यमुना पराजुली अधिकारी
हिमालको बाबाले एकदिन सानो पप्पी घरमा लिएर आउनुभयो । सानो निख्खर सेतो त्यो पप्पी हिमाललाई औधी राम्रो लाग्यो । गोलागोला आँखा, ठाडा कान गुलाबी मुख । त्यो पप्पी साँच्चै नै हेरिरहुँ लाग्ने थियो ।
‘अहा, कति राम्रो पप्पी मेरो लागि हो बाबा ?’ हिमालले उत्साहित हुँदै भने ।
‘हो हो तिम्रै लागि हो तिम्रो साथी ’ बाबाले यसो भनिरहँदा हिमाल मुसुक्क मुस्कुराएको थियो ।
‘टोक्ला है ? अलि परै धेरै नजिस्काउनु ’ आमाले बाबालाई चिया दिदै भन्नुभयो ।
‘त्यस्तो हुन्न नि जनावरले पनि आफूलाई माया गर्ने मान्छे चिन्छ । उसलाई माया दिन सके उसले पनि हामीलाई माया नै दिन्छ तर हामीले उसलाई अनावश्यक रूपमा जिस्काउने चलाउने गर्नु हुँदैन ।’ बाबाले आमालाई बुझाउँदै भन्नुभयो ।
एकदुई दिनमै पप्पी र हिमाल मिल्ने साथीजस्तै भए । हिमालले पप्पीको नाम टाइगर राखिदिएका थिए । हिमाल स्कुल जाँदा पनि टाइगर गेटसम्म आएर उसको बाटो हेरेको हेरै गरथ्यो । हिमाल पनि स्कुलबाट आउनासाथ उसँग खेलेर मात्र आफ्नो होमवर्क गर्थे ।
एकदिन टाइगर बिरामी पर्याे । खानेकुरा पनि राम्ररी खान सकेन । साँझ हिमाल स्कुलबाट घर जाँदा नि सधैंझैं गेटमा आएन । कुदेर हिमाल टाइगर बस्ने ठाउँमा पुगे । हिमाल देखेर पप्पी कुइँकुइँ गर्दै उसको छेउमा आएर लुट्पुटियो ।
आमा आएर ‘आज टाइगरले केही खाएन’ भनेर सुनाउनुभयो । बाबा पनि अफिसबाट आइपुग्नुभयो । सबैले के भएछ त भनेर सबैतिर हेर्दा मुखमा र खुट्टातिर घाउ आएको देखियो । ‘कठै टाइगरलाई कति दुख्यो होला ? हस्पिटल लैजाऊँ न बाबा ।’
‘भोलि लैजाउँला अहिले त साँझ परिसक्यो । ’ बाबासँगै आमाले पनि होमा हो मिलाउनुभयो । तर हिमालले पटक्कै मानेन । उसको उपचार नभएसम्म आफूले पनि नखाने अडान लिएर बस्यो । ‘ म बिरामी भएको भए पनि भोलि भन्नुहुन्थ्यो त ? उसले दरो तर्क राख्यो । उसको भनाइले बाबा पनि छक्क पर्नुभयो र तुरुन्तै ट्याक्सी खोजेर पशु क्लिनिकमा लिएर जानुभयो । हिमाल पनि जिद्धी गरेर बाबासँग गए ।
डाक्टरले सामान्य नै हो भनेर मलम दिए । भोलिपल्टदेखि टाइगर उफ्रिन थाल्यो । सधैंझैं गेटमा हिमाललाई कुर्न आउन पनि थाल्यो । खान पनि थाल्यो । आफ्नो साथी तन्दुरुस्त भएकोमा हिमाल दङ्ग छन् ।
प्रकाशित: १२ असार २०७७ १०:३५ शुक्रबार