अन्य

के सिक्नु भयो त ?

यमुना पराजुली अधिकारी  

प्यारा नानीबाबुहरू, अहिले लकडाउन केही खुकुलो भएको छ तर शैक्षिक संस्था भने अझै खुलेका छैनन् । सरकारले यो कदम चाल्नु पनि राम्रै हो जस्तो लागेको छ मलाई । तपाईंहरूलाई कस्तो लागेको छ कुन्नि ?  तपाईहरू पक्कै दिक्क हुनुभएको छ घर बस्ताबस्ता । कहिले स्कुल जाऊँ र  कहिले साथीहरू भेटौ भन्ने पक्कै भएको होला । तर, अब केही दिन धैर्य गर्नुस् ल ।

कोरोना महामारीबाट विश्व गुज्रिरहेको छ । सरकारले स्कुलहरू नखुलाउनुको कारण हाम्रा भविष्यका सुनौला फूलहरूलाई केही असर नपुगोस् भनेर नै हो । यसलाई तपाईंहरूले पक्कै सकारात्मक रूपमा लिनुभएको छ । बरु तपाईंहरूले यो तीन महिनाको अवधिभरि केके सिक्नुभयो ? केके गर्नुभयो ?  पक्कै पनि केही कृयटिभ कामहरू गर्नुभएको हुनुपर्छ । किनकि तपाईहरू समझदार हुनुहुन्छ र समयलाई यसै खेर फाल्न दिनु हुन्न ।

 मैले तपाईंहरू जस्तै केही साथीलाई नजिकबाट बुझ्दा धेरै जनाले केही न केही गरेको बताउनुभयो । सेन्ट मेरिज स्कुल, ललितपुरमा  कक्षा १०  मा पढ्ने ऋषिका ढकालले यो लकडाउनमा गिटार बजाउने गीतहरू गाउने काम गर्नुभयो । उहाँलाई संंगीतमा एकदमै रुचि छ । उहाँ पहिलेदेखि नै गिटार सिक्तै आउनुभएको थियो । यो लकडाउनको फुर्सदिलो समयलाई उहाँले अझै सदुपयोग गर्नुभयो ।

त्यस्तै धनकुटाका बाबू दीक्षान्त सुवेदीले आफ्नो आमासँग खाना बनाउन सिकिरहेको भिडियो युट्युबमा अपलोड गर्नुभएको थियो। उहाँ सात कक्षामा पढ्नुहुन्छ ।  नेक्सस स्कुल काठमाडौमा १० कक्षामा पढ्ने स्मारिका सेढाईले पनि घरायसी कामहरू सिक्ने र यो लकडाउनअवधिमा दैनिकी लेख्ने गर्नुभएको छ । यो पनि एउटा कृयटिभ कार्य हो ।

मैले सुनेका बुझेका प्रायः भाइबहिनीहरूले केही न केही गरेको मैले पाएकी छु । पक्कै तपाईहरू पनि केही न केही त सिकिरहनुभएकै छ । स्कुलहरू खुल्न अझै समय लाग्न सक्ने भएकाले अझै पनि तपाईहरूसँग समय छ । ल अब आजैदेखि  दैनिकी लेख्ने गर्नुस् ल । दिनभरिका मनका कुराहरू डायरीमा पोख्नाले मन धेरै हल्का हुन्छ र पछिसम्मको लागि पनि स्मरणीय हुनेछ ।  

प्रकाशित: ५ असार २०७७ १०:१७ शुक्रबार

जूनकीरी कोभिड–१९