अन्य

पसीनाको सुगन्ध

रविन्द्र ढुङ्गेल 

भर्खरै ऊ रोपाइँबाट फर्किएको छ । उसलाई  केहीको पनि चिन्ता छैन।  उसलाई न किताबको  न कापीको  न कलमको  नै  चिन्ता छ तर ऊ दिनहुँ सिकिरहेको छ । उसलाई थाहा छ न किताबले सिकाउँछ न कापीले सिकाउँछ न कलमले बोध गराउँछ । उसलाई पनि जिन्दगी सुन्दर बनाउने इच्छा छ । त्यसैले ऊ किताबलाई घरमा राख्छ र दिनहुँ कोदालो सिउरिएर खेतमा पुग्छ ।  ऊ  खेतका गरागरालाई चाट्छ , बोटसँग प्रेमालाप गर्छ र माटालाई प्रिय सँगी  बनाउँछ ।

भोक नलाग्ने मन्दाग्निझैं ऊ अबेरसम्म भोकै पनि काम गर्छ । कहिलेकाहीँ  राज्यका अधिकारी उसलाई बेरोजगार बनाउन आउँछन् । ऊ विद्यालय जानुपर्ने रे । जब ऊ विद्यालय जान्छ तब ऊ मात्रै होइन उसको जम्मै  परिवार भोकै मन्दाग्निले बाँच्नुपर्ने हुन्छ । उसलाई आफ्नो नाम लेख्न आउँदैन  ।  उसले  पण्डितले राखिदिएको नामबिर्सिसकेको छ । आज उसको नाम हो बद्रीको छोरो र उसको बाबुको नाम हो खोलाघरे काइलाको छोरो। जोत्दा स्थिर भएर अडिने उसका हात  लेख्दा  थरथर काँप्छन् ।

 उसलाई  किताबभन्दा बढी थाहा छ  तर ऊ कहिल्यै पास हुँदैन । विद्यालय गएर भोकै बस्नु छैन उसलाई  । त्यसैले ऊ  विद्यालय जाँदैन । उसलाई आउँदैन अङ्ग्रेजी बोल्न तर ऊ बाख्राका सबै भाषा बुझ्छ , मौसमका सबै रंग बुझ्छ  र  चुहिने छानाबाट पानी खसेर किताब बिग्रेको पनि ऊ बुझ्छ । आफूभित्र कलम छिरेर  जलन भिरेर नलेखेको पनि ऊ बुझ्छ । 

ऊ प्रत्येक असारमा मिहिनेत गरेर परीक्षा दिन्छ र हरेक मंसिरमा पास हुन्छ । ऊ यसपटक दसौं वर्षको परीक्षा दिँदैछ । महोदय उसलाई दस कक्षामा राख्न मिल्छ कि मिल्दैन ?  ऊ आफूलाई पास भएको खुसीयालीमा बधाई दिन्छ । बोटहरूको तारीफ गर्छ । ऊ पाखाहरुमा मलयाचल ठड्याउँछ । ऊ भीरहरुमा श्रीखण्ड उमार्छ  । ऊ खेतमा कहिल्यै गयल भएको छैन। उसको घरको गाई कहिल्यै भोको भएको छैन । उसका बारीमा मकै लटरम्म फल्छन्  । मौसमबाट उसलाई कहिल्यै धोका भएको छैन । उसलाई हाँस्न फिल्म हेर्नुपर्दैन  । ऊ दिनहुँ हाँस्छ आफ्ना कर्मठ हात हेरेर , ऊ हाँस्छ आफूले टेकेको जमीन हेरेर र  ऊ हाँस्छ बाछाबाछीले दूध पिएको  हेरेर । आमाले घ्याइँघ्याइँ पारेर जाँतोमा मकै पिस्दा ऊ ब्यूँझ्न्छ । बेलुका गोरुलाई खुवाएपछि ऊ निदाउँछ । पसीनाको सुगन्धमा ऊ त्रिरत्न ब्रम्हा, विष्णु  र महेश्वर  भेट्छ । ऊ  दिनहुँ पसीनाको पूजा गर्छ ।

बालबालिकाहरुले धेरै नम्बर ल्याउनु कुनै प्रशंसनीय काम होइन। पसीनाको मूल्य र वैदिक संस्कार बुझ्नु उत्तम  उन्नति हो, धनमा होइन श्रममा आनन्द लिने पुस्ताको विकास गर्नुपर्छ । अन्तर्भावना बुझ्न सक्ने शिक्षाको आरम्भ गर्नुपर्छ अनि मात्र समावेशी र समानुपातिक विकास हुनेछ ।  वास्तविक समाजवादको उदय हुनेछ ।  

प्रकाशित: ७ असार २०७७ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App