अन्य

बालकवितामा चित्रयोजना

रमेशचन्द्र घिमिरे

रमेशचन्द्र घिमिरे 

बालसाहित्य र बालकविता 

बालसाहित्य भनेको एकातिर बालबालिकाहरूको स्वहस्तबाट लेखिएको काँचो विचार हो भने अर्कोतिर प्रौढ साहित्यकारहरूद्वारा बालमनस्थिति छाम्ने गरी लेखिएको कलिलो खुराक पनि हो । बालसाहित्यका सर्जक एवं अध्येता कृष्णप्रसाद पराजुलीकाअनुसार बालकले सजिलैसँग बुझ्न, टिप्न सक्ने र उनीहरूलाई रौस्याउँदै चरित्र निर्माणमा सघाउ पुरयाउने सिर्जनात्मक साहित्य नै बालसाहित्य हो । यस दिशामा बालगीत, बालकविता, बालकथा, बालउपन्यास, बालनाटक र प्रेरणाप्रद जीवनी तथा रोचक सामग्री पर्न आउँछन् । प्रौढसाहित्यको जस्तै बालसाहित्यको पनि आफ्नो छुट्टै इतिहास छ । बालसाहित्य पनि विधागत बहुलताले भरिएको विशाल फाँट हो जसमा बालकथा, बालनिबन्ध, बालएकांकी, बालकविता जस्ता विभिन्न विधाहरू समेटिएका हुन्छन् । यस्ता रचनाहरू बालबालिकाको मस्तिष्कमा घुस्न सक्ने र जिब्रोमा पच्न सक्ने हुनुपर्दछ साथै यिनीहरूमा कलिलो बौद्धिकता, सूक्ष्म दार्शनिकता, सरल शैलीशिल्प र भावनात्मक कोमलता हुनु पनि निकै आवश्यक छ ।

बालकका लागि साहित्य लेखिँदा जटिल, क्लिष्ट, गहन, तार्किक एवं बौद्धिक कुराको आवश्यकता नपर्ने र निकै तल्लो स्तरमा झरेर लेखिने हुँदा बालसाहित्य लेखन सजिलो हुन्छ भन्ने भ्रम पनि अधिकांश मानिसहरूमा परेको छ तर वास्तवमा बालकका लागि साहित्य लेखिनु सजिलो काम अवश्य पनि होइन ।

बालसाहित्य लेख्न बालमनोविज्ञान बुझेको हुनुपर्दछ । पूर्वावस्थालाई सम्झँदै वर्तमान बिर्सिदिएर विगततिर फर्किनुपर्दछ र आफू पनि बालक नै बन्नुपर्दछ । बालसाहित्य पढ्न जति सजिलो, मीठो र रमाइलो हुन्छ, त्यति नै लेख्न पनि  गाह्रो हुन्छ । बालबालिकाहरूसँग पनि भावना हुन्छ, उनीहरू लेख्न सक्दैनन्, प्रौढहरूसँग लेखन क्षमता हुन्छ तर आफ्नो बालजीवन बिर्सिसकेका कारणले त्यो भावना बुझेर, खोजेर, सोधेर तथा बाल्यसंसारमा फर्किएर लेख्न यिनीहरूलाई निकै अप्ठेरो हुन्छ । यसो हुँदाहुँदै पनि बालबालिकाहरूको भावना बुझेर लेख्ने काम पनि विभिन्न बालसाहित्यकारहरूद्वारा भएका छन् अनि ती सफल पनि हुन सकेका छन् र बालसाहित्यकारका रूपमा दरिएका छन् । यस्ता बालसाहित्यकारहरूद्वारा रचित उपर्युक्त विभिन्न विभिन्न विधाहरूमध्ये बालबालिकाले मन पराउने, जिब्रोले पचाउन सक्ने र दिक्क नमानी भाका फेरीफेरी, स्वर मिलाईमिलाई तथा उफ्रीउफ्री गाउन एवं पढ्न खोज्ने विधाचाहिँ बालकविता वा बालगीत नै हो ।

बालकविता वा बालगीत

पद्यात्मक वा लयात्मक हिसाबले केटाकेटीको भाषामा लेखिएर उनीहरूले नै गाउने उद्देश्यले रचिएका वा समाजमा प्रचलनमा आएका गीत वा कविता नै बालगीत वा बालकविता हुन् । बालगीत वा बालकविताको परम्परा निकै अगाडिदेखि नै चलेको पाइन्छ । यसको पृष्ठभूमि खोतल्दै जाँदा लोकसाहित्यसम्म पुग्नुपर्ने हुन्छ । मौखिक वा श्रुतिपरम्परामा अडिएका कथ्य लोकसाहित्यभित्र पनि बालसाहित्य सुरक्षित रहेको पाइन्छ । खास गरी बाललोकगीत वा बाललोककवितामार्फत एक युगबाट अर्को युग, एक पुस्ताबाट अर्को पुस्ता, एक गाउँबाट अर्को गाउँ र एक ओठबाट अर्को ओठ हुँदै एकातिर यसको परम्परा कायमै छ भने अर्कातिर लेखन पद्धतिको विकास र शिक्षाको प्रचारप्रसार भएपछि लिपिका रूपमा सुरक्षित हुने मौका पनि बालगीत वा बालकविताले पाएको छ । यसरी हेर्दा बालगीत वा बालकविताका पनि दुई भेद देखा पर्दछन् –  कथ्य र लेख्य । कथ्य भेदलाई बाललोकगीत    कविता र लेख्य भेदलाई लिखित बालगीत  –  बालकविताका रूपमा बुझ्नुपर्ने हुन्छ ।

बालकविताको महत्व

विषयवस्तुलाई लयात्मक र गेयात्मक भाषाका माध्यमबाट अभिव्यक्त गरिने कलात्मक र सौन्दर्यमूलक संरचना कविता हो भने बालकविताचाहिँ बालकद्वारा सिर्जित वा बालकका निम्ति सिर्जित लयात्मक, कलात्मक र मनोरञ्जनात्मक विधाविशेष हो । प्रौढकविताका तुलनामा बालकविताको भाषा सरल, सहज, सुकोमल, सम्प्रेष्य र लयात्मक हुनुपर्दछ । जटिल, दुर्बोध्य, बौद्धिक र असम्प्रेष्य भाषाको प्रयोग गरिएका तथा क्लिष्ट विचार, रौंचिरा दर्शन र गहन तर्कको जालोमा जेलिएका कविताहरू बालकविताको कोटिमा पर्दैनन् । बालकविता पनि गेयात्मक हुने र गीतिगुणको मुख्य आधार पनि गेयात्मक नै हुने हुँदा बालगीतलाई पनि बालकविताको नजिक राखेर हेर्न सकिन्छ । बालसाहित्यका अध्येता, समीक्षक एवं साहित्यकार प्रमोद प्रधानकाअनुसार बालबालिकाहरूको सिर्जनात्मक प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पुरयाउने, उनीहरूका जिज्ञासालाई शान्त पार्ने, शब्दभण्डारमा वृद्धि गर्ने, साङ्गीतिक चेतनालाई परिमार्जन गर्ने तथा मनोरञ्जन प्रदान गर्ने कार्यमा बालकविता वा बालगीत एउटा सशक्त माध्यम भएकाले बालसाहित्यमा यस विधाको आफ्नै प्रकारको महत्व रहिआएको छ । बालकवितामा छन्द वा लयविधान, बालभाषा, कल्पना र अलंकार तत्वको जति महत्व छ, चित्रयोजनाको पनि आफ्नै महत्व रहेको देखिन्छ ।

बालकवितामा चित्रयोजना

कवितामा चित्रको प्रयोग ऐच्छिक रूपमा रहे पनि बालकवितामा यो अनिवार्य रहेको हुन्छ । ‘एक चित्र बराबर हजारौं शब्द भनेझैं भाषाको माध्यमले मात्र अभिव्यक्त हुन नसक्ने भाव चित्रसँग पनि अटाएको हुन्छ । चित्रयोजनाले एकातिर कवितामा सजावट थप्ने काम गरेको हुन्छ जसले गर्दा चित्र मात्र हेर्नका लागि र चित्र हेरेर स्पष्ट हुनका लागि बालबालिकाहरू बालकविता पढ्नतिर हौसिएका हुन्छन् । अर्कातिर शब्दले व्यक्त गर्न नसक्ने भाव चित्रले सजिलैसँग व्यक्त गरेको हुन्छ ।

बालकवितामा चित्र संयोजन गर्ने काम बालकविताका सर्जकहरूले नै गरेका हुन्छन् भनेर भन्न मिल्दैन ।सर्जकको भावना बुझेर सोहीअनुरूप चित्र संयोजन गर्ने काम चित्रकारले गरेको हुन्छ । प्रौढ कवितामा अमूर्त चित्रको प्रयोग गरिएको हुन्छ भने बालकवितामा चाहिँ बालबालिकाले नै बुझ्ने खालको मूर्त र स्पष्ट चित्रको प्रयोग गरिनु आवश्यक हुन्छ । बालकवितामा अमूर्त चित्र, कविताको मर्मविपरीतको चित्र तथा बालबालिकालाई नकारात्मक असर पार्ने खालको चित्र सधैं निरर्थक मानिन्छ । मूर्त भईकन पनि रंगीन चित्रको सजावट भएको बालकविताले बालपाठकलाई निकै प्रभाव पारेको हुन्छ । चित्र संयोजन गर्दा चित्रकारले बालबालिकाहरूलाई छिटो आकर्षण गर्न सक्ने विषयवस्तुसँग सम्बद्ध चित्रहरूको प्रयोग गर्नुपर्दछ । त्यस्ता खालका कविता पढ्दा बालबालिकाहरू चित्र हेर्दै शब्दको भाव बुझ्नमा रमाएका हुन्छन् ।

त्यसो त बालकविता चित्ररहित पनि हुन सक्छ तर चित्रसहितका कविताहरू उनीहरूको ध्यान तान्न जति सक्षम रहन्छन् त्यति चित्ररहित कविताहरू सक्षम रहँदैनन् । बालबालिकालाई भाषण या प्रवचनले प्रभावित पार्न सकिन्न तर चित्रका माध्यमद्वारा भने अत्यन्त सरल र प्रभावकारी रूपबाट उनीहरूमा धेरै कुराको सम्प्रेषण गर्न सकिन्छ ।बालबालिकाहरूको भाषिक ज्ञान एवं शब्दज्ञान अत्यन्तै कम हुने हुनाले उनीहरूलाई चित्रहरूद्वारा नै धेरै कुरा बताउन र बुझाउन सकिएमा अत्यन्त प्रभावकारी हुने करामा समीक्षक प्रमोद प्रधानको स्वीकारोक्ति रहेको छ । साहित्यकार भिक्टर प्रधानकाअनुसार ग्राफिक कला र अफसेट मुद्रणको प्रणाली बढिरहेको वर्तमान परिप्रेक्ष्यमा चित्रकलाविना बालसाहित्य प्रभावकारी हुन नसक्ने कारणले पनि बालकवितामा चित्रयोजनाको महत्व झन्झन् बढ्दै गइरहेको छ । बालकहरूको कल्पनाशीलता र तार्किक विकासमा चित्रकविता भएका पुस्तकले त झन् खेलौनाको नै काम गरेको हुन्छ । 

यसका सम्बन्धमा समीक्षक अच्युतशरण अर्यालको  कल्पनाशक्ति बढाउन, ज्ञानविज्ञानका कुरा र राष्ट्रिय इतिहास, मूल्यमान्यता र संस्कृतिलाई सिकाउन कलात्मक चित्र भएका बालकविताहरू बालबालिकाका लागि निकै उपयोगी र आकर्षक हुने धारणा  छ । यसरी चित्रयोजनालाई पनि बालकविताको मुख्य तत्वका रूपमा स्वीकार गर्न सकिन्छ । 

प्रकाशित: २१ असार २०७७ ०६:०९ आइतबार

जूनकीरी