अन्य

चरीको माया

बालकथा

हरिप्रसाद भण्डारी

हरिप्रसाद भण्डारी

म बाहिरबाट घर आउँदा आर्या रोइरहेकी थिइन् ।  

उनको रुवाइ सुनेर मलाई चिन्ता लाग्यो । मनमनै कुरा खेलाएँँ, ‘कुनै चोटपटक पो लाग्यो कि !’ 

म मूलढोकाबाट भित्र पस्दै थिएँ, सानो कुकुर मेरो नजिक आयो । खुशी हुँदै उफ्रियो र खुट्टामा लुटपुटायो । ऊसँगै म आँगनमा गएँ ।

छिटोछिटो बाहिरी लुगा खोलेर घाममा सुकाएँ । साबुनपानीले मिचीमिची हात र खुट्टा धोएँ अनि आर्यालाई सोधें, ‘किन रोएकी नानु, कसले गाली गरयो तिमीलाई ?’

मलाई देखेपछि उनी खुशी भइन् तर केही बोलिनन् । हिँक्कहिँक्क गर्दै मसिना औंलाले एउटा अनौठो चिज देखाइन् । उनले देखाएको वस्तु पिँजरा थियो । पिँजराभित्र सानो सुगा छटपटाइरहेको थियो ।

त्यो देखेपछि मलाई अचम्म लाग्यो र सोधें, ‘कसले ल्याएको हो ?’

रुँदै आर्याले भनिन्, ‘बाबाले ।’

मैले केही भन्नै पाएको थिइनँ, उनैले भनिन्, ‘बुबा, यसलाई घरमा नराखौं है । विचरा आफ्ना बाआमालाई खोजेर रोइरहेको छ । केही खाएको पनि छैन ।’

आर्या झन् जोडले रुन थालिन् । उनको अवस्था देखेपछि मेरा आँखा पनि रसिला भए ।

हामी कुरा गर्दै थियौं, मीना आइन् । उनले भनिन्, ‘लकडाउनमा छोरीले रमाइलो मान्ली, त्यसैसँग खेल्ली भनेर बाबाले पिँजरा ल्याइदियो । खुशी हुनुको साटो यो त रोएर भुर्तालो गर्दै छ । कत्ति सम्झाएँ, मान्दिनँ बा ।’

हाँस्दै उनले भनिन्, ‘यसलाई नथुनौं, छोडिदिऊँ भन्दै छे ।’

रुन्चे स्वरमा आर्याले भनिन्, ‘लकडाउनमा हामीलाई कति गाह्रो भइरहेको छ । बाहिर जान पाएकी छैन । साथीहरूसँग खेल्न पाएकी छैन । यस चरीलाई पनि मलाई जस्तै त भएको होला नि ! यसका त बाबाआमा पनि छैनन् । एक्लो बिचरा !’

आर्या त झन् चर्को आवाज निकालेर रुन पो थालिन् ।

मैले उनलाई सम्झाउने प्रयास गर्दै थिएँ, मीनाले भनिन्, ‘कति पैसा तिरेर ल्याएको होला ! यसले यसो भन्दै छे । कस्तो आपत् !’

‘यसलाई उडाइदियो भने रुँदिनौ त ?’ मैले सोधें।

रुँदारुँदै आर्या मुस्कुराइन् । उनको अनुहारमा मैले इन्द्रेनी देखें ।

मेरो कुरा सुनेपछि उनको रुवाइ बन्द भयो । उनले भनिन्, ‘बुबा, यसलाई छोडिदियो भने यो आफ्ना आमाबा भएको ठाउँमा पुग्न सक्छ होला ?’

उनको कुरा सुनेपछि म झसङ्ग भएँ । मैले उनका प्रश्नको उत्तर दिन सकिनँ । मनमनै भनें, ‘यति सानो बच्चो कसरी पुग्न सक्ला ?’

आर्याले उही प्रश्न  दोहोरयाइन्  , ‘भन्नु न बुबा, यो चरी आफ्ना आमाबा भएको ठाउँमा पुग्न सक्छ ?’

मैले बिस्तारै भने, ‘सक्छ नानु, किन नसक्नु !’

सानी नातिनीको अगाडि झूटो बोल्नु परेकोमा मन अमिलो भयो ।  

मेरो कुरा सुनेपछि आर्या खुशी भइन् । दौडँदै पिँजराको नजिक गइन् र पिँजराको ढोका खोलिन् ।  

ढोका खुल्नासाथ सानो चरी बाहिर निस्क्यो । भुर्र उड्यो र घर अगाडि रहेको आँपको हाँगामा गएर बस्यो ।

त्यसपछि आर्या औधी खुशी भइन् । मैले देखें, उनको अनुहार बिहान उदाउन लागेको सूर्यजस्तै चम्किलो भइरहेको थियो ।

प्रकाशित: २१ असार २०७७ ०९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App