अन्य

सिर्जनाका मुहान बालबालिका

कुमार काफ्ले

 हिउँ परेर धरती सेताम्मे हुन्छ, अनि हिमताल र हिमनदीहरू बढ्छन् । झरी परेर हिलाम्मे हुन्छ अनि तालतलैया र पोखरीहरू टलपल भरिन्छन् । खडेरीले सुकाएर खङ्ग्रङ्गै पारिदन्छ अनि धुलो र तुवाँलोले ढाक्छ । स्वभावैले बच्चाहरू नयाँ चीजप्रति उत्सुक हुन्छन् । उनीहरू हिउँ खेल्छन्, असीना टिप्छन् । तिनका बाआमा चिसो लाग्छ छुनु हुँदैन भनेर कराउँछन् । हिलो र धुलोमा जान दिँदैंनन् । बालबच्चाको स्वास्थ्यमा ख्याल अवश्य दिनुपर्छ तर उनीहरूलाई प्रकृतिले दिएको निशुल्क अनुपम अनुभूतिबाट वञ्चित गराउनु हुँदै हुँदैन ।

 प्रकृतिमा हेर्न र बुझ्नलायक अथाह कुराहरू छन् । साँझका ग्रह, तारा, जूनको कला, बेलाबेला बदलिरहने बादलको रूप, आकाश, क्षितिज, सूर्य उदय र अस्त भएको, शीतको थोपा, कमिलाको ताँती, माहुरीको मेहनत उनीहरूकै आँखाबाट हेर्न दिनुपर्छ । बीज अंकुरण भएको, बढेको, फुलेको, फलेको, ऋतुअनुसार प्रकृतिमा हुने परिवर्तन, रङ्गीचङ्गी पुतलीको नाच, भवँराको भुनभुनाहट, कीटपतङ्ग, जीवजनावर, वनस्पति यी सब कुराहरू पुस्तकमा घोकाएर होइन प्रकृतिमै रमाउँदै सिक्न दिनुपर्छ ।

अपवाद बनौं –

अधिकांश बाआमा छोराछोरीलाई प्रकृतिबाट टाढै राख्न चाहन्छन् । घरबाट, कोठाचोटाबाट बाहिर निस्कनु भनेको उनीहरूको नजरमा बिग्रनु हो । असल देखिन विद्यालयका किताब पढ्ने,  घोक्ने र सार्ने काम गरिरहनुपर्छ । कुनै पाठ वा उत्तर कण्ठस्थ पारेर सुनाउन सक्नु नै छोराछोरीको सफलता ठान्छन् बाआमा । पाठ्यपुस्तक पढ्नु,  अभ्यास गर्नु नराम्रो त हुँदै होइन । तर निर्दिष्ट पाठ्यपुस्तक र अभ्यासबाहेक पढ्न र बुझ्न विशाल संसार तिम्रै अगाडि छ भनेर बुझाइदिने, बाटो देखाइदिने अभिभावक सारै थोरै अर्थात् अपवादको रूपमा मात्रै रहेका होलान् । हो, अभिभावहरू त्यस्तै अपवाद बन्ने अठोट गरौं र अपवाद बनौं । यसमा घाटा छैन ।

वधशाला नबनाऔं –

मन्टेसरी शिक्षणका अभियन्ता गिजुभाइकाअनुसार हामीले बालबालिकाको सिर्जनात्मक क्षमताको हत्या गरिरहेका छौं। यस्तो हत्या जसले उनीहरूको जीवन निरर्थक हुन सक्छ तर हत्याराले कुनै कानूनी कारबाही भोग्नुपर्दैन । घरमा रहँदा बालबच्चाले तपाईंको सफाचट अनुहारमा जुँगा बनाइदिन सक्छन्, तपाईंलाई ताइ न तुईका लाग्ने गीत गुनगुनाउन सक्छन् । ढुंगा र छेस्काले आँगन वा भुँइमा सडकका घुम्ती, घर वा यस्तोउस्तो केही पनि बनाउन सक्छन् । नाच्न, उफ्रिन, रूखका पात बटुलेर खेल्न र तपाईंको भाषामा अनेक उटपटयाङ र चकचक गर्न सक्छन् । ठीकठाक पारेर राखेको चीज उल्टोपाल्टो गरिदिन सक्छन् । विद्यालयमा पनि बालबच्चाहरू एकछिन चूपचाप बस्दैनन् । कापी कागज च्यातेर चरा, डाला, टोपी र डुङ्गाहरू बनाउँछन् । डेस्कबेञ्चमा कोर्ने, लेख्ने,  हातखुट्टाले हानेर आवाज निकाल्ने, नगर भनेको गर्ने र जानु हुन्न भनेको ठाउँमा गइछोड्ने गर्छन् । तपाईंहामी उनीहरूभित्र अङ्कुरण हुँदै गएको कला, साहित्य, सङ्गीत, वास्तुकला, चित्रकला, हस्तकलालाई रोक्ने, विकृत गर्ने र जरै उखेलिदिने गर्न उद्यत हुन्छौं । जानेर वा नजानेर हामीले घर र विद्यालयलाई सिर्जनाको वधशाला बनाइरहेका छौँ । त्यसो कहिल्यै गर्दै नगरौं ।

अनुशरण सिर्जनशीलता होइन –

हुनसक्छ, हामीले गरिरहेको काम सही छ । पेशा, कमाइ र इज्जत पनि चित्तबुझ्दो नै छ । त्यसो भए हामी सोच्छौं, हाम्रा सन्तानले हामीले जस्तै गरून्,  नयाँनयाँ काममा हात हालेर कुनै जोखिम नमोलून् । साधारण र सरल जीवन बिताऊन्  । हो, यहीँनेर हामी नमजाले चुकिरहेका छौँ । कम पढालेखा भएका र परम्परागत पेशामा आबद्ध अभिभावकको सोच सन्तानले ठूलो जागिर खाउन्, कमाइधमाइ राम्रो गरून् भन्ने खालको देखिन्छ । दुःखको कुरा, शहरीया हुन् या ग्रामीण अभिभावक, सबैले आफ्ना बालबच्चाले अरूले नगरेको, गर्न नसकेको नयाँ केही गरून्, जोखिम मोलून् भन्ने चाहँदैनन् । एकथरी अभिभावकले छोराछोरीले आफ्नो अनुशरण गरून् भन्ने चाहन्छन् भने अर्काथरीले धनीमानी र पदप्रतिष्ठामा पुगेकाहरूको सिको गरेर त्यस्तै बनून् भन्ने चाहन्छन् । अर्काको अनुसरण गर्नु भनेको आफ्नो सिर्जनशीलता मार्नु हो । यो सत्यलाई बेलैमा बुझेर उनीहरूलाई सिर्जनशील बन्न प्रेरणा दिनुपर्छ ।

प्रकृतिमा रम्न दिऔं – 

घर होस् या विद्यालय, बालबालिकालाई प्रकृतिमा रमाउन दिनुपर्छ । विज्ञान प्रविधिको प्रयोगमा सिपालु बन्ने अवसर त दिनुपर्छ तर यसो गर्दा प्रकृतिबाट टाढा जानचाहिँ दिनु हुँदैन । आधुनिक प्रविधि प्रयोगमा अभिभावकले नचाहे पनि अब बालबच्चा पुगिसके, नपुगेका पनि अब छिटै पुगिहाल्छन् । आधुनिकताको नाममा हामीले बच्चालाई विद्युतीय उपकरणको अगाडि मात्रै राख्ने होइन । मोबाइलमा खेल खेल्नु र चित्र बनाउन कम्प्युटरको पेन्ट प्रोगाम मात्रै प्रयोग गर्नु सिर्जनात्मक क्षमता बढाउनु होइन । बरु सिमीका पात, बेसार, अङ्गार, कमेरे ढुङ्गा, कालीमाटी, रातोमाटो आदिको प्रयोग गरेर पनि रङ र चित्र बनाउन सकिन्छ भन्ने तथ्य उनीहरूलाई नै प्रयोग गर्न सिकाउनुपर्छ ।

आफ्नै शिरमाथि आकाशभरिका जूनतारा र  पाउमुनिका अमूल्य खजानाको अनुभूति गर्नबाट उनीहरूलाई नरोकौं । प्रकृति सँगसँगै आफू पनि बाचौं र आफ्ना बालबच्चालाई पनि प्रकृतिमा रमाउँदै सिर्जनात्मक क्षमता बढाउन सहयोग गरौं ।

प्यारा भाइबहिनीहरू,के यस्तै भयो भने हामी सबै खुशी हुन्छौं नि होइन त । 

प्रकाशित: ३ असार २०७७ ०६:४७ बुधबार

जूनकीरी बालकालिका