खेमराज पोखरेल
प्यारा नानीबाबुहरू,
तिमीहरूलाई थाहा नै होला, यतिबेला संसारमा कोरोना भन्ने रोग लागेको छ । हाम्रो देश नेपालमा पनि यो कोरोना महामारी फैलिँदै गरेको छ । कोरोना रोगबाट बच्न हात धोइरहनुपर्छ । एक दिनमा छसातपटक साबुनपानीले हात धुनुपर्दछ । बाहिरबाट आएपछि हात धुनुपर्छ । मोबाइल खेलाइसकेपछि पनि हात धुनुपर्छ । खेलौना खेलिसकेपछि पनि हात धुनुपर्छ । हातधुने कुरा मेरी ४ वर्षकी नातिनी एनिजालाई थाहा छ । हात धुँदा हातमा पानी हालेपछि साबुन दल्नुपर्छ ।
जुन साबुन भए पनि हुन्छ । साबुनको गाज आएपछि एउटा गीत गाउन थाल्नुपर्छ । जुन गीत गाए पनि हुन्छ । गीत गाउन आएन भने वनदेखि ट्वेन्टीसम्म ढिलो गरी भन्नुपर्छ । कदेखि ज्ञसम्म भने पनि हुन्छ । ए फर एपलदेखि जेड फर जिब्रासम्म भने पनि हुन्छ । किनभने साबुनपानीको गाज हातमा कम्तीमा २५ सेकेण्डसम्म बस्नुपर्छ । पखालिहाल्न हुँदैन । गीत गाइसकेपछि मात्र साबुनको गाज राम्रोसँग पखाल्नुपर्छ र सफा तौलियाले हात पुछ्नुपर्छ । नाकमा औँला लान हुँदैन । हाँच्छयुँ आयो भने पाखुरा थाप्नुपर्छ । किनभने कोरोना हातमा आएर बस्छ र हात नाक र मुखमा लाँदा सर्छ ।
मेरी नातिनी एनिजा आँगनमा खेलेर आए पनि साबुनपानीले हात धुन्छिन् । खेलौना खेलेर आए पनि साबुनपानीले हात धुन्छिन् । खाना खानुभन्दा पहिले साबुनपानीले हात धुन्छिन् । स्कुलबाट आएपछि पहिले साबुनपानीले हात धुन्छिन् ।
आज म तिमीहरूलाई मेरी नातिनी एनिजाले मलाई गाली गरेको कथा सुनाउँदै छु । हिजो मेरी नातिनी एनिजा र म आँगनमा खूब खेल्यौँ । उनले आफैले साइकल हाँकिन् । म उनको साइकल पछिपछि दगुरेँ अनि खेलौनाको घर बनाएर खेल्यौँ । खेलौनाकै रेल बनाएर खेल्यौँ । भाँडाकुटी खेल्यौँ । आँगनको छेउछेउमा माटो पनि थियो, धूलो पनि थियो र झारपात र दूबो पनि थियो । हामीले माटो पनि खेल्यौँ । धूलो पनि खेल्यौँ । झारपात र दूबोमा पनि खेल्यौँ । आँगनमा हामीले लुकीलुकी खेल्यौँ । खेदीखेदी पनि खेल्यौँ । उफ्रीउफ्री खेल्यौँ । स्किपिङ पनि खेल्यौँ । स्किपिङ भनेको डोरीलाई घुमाएर डोरीको तालमा उफ्रिने खेल हो ।
उनले आफ्नो होमवर्क पनि आँगनको कुर्सीमा बसेर गरिन् । कलर बुकमा कलर पनि गरिन् । आँगनको छेउछेउमा रहेका फूलहरूका बोटमा पानी हालिन् । यसरी म र मेरी नातिनी खूब खेल्यौँ । खूब रमायौँ । नाच्यौँ । उफ्यौँ । हामी दुवै खूब थाक्यौँ अनि घरभित्र पस्यौँ । मेरी नातिनीले सबैभन्दा पहिले साबुनपानीले हात धोइन् । धूलो लागेको लुगा खोलिन् । धोएको सफा लुगा लगाइन् । अनि म नजिक आइन् । म थकाइ लागेर बैठक कोठाको सोफामा पल्टेको थिएँ । मैले हात धोएको थिएन । अनि मेरी नातिनीले रिसाएर मलाई भनिन्, ‘किन पहिले हात न धोएको ? नटी हब्बा ।’
तिमीहरूलाई थाहा छ ! ‘नटी’ भनेको बदमास भनेको हो । नातिनीले मलाई बदमास हजुरबा भनेपछि मलाई कस्तो पीर परयो । म उठेर गएँ । धारामा गएँ । साबुनपानीले हात धोएँ । मुख पनि धोएँ । नातिनीले तौलिया ल्याइदिइन् । मैले हात पुछेँ अनि बल्ल मेरी नातिनी मसँग खुसी भइन् । अनि ‘गुड हब्बा’ भनिन् । नातिनीले गुड हब्बा भनेपछि म खुसी भएँ ।
तिमीहरू पनि बेलाबेलामा साबुनपानीले हात धुन्छौ होला । हातधुने तरीका थाहा पाएका छौ होला । तिमीहरूका बाबुआमा, हजुरबाहजुरआमा, दिदीबहिनी र दाजुभाइ वा घरमा आउने मान्छेले साबुनपानीले हात धोएनन् भने तिमीहरूले उनीहरूलाई सबैभन्दा पहिले साबुनपानीले हातधुन लगाऊ है । साबुनपानीले मिचीमिची हातधुने तरीका पनि सिकाइदेऊ नि । मान्नुभएन भने मेरी नातिनीले मलाई भने जस्तै तिमीहरू पनि ‘नटी पापा’ भनिदेऊ है । आमा, हजुरबाहजुरआमा, दिदीबहिनी र दाजुभाइहरूले साबुनपानीले हात धोएनन् भने ‘नटी’ भनिदेऊ है ! तिमीहरूलाई थाहा छ नि नटी भनेको बदमास भनेको हो । फटाहा भनेको हो । जसजसले हात धुँदैनन्, ती सबैलाई ‘नटी’ भनिदेऊ है । नटी भनेको बुझेनन् भने बदमास भनिदेऊ । अनि बल्ल कुरा बुझ्ने छन् । यत्ति जाबो साबुनपानीले हातधुने कुरा पनि नबुझ्नेलाई भन्नै पर्छ है । जे पर्लापर्ला !
तिमीहरूलाई माया गर्ने,
अमेरिकाको हजुरबा
सान एन्टोनियो, अमेरिका ।
प्रकाशित: १८ असार २०७७ ०९:३८ बिहीबार