अन्य

कोरोना र हाम्रो जीवन

कविता

दीक्षा रायमाझी

दीक्षा रायमाझी

कक्षा –९, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, स्वयम्भू,काठमाडौं ।

आजभोलि,

किन सूर्य उदाउनु अघि धमिलिँदै छ ?

किन डुबिरहेका छन् आशाहरु ? 

किन छुटिरहेका छन् साथहरु ?

किन न्यास्रिरहेका छन् केटाकेटीहरु ?

किन पुराना दिनहरुले अनायासै छोप्छ ?

किन उदास छन् चराचुरुङ्गीहरु ?

किन सुनसान छन् घर आँगनहरू ?  

आफ्ना इच्छा, मोह र अहङ्कारको भुमरीले

संसारलाई त्यो कालो जालमा फसाई  

आज एकले  

अनेक र अनेकले  

हरेकलाई,  

चार भित्ताको कोठामा जेलिएर

भोक र प्यासले  

होसमा पनि बेहोस यो तन

आफन्तको  लास एकाएक ढल्दा पनि  

लाचार स्वयम्

दुई हात जोडेर  

जीवनको भिक माग्दा

रसाएका यी नयन।

अब,

यो रूखो तनलाई  धैर्यको हरियालीले भरेर

यो आजित मनमा सतर्कताको बीज छरेर

कालो रङ्गले पोतिएको जीवनको क्यानभासमा  

आत्मविश्वासको नयाँ रङ्ग कोरेर,

सबैको जीवन रङ्गाउनु छ।

यो हृदयघाती कोरोनालाई बिदा दिएर  

यो विश्वमा नयाँ बिहानी ल्याउनु छ।  

प्रकृतिको रक्षा गरी  

मानव मनलाई हँसाउनु छ ।

प्रकाशित: १८ असार २०७७ २०:०५ बिहीबार

जूनकीरी कविता