्यो हिसाब गर्न जानेनौ भने आफ्ना आमाबुवा वा स्कुलमा शिक्षकलाई सोध है । उहाँहरूले हिसाब गरेर तिमीहरूलाई बताइदिनुहुन्छ ।
वैज्ञानिकहरू भन्दछन्, त्यो बेला पृथ्वीमा १ हजारभन्दा बढी प्रकारका डायनासोरहरू थिए । यिनीहरूको अलगअलग नाम थियो । डायनासोर एकदम ठूलो पनि थियो । ठूलो भनेको निकै ठूलो हो नि र सानो पनि थियो । सानो भनेको पनि निकै सानो थियो । ठूलो डायनासोर १३० फिटसम्म लामो हुन्थ्यो । ५९ फिटसम्म अग्लो हुन्थ्यो । यसको तौल एक लाख किलोसम्म हुन्थ्यो । अर्कोतिर सानो डायनासोर भने २० इन्च मात्रको पनि हुन्थ्यो । यसको तौल ११० ग्राम मात्र पनि हुन्थ्यो । त्यो बेला संसारभरि डायनासोरहरू छरिएका थिए । अहिलेको मान्छेजस्तै डायनासोर संसारभरि थिए । उनीहरूको आफ्नै संसार थियो
अहिले पृथ्वीमा डायनासोरको अस्तित्व छैन । ६६ मिलियन वर्ष पहिलेदेखि डायनासोर यो पृथ्वीबाट हराएका हुन् रे । लोप भएका हुन् रे । यो बेला छुद्रग्रह आएर पृथ्वीमा ठोकियो । यसबाट न्यूक्लियर बम हानेजस्तै पृथ्वीमा प्रभाव भयो । प्राकृतिक प्रकोप भयो । जसले गर्दा पृथ्वीबाट ७५ प्रतिशतजस्तो जीव र वनस्पति संसारबाट लोप भएर गए । यसपछि वातावरण एकदम चिसो भएर गयो ।
हावापानी र वातावरणमा आएको परिवर्तनले गर्दा सानो आकारका उड्ने खालका डायनासोर चराको रूपमा विकसित भए । भुइँमा हिँड्ने वा घिस्रने साना डायनासोर साँप, कछुवा, छेपारो, माउसुली जस्ता जीव बन्न पुगे । पानीमा बस्ने गरेका डायनासोर माछा समूह भए । रूखविरुवा ध्वस्त भएपछि फोटोसिन्थेसिस भएन । फलस्वरूप घाँस खाएर बाँच्ने ठूला डायनासोर सबै मरे ।
नानीबाबुहरू तिमीहरूलाई थाहा छ ? सानो आकारका डायनासोरबाट अहिलेका चराहरूको सृष्टि भएको भनिएको छ । भुइँमा हिँड्ने वा घिस्रने डायनासोरबाट विकसित भएर छेपारो, माउसुली, साँप, कछुवा, कुखुरा, हाँस आदिको जन्म भएको मानिएको छ । त्यसैगरी वैज्ञानिकहरूले पानीमा पाइने डायनासोरबाट माछा, भ्यागुता बनेका हुन् भनेका छन् । तिमीहरूलाई थाहा छ नि हामी मान्छे पनि बाँदरबाट विकसित भएर बनेका हौं । जसरी बाँदरबाट मान्छे बन्यो त्यसैगरी डायनासोरबाट चराहरू बने भन्ने कुरा बुझ्दा हुन्छ है । वैज्ञानिकहरू डायनासोरका बारेमा अझै खोज गरिरहेका छन् । थप कुरा वैज्ञानिकहरूले फेरि बताउने छन् ।
अचम्मको कुरा सुन न । डायनासोर जति ठूलो भए पनि अण्डा पारथ्यो रे । अण्डाबाट बच्चा निकाल्थ्यो रे । ठूलो डायनासोरको बच्चा कत्रो हुन्थ्यो होला ! अन्दाज गर त । आमामा, हाम्रो घरजत्रै हुन्थ्यो होला !
संसारभरि डायनासोरबारे हामीलाई जानकारी दिन धेरै पार्कहरू बनेका छन् । पार्कमा डायनासोरका मूर्तिहरू बनाएर राखिएको हुन्छ । मूर्ति एकदम ठूल्ठूलो हुन्छ । कुनै डायनासोरको सिङ हुन्छ । कुनै डायनासोरको त तीनवटा सिङ पनि हुन्छ । मुख ठूलो हुन्छ । मुखभित्र दाँतहरू हुन्छन् । डायनासोरको छाला खस्रो हुन्छ । डायनासोरको मूर्ति हेर्दा कस्तो रमाइलो हुन्छ । तिमीहरू पनि ठूलो भएपछि पार्कमा गएर डायनासोर हेर्नु है ।
तिमीहरूलाई डायनासोरबारे अझ धेरै जान्न मन लाग्न सक्छ । तिमीहरूले पनि आफ्ना बाबुआमालाई भनेर ‘जुरासिक पार्क’ भन्ने सिनेमा हेर्यौ भने डाइनासोरबारे धेरै थाहा पाउँछौँ । डायनासोरबारे धेरै भिडियो तथा डकुमेन्ट्रीहरू पनि बनेका छन् । आमाबुवालाई भनेर डायनासोरका बारेको सिनेमा, भिडियो र डकुमेन्ट्रीहरू कम्प्युटरमा हेर्न सक्छौ ।
मेरी नातिनी नाइसाले सधैं डायनासोरको भिडियो हेर्छिन् । भिडियो मात्र होइन, डायनासोरको फोटो पनि हेर्छिन् । उनीसँग डायनासोरका धेरे खेलौनाहरू छन् । डायनासोरका धेरे चित्र भएका पुस्तकहरू छन् । ती पुस्तकका डायनासोरका चित्रहरू र खेलौनाहरू ब्याट्रीका सहायताले कराउँछन् । डायनासोरको आवाज सुनेपछि मेरी नातिनी नाइसालाई रमाइलो लाग्छ । खुसी हुन्छिन् ।
यो कोरोनाका बेला तिमीहरू पनि डायनासोरबारेकोे सिनेमा, फोटो, भिडियो र डकुमेन्ट्रीहरू हेर है । कस्तो रमाइलो हुन्छ बाबै !तिमीहरूको अमेरिकाको हजुरबा
सान एन्टोनियो, अमेरिका ।
प्रकाशित: २३ असार २०७७ ०५:३२ मंगलबार