अन्य

लकडाउन सदुपयोग

सीता विष्ट कार्की (सीविका)

आजका बालक भोलिका राष्ट्रका खम्बा  हुन् , कर्णधार हुन् । तिनीहरूको जग बसाल्न सके र तिनीहरूलाई स्वस्थ र बलियो बनाउन सके भोलिको राष्ट्र बलियो र समुन्नत हुनेछ । यसका लागि स्वस्थ मलजलको आवश्यकता छ । जसका  लागि  राष्ट्र र अभिभावकको महत्त्वपूर्ण भुमिका हुन्छ ।

समय सधैं एउटै रहिरहँदैन । प्रकृतिले मानिसको समयलाई उतारचढाव बनाइरहन्छ । बहत्तर सालको भूकम्प र अहिलेको कोरोना भाइरसको विश्व महामारी प्रकोप यसको ज्वलन्त उदाहरण हो । इतिहासमा कहिलेकाही हुने यस्ता घटनाहरू वा प्रकोपले ठूलो मानिसलाई भन्दा पनि बालकहरूलाई अझ बढी असर पार्दछ । बालकहरूलाई असर पार्नु भनेको समाज र देश लागि पनि घाटा हो भन्ने कुरा हामीले बुझ्नुपर्छ ।

चनको वुहानबाट शुरू भएको नोबेल कोरोना भाइरस जसलाई कोभिड १९ पनि भनिन्छ ।  अहिले विश्वभर घुम्दै आतंङक मच्चाएको छ । शक्तिशाली र सर्वसम्पन्न राष्ट्रहरू जस्तै अमेरिका,  बेलायत,  इटली,  जापान आदि जस्ता देशहरूमा समेत आतङ्क मच्चाएको यो कोरोनाको प्रभाव हाम्रो जस्तो  विकासोन्मुख देशमा झन् बढी परेको छ । आर्थिक,  सामाजिक,  मनोवैज्ञानिक सबैमा प्रभाव परिरहँदा यसको अझै गहन असर त बालबालिकाहरूमा परेको पाइन्छ ।

कोरोना आतङ्कबाट जोगिन लकडाउन अपरिहार्य हतियार हो जसअनुसार नेपालमा चैत्र ११ गतेदेखि लकडाउन शुरू भएर आजसम्म   कायम छ  । हामी अहिले कोरोनाको कहरमा छौ । लकडाउनको कारण हामी भित्रै थुनिएर आफ्नै घरको चार दिवारभित्र सीमित छौ । कैयौं बालबालिकाको अभिभावकको रोजगार गुमेको छ । होटेल, रेस्टुरेन्ट  र उद्योगहरू पनि बन्द भएका छन्।  यसले पनि बालकहरूमा पनि अप्रत्यक्ष प्रभाव पारेको हुन्छ।

  लकडाउनले बालबालिकालाई सीमित घेराभित्र राख्ने हुँदा अभिभावकले उनीहरूको दिनचर्यामा ख्याल राख्नुपर्छ । जस्तो उनीहरूसँगै खेल्ने,  जिस्कने साथीहरूको भूमिका निर्वाह गर्नुपर्दछ । यस्तो बेला उनीहरूको आत्मबल बढाउने कार्यहरू गर्नुपर्दछ । लुडो , चेस, बल, ब्याडमिन्टन आदि खेल्दा अभिभावक पनि सहभागी हुँदा रमाइलो हुन्छ किनभने प्रायः खेल एक्लै खेल्न मिल्दैन ।

कक्षामा साथीहरूसँग रमाइरहेको बानी यो लकडाउनरूपी साङ्लाले बाँधेपछि उनीहरूलाई अहिले नियाँस्रो, खिन्नताले गर्दा घरीघरी टोलाइरहन्छ । त्यसैले उनीहरूलाई विजी बनाउन विभिन्न क्रियाकलाप गर्नुपर्ने हुन्छ । बालकहरूलाई नकारात्मकबाट सकारात्मकतर्फ ढाल्न निम्न काम गराउन सकिन्छ  न।चित्र, व्यंग्यचित्र  कोर्न लगाउने त्यसका  लागि अभिभावक आफैं पनि सहभागी हुने  । चित्रमा स्कुलको चित्र बनाउन लगाउने अनि त्यसको वरिपरि विद्यार्थीको पनि चित्र बनाएर स्कूल गएको अनुभूति पार्ने । यसले पनि नकारात्मक असर घटाउन सक्छ ।

लकडाउनको बेलामा भएको मनोवैज्ञानिक असर घटाउन अर्को उपाय चित्र बनाउँदा नेपालको परिचय हुने गरी बनाउन लगाउने,  हिमाली भेगतिर हिमाल र हिमशृङ्खलाहरू अनि पहाडतिर लालीगुराँस फुलेको जङ्गलको चित्र,  त्यस्तै तराई भेगको जानकारीका लागि तराईका हरिया फाँटहरूको चित्रहरू बनाउन सिकाएर, ती भौगोलिक क्षेत्रहरूको बारेमा सजिलै जानकारी हुन्छ भने अर्कोतिर चित्र बनाउँदा सकारात्मक सोचको पनि विकास हुन्छ ।

त्यसैगरी यो लकडाउनको बेला बालबालिकाको सकारात्मक सोचको विकासका लागि बालसाहित्यका किताबहरू कथा,  कविता र उपन्यास पनि पढ्न लगाउनुको साथै लेख्न पनि उत्तप्रेरित गर्नुपर्छ । यसका  लागि अभिभावक आफैले शुरू गरेर देखाउनुपर्छ । तर, सबै अभिभावक र बालबालिकाको हकमा यो पहुँच नहुन पनि सक्छ । संभावना बोकेकालाई गर्न सकिन्छ । 

तर बालबालिकामा यो लकडाउनबाट असर नपरून् भनेर अभिभावकको सदैव बालबालिकाप्रति ध्यानकेन्द्रित हुनुपर्छ । अध्यनबाट बालबालिकाहरूलाई लकडाउनको प्रभाव शहरभन्दा गाउँमा कम भएको पाइएको छ जस्तो  जस्तो लकडाउन गाउँघरतिर  वरिपरि केटाकेटी खेल्ने खुल्ला ठाउँ हुन्छ । दूरी कायम गरेर खेलाउन सकिन्छ ।

अर्को कुरा, अब गाउँघरमा खेतीपाती गर्ने बेला आयो ।  कुनै ठाउँ  मकै उम्रेको छ भने कुनै ठाँउ अलिपछि खानका  लागि छर्दै छ्न् । अब बिस्तारै धान रोप्ने बेला पनि हुँदै छ्न् । अभिभावकले गर्ने यी सबै कार्यमा उनीहरूलाई पनि सहभागी गराएर सिकाउन सकिन्छ । लकडाउनको बेला धेरै बालबालिकाहरू शहरबाट गाउँमा गएका छ्न् ।    

यो बेला गाउँको जीवनबारे अभिभावकले अवगत गराउनुपर्छ ।  किसानी जीवनको प्रत्यक्ष रूपमा अवगत गराउन अहिले मौका मिलेको छ ।दिमागबाट कोरोना र लकडाउनको बन्दी जीवन गाउँघरतिर अलि केही राहतको महसुस पक्कै हुन्छ । पातलो बस्ती,  भीडभाड कम,  खुला ठाँउले सकारात्मक सोचको सिर्जना हुँदै निराशालाई आशातिर लैजान्छ गाउँले परिवेशले ।कोरोना कहरले अभिभावकसँग शहरबाट गाउँतिर गएका बालबालिकाले अरू बेलाभन्दा गाउँमा केही समय बढी बस्ने भएकोले गाँउले र शहरिया जीवनको भिन्नताबारे पनि अभिभावकले अवगत गराउनुपर्छ ।

कोरोनाले शैक्षिक क्षेत्रलाई पनि ठूलो असर पारेको छ । लकडाउन खुले पनि शैक्षिक संस्था खुल्ने सम्भावना न्यून छ ।  विद्यालय गएर पढ्न नपाएपछि शहरका बालकहरूमा नैराश्य,  झ्याउ मान्ने,  रिसाउने र किचकिच गर्ने जस्ता क्रियाकलापहरू देखिएको छ । यस्तो परिस्थितिलाई मुकाबिला गर्न पहुँच हुने कतिपय विद्यालयले अनलाइनमार्फत विद्यार्थीको सिकाइ प्रक्रियालाई निरन्तरता दिएको छ तर नेपालको सन्दर्भमा सबै ठाँउमा इन्टरनेटको पहुँच छैन ।

अन्तमा अहिलेका बालबालिका भोलिको देशलाई सुन्दर बनाउने असली गहना हुन् ।  समाजका चम्किला जून हुन् । परिवारका आँखाका नानी हुन् । यो कोरोनाको कहरमा यिनीहरूलाई हरेक अभिभावकले सकारात्मक सोचका साथ उनीहरूसँग कुरा गरौ । मायालु वातावरण बनाएर उनीहरूलाई घरमै ज्ञानगुनका कुरा सिकाऔ  । यो फुर्सदको समय बालबालिकाहरूलाई स्वावलम्बन  र आत्मनिर्भरको पाठ सिकाऔं ।  

सामाजिक दूरी  कायम गरी मास्कको प्रयोग र समयसमयमा साबुनपानीले हात धोई लकडाउनको पालना राम्रोसँग गर्न लगाऔं । अभिभावकले पनि यी कुराहरूको पालना गरौ । एक दिन अवश्य पनि कोरोना परास्त भएर खुसीका उज्यालो घाम लाग्नेछ  । हरेक बस्ती, गाउँ र शहरहरूमा अनि बालबालिकाहरू खुसीले उफ्रिएर स्कूल जानेछ्न्  । साथीहरूलाई भेट्ने छ्न्  अनि राम्रोसँग पढ्ने छ्न् ।  

प्रकाशित: २९ जेष्ठ २०७७ १०:४५ बिहीबार

जूनकीरी लकडाउन