हार्दिक न्यौपाने
कक्षा –२,
अक्षरा स्कुल, काँडाघारी, काठमाडौं ।
मेरो आमाको नाम कृष्णकुमारी न्यौपाने हो । मेरो हजुरआमालाई म आमा भन्थें । अहिले आमा हुनुहुन्न्न । त्यही भएर मैले भन्थें भनेको हो । आमा स्वर्ग जानुभो । स्वर्ग भनेको युनिभर्समा छ । युनिभर्स आकाशभन्दा अलि माथि छ । अब आमा भगवान् हो । आमाले भगवान् भएर मैले के गरिराखेको छु भनेर हेरिराख्नुभएको होला । अब देखेको छैन । जे भने पनि भैगो नि । खै आमाले हेर्नुभएको छ जस्तै लाग्छ । अनि भगवानहरूले त मान्छेलाई हेरिराख्नुभएको हुन्छ । सबै भगवानले मान्छेलाई हेरिराख्नुभएको हुन्छ जस्तो लाग्छ ।
मैले भगवान् देखेको छैन । फिलिमहरूमा मात्र देखेको छु । मान्छे भगवान् बनेको हो फिलिममा । फिलिममा देखेको साँच्चिकै भगवान् होइन । मान्छे भगवान् जस्तो बनेको हो । मैले साँच्चिकै भगवान् देखेको भए हुन्थ्यो नि ।
म ५ वर्षको हुँदा आमा बित्नुभको हो । म स्कुलबाट आइराथें । अनि मलाई मेरो बहिनी आशिकाको घरमा छोडिदिनुभयो सुजिता दिदीले । किन छाडेको होला भनेर सोचें । मामुहरू नआएको भएर म रोएँ । मामुहरू त पशुपति जानु भ’को रछ । मामु र बाबाले आमालाई लिएर पशुपतिमा जानुभको थ्यो । बुबा, ठूलोबाबा, ठूलोममी र लक्षु दिदी सबै जानुभको थ्यो ।
मलाई लिन सुजिता दिदी बेलुका जानुभो । घरमा आएसी मैले मामुलाई सोधें, ‘तिमी मलाई किन लिन आइनौं ?’
मलाई थाहा थिएन आमा कहाँ जानु भनेर । मामुले आमा भगवानको घर जानुभो भन्नुभो अनि म कति दुखी भएँ । किन रोएँ थाहा छ ? आमाले मलाई जति माया कसैलाई गर्नुभको थेन ।
मामु आएको धेरैपछि बाबाहरू आउनुभो । बाबाहरू धोती लार, कपाल तक्लु बनार आउनुभकोथ्यो । अहिले त बाबाको कपाल पनि पलाइसक्यो
कपडा सेतो लगाकोथ्यो । धोती सेतो हुन्छ । मामुले रातो धोती लाकोथ्यो । मसँग मिल्ने साथी मेरै घरमा बस्थ्यो । मेरो साथीको नाम दियाज थियो । दियाज बस्ने ठाउँमा बस्नुभो । दियाज बस्ने ठाउँ हाम्रो घरको पुछारमा थ्यो । मभन्दा जेठो हो तर मेरो फ्रेन्ड हो । मसँग कति खेल्छ । दियाज हाम्रो घरको पुछारमा भाडामा बस्छ ।
त्यो दिन बाबा ठूलो बाबालाई नुहाएपछि छुन पाइएन । मामुलाई पनि छुन पाइनँ । म एक दिन इनासँग सुते । अरू दिन हजुरबासँग सुतें । तेह्र दिन तल सुतें । मामुभन्दा अर्काे कोठामा सुते । मामुलाई ५ दिनमै छोइहाले । बाबालाई चाहिं दश दिन छुन पाइएन ।
छुन नपाउँदा नरमाइलो लाग्यो । मोबाइल पनि छुन पाइएन । मेरो लाइफ बोरिङ भैसकेको थियो । पूरै नै बोरिङ थियो मेरो लाइफ । टिभी पनि हेर्न पाइएन । ल्यापटप पनि हेर्न पाइनँ । तेह्र दिनसम्म प्रभासको फिलिम पनि हेर्न पाइएन । मलाई त रिसै उठ्यो ।
दश दिनमा बाबालाई छुँदा रमाइलो लाग्यो । मोबाइल नि हेर्न पाएँ । तेह्र दिनपछि घुम्नै गको । अनि त बाबाको मोबाइल चार्जमा हुन्थ्यो । सुटुुक्क गएर मोबाइल चोर्दै हेर्दै गर्न थालें ।
आमा घरमै हुनुहुन्छ जस्तो लागिराख्थ्यो । पशुपतिमा लगेर पूजा गर्न आमालाई राखेको भन्ठानेको थिएँ । बाबा पशुपति जाँदा आमालाई भेटेर आउनु है भन्थी । फूल चँडाउनु है भन्थी । तर, पूजा गर्न राखेको होइन रछ आमालाई । बित्नु नै भको रछ ।
बरखी गर्न कस्तो गाह्रो हुन्छ । अनि आमा बितेको एक वर्ष बितेपछि आमाको सम्झना धेरै आयो । एक वर्षमा आमा आउनुहुन्छ होला भन्ठानेको थिएँ तर आमा आउनु भएन । किन आउनुभएन होला ? मरेपछि कोही आउँछ र ? मरेपछि मान्छे आउँछ कि आउँदैन ? मलाई मरेपछि मान्छे आउँदैन जस्तो लाग्न थालेको छ । मरेपछि जिन्दगी गयो । जिन्दगी भगवानको शरणमा गयो ।
मैले आमा हाम्रो घरमा घोडा बनेर आउनुहोला, गोल्ड फिस बनेर आउनुहुन्छ होला भन्ठानेको थिएँ । तर आमा केही बनिसक्नु भो होला । बिरालो, चरा, भंगेरा बनिसक्नुभो होला । आमा घोडा बनेर आए हुन्थ्यो जस्तो लाग्छ । घोडा बनेर आउनुभो भने छिटो दौड्न सक्नुहुन्थ्यो नि ।
आमाले मलाई धेरै माया गर्नु हुन्थ्यो । जहिल्यै विस्कुट दिनुहुन्थ्यो । मैले पनि आमालाई माया गर्थें । आमाले जहिल्यै बत्ती बनाउनुहुन्थ्यो । धागोको बत्ती । मचाहिं आमालाई केके चाहिन्थ्यो, ल्याइदिन्थें ।
एकचोटि बाटोमा लड्नुभो अनि मलाई पीर लाग्यो । अनि मचाहिं कुद्दै घर आएर कटन लगें । म रुँदैरुँदै आको घर । सुजिता दिदीलाई पनि लिएर कटन लगें । म ५ वर्ष हुँदा लडेको आमा । अनि आमालाई हस्पिटल लगेको । आमालाई हेर्दाहेर्दै ठीक भो ।
लडेको घाउ ठीक भएर पनि आमा बाँच्नुभो । मलाई अहिले आमा नहुँदा नियाँस्रो लाग्छ । आमालाई त माथि गएर लेरै आऊँ जस्तो लाग्छ । तर जानै सकिंदैन । जान सके पो ल्याउनु ?
प्रकाशित: ९ असार २०७७ ०७:४४ मंगलबार