अन्य

उत्तरको खोजीमा हाम्रो पुस्ता

दिपेश पौडेल

कक्षा –१०, श्री बालज्योति मावि, कोहलपुर, बाँके ।

रेडियो, टिभी, सामाजिक सञ्जाल, पत्रपत्रिकामा केही दिनदेखि विभिन्न घटना र त्यसका पक्षविपक्षमा आवाजहरू विचारहरू प्रचारहरू भइरहेका छन् । सरकारले भारतले ओगटेको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग समेटेर नक्सा बनायो । त्यही नक्सा संविधानमा नेपालको निसान छापमा राख्न संविधानको संसोधन ग¥यो ।

देशमा राष्ट्रियताको प्रसंग चल्दै गर्दा मलाई वीरबलकोे खिचडी भन्ने कथाको याद आएको छ । विद्यालयमा गुरुहरूले धेरै पटक वीरबल र अकवरका कथा सुनाउनुभएको छ । वीरबलकोे खिचडी मलाई मन परेको कथा हो ।  यो कथा हाम्रो समाजका नेता, जनता, कर्मचारी आदिको काम गर्ने शैली र सोच तथा प्रवृत्तिसँग मिल्ने खालको लाग्दछ ।

नेपालले भारतले कब्जामा ल्याएको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको नक्सा सर्वसम्मत संसदबाट पारित गरेको छ । के मधेसी, पहाडी, हिमाली सबै संसदले एक भएर यसको समर्थन गरे । यो अत्यन्तै खुसीको कुरा हो ।

पृथ्वीनारायण र भिमसेन थापाभन्दा पनि अगाडिको पुस्ताबाट जन्मभूमिको रक्षा र मायाको कुरा हामीले सुन्दै आएका छौं । सुगौली सन्धिमा हामीले हाम्रो धेरै भूभाग गुमाएको पढेका छौं । त्यस सन्धिले निर्धारण गरेको सीमामा भारतले आँखा लगायो । तर, जनताले विरोध गरिरहेका थिए । भविष्यमा पनि गरिरहने छन् । 

 धेरै पहिलेदेखि अहिलेसम्म सबै नेताले  विकासको धेरै सपना देखाएका छन् । तर नेपालीलाई विकासका जति सपना बोकाए पनि हामी विश्वका गरीब भएर बाँच्न बाध्य छौं । कहिले सिंगापुर, कहिले स्वीजरल्यान्ड बनाउने सपना बाँडिन्छ । नयाँ नेपाल बनाउने पनि धेरै पटक भनियो । तर, यो वीरबलकोे खिचडीजस्तै नारामा सीमित छ । आफ्नो स्वार्थका लागि राष्ट्रियताको नारा घन्काइन्छ । आफ्ना विरोधीलाई ठीक पार्न, सत्तामा जान यो प्रयोग गरिन्छ । तर समाधान गरिँदैन । आखिर कहिलेसम्म ? यो त निरन्तर चल्ने कुरा हो । हामीले बुझ्नुपर्ने कुरा के हो भने शिक्षा, स्वास्थ्य, रोजगार, गुणस्तरीय जीवनयापनको विकास  नहुँदासम्म राष्ट्रियताको गीतमा नाचेर मात्र जनतालाई पुग्दैन । जनतालाई खाने, लाउने, बस्ने, गुणस्तरीय शिक्षा, स्वास्थ्य र आफ्नै देशमा रोजगार मिल्दैन हाम्रो राष्ट्रवाद खोक्रो हुन्छ ।

कोरोना महामारीको यस अवस्थामा कैयौं युवाहरू संक्रमणको प्रवाह नगरी पिसिआर जाँचको माग गर्दै सडकमा ओर्लिएका छन् । भ्रष्टाचार नगर्न र क्वारेन्टिनलाई राम्रो बनाउन सरकारलाई भनिरहेका छन् । यस्तो महामारीमा पनि जनताको पेट काटेर भ्रष्टाचार गरिरहँदा युवा आक्रोश बढिरहेको छ । गाउँमा विजुली, पानीको व्यवस्था छैन । सरकारी स्कुलमा राम्रो शौचालयको व्यवस्था छैन । तर सरकारमा बसेका र विपक्षमा रहेका सबैले राष्ट्रवादको सपनामा हामीलाई लट्ठाइरहेका छन् ।

सरकारले कोरोना भाइरसको नियन्त्रणको लागि १० अर्ब रकम खर्च गरिसकेको छ ।  पिसिआर जाँच गर्न नसकेर विनाजाँच घरमा पठाएको छ । क्वारेन्टिन अव्यवस्थित छन् । मरेपछि जाँच गर्छ । कोरोना लागेको मृत्युपछि थाहा हुन्छ । यसैको विरोधमा कैयौं युवा सडकमा छन् । उनीहरूले सडकबाट प्रश्न गरिरहेका छन्, सरकार १० अर्बको हिसाब खोई ? हामीले दिएको कर केमा खर्च गरयौ ? भनिरहेका छन्, क्वारेन्टिन व्यवस्थित गर । संक्रमणको चाङ नबनाऊ ।

अहिले लाखौं युवा बेरोजगार छन् । भिसा दिने हो भने आजैबाट मृत्युलोकमा जान तयार छन् । मेरो छिमेकी कृष्ण दाइ हिजो मात्र खाडी मुलुकबाट घर आउनुभएको छ । घरमा खुसी छाएको छ । आज पदम मामा कोरोना महामारीको बीच जापान जानुभयो । घरमा सबैलाई नरमाइलो लागेको छ । जापान पनि कोरोनाबाट अछुतो छैन । रोजगारका लागि ज्यानको बाजी लगाएर जाँदा परिवार दुःखी हुनु स्वभाविक हो । हाम्रो पुस्ता पनि विदेश जाने सपनामा बाँचेको छ । अर्को पुस्ता पनि यसरी नै जाने छ । अनि हामीले कहिलेसम्म राष्ट्रियताको बीन बजाइरहने ?

हाम्रो राष्ट्र हामीलाई प्राणभन्दा प्यारो छ ।  घर अगाडिको भत्केको सडक किन बन्दैन ? झुपडीमा निभेका चुला किन बल्दैन ? सिटामलको अभावले मृत्युको पर्खाइमा मानिस किन छन् ? सरकारले मजस्तै सुविधासम्पन्न स्कुलमा मेरो साथीलाई पनि पढ्ने व्यवस्था किन गर्दैन ? विदेशबाट पैसाको सट्टा बाकसमा आएको लास हेरेर विह्वल परिवारको मर्म सरकारले किन बुझ्दैन ? हाम्रो समाज किन हिंस्रक बनिरहेको छ ? वीरबलकोे खिचडी जस्तै कहिल्यै नपाक्ने राष्ट्रियताभन्दा पनि  पीडादायी यस्ता थुप्रै  प्रश्नहरूको उत्तर मेरो पुस्ताले खोजिरहेको छ ।

प्रकाशित: ५ असार २०७७ १०:५७ शुक्रबार

जूनकीरी लकडाउन