अर्चना उप्रेती,
कक्षा –१२,
सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुर ।
मेरो कुनै नाम र ठेगाना छैन । भोको पेट र नाङ्गो आङ लिएर म हात फैलाउँदै यताउति भौंतारिरहेको छु, भोकको कारण पेटमा मच्चिएको तुफान शान्त पार्नका लागि । म सडकमा अलपत्र परेको छु, न त मलाई आफ्ना आमाबुबाको बारेमा केही थाहा छ न त यो मेरो आफ्नो मान्छे भनेर चिनेको नै छु । मेरो घर नै सडकको गल्ली बन्न पुगेको छ । मेरा लागि कपडा भनेको आङ नै नछोप्ने एउटा च्यातिएको मजेत्रो छ । म सानो मान्छे, एउटै लक्ष्य, आजका लागि पेट कसरी भर्ने ? मेरा रहरहरू गण्डकीको छालझैं बगिसकेका छन्, जो हरेक बालबालिकामा हुने गर्छ । चियाको कित्लीमा उम्लेको पानीझैं मेरो मनमा उम्लेको पीडा बुझ्ने कोही छैन । मलाई खाते र पागल नाम दिई सम्बोधन गर्ने व्यक्तिको कुनै कमी छैन । कसैबाट इज्जत पाउने कुरा त मैले एउटा कागजमा पोको पारी फ्याकिसकें । कसैले जुठो भात पोल्टामा राखिदिए भोकमरीको तुफान चलेको पेट शान्त हुने थियो । यसैका लागि म बिन्ती गरिरहेको छु । यो मेरो मात्र समस्या नभएर मजस्तै सारा मित्रहरूको साझा समस्या बनेको छ । निर्दोष भए पनि अरूको दोषमा, केही पाउने आशामा ।
प्रश्न उठ्छ मेरो मनमा, आखिर दोष कसको हो ? आमाबुबा, यो समाज वा सरकार ? हो, मजस्ता बालबालिका देखेर कठै र बिचरा भन्नेहरूको यहाँ कमी छैन । तर तिनै कठै र बिचरा भन्नेहरूलाई प्रश्न गर्न चाहन्छु, तिमीहरूले कुनचाहिँ हाम्रो रहरको सामग्री पोल्टामा हालिदिएका छौ ? चिल्ला गाडीमा कुदेर धुलो उड्यो भन्दै गाडीको सिसा लगाउने ती सुकिला नेताहरूले पनि भातको साटो धुलो मात्र खान विवश पारेका छन् । देशको केही हिस्सा यिनीहरूको भागमा पनि छ भन्ने विचार कहिल्यै राखेनन् । हुन त देशको हिस्सेदार हुँ भनेर देखाउने प्रमाण नागरिकता नै मसँग कहाँ छ र ? विदेशीहरूले नागरिकता लिई मलाई थुक्ने मेरो देश । कठै ! आदर्शको ढ्वाङ फुक्दा मलाई हाँसो उठ्छ । मेरा सम्पूर्ण अधिकार मबाट खोसिएका छन्, लुटिएका छन्, मलाई नाङ्गेझार पारिएको छ, म यो समाजको सदस्य होइन । दैवकै नाममा भए पनि केही दिनुस् न भनेर फैलिएका हात उठ्न छोडेका छन् ।
गल्लीगल्लीमा ठक्कर खाएपछि मेरा यी हात चोरीका लागि उठ्न थालेका छन् । मैले पनि अधिकार खोसेर लिनुपर्ने कुरा थोरै भए पनि बुझ्न थालेको छु । आफ्नो माटोको सेवा गर्ने इच्छा मर्न दिनु हुँदैन । मेरो देशले आज मेरै मर्म बुझ्न सकेन । म देशलाई के दोष दिऊँ, मेरै खाली पेटले त मेरै मर्म बुझ्न सक्दैन । खै, ती होटलवाला काइँला दाइ, सायद सडकबाटै उठेको हुनुपर्छ, मलाई दया देखाएर केही खानेकुरा दिने गर्छन् । मैले मात्र एक्लै कसरी खाने, ती गल्लीका कुकुरलाई पनि त दिनुपर्छ नि । मेरा वास्तविक मित्र त तिनै न हुन्, मेरै आसपासमा निदाउँछन् । हो, तिनै काइँला दाइलाई मैले ‘मानव’ देखेको छु । मानवता मर्न दिनु हुँदैन । जसको सहाराले मेरो पेटभित्र उर्लेको भुमरी शान्त पार्ने कार्य गर्दछ ।
आजभोलि तिनै काइँला दाइको होटल पनि बन्द छ । लकडाउन, सडकको धुलो गायब । पैसा हुनेले खाने, नहुने भोकै मर्ने दिनको सुरुवात भएको छ रे यहाँ । लकडाउनको अर्थ मैले बुझ्न सकिनँ । तर, काइँला दाइको होटल बन्द गर्ने नियमचाहिँ मैले बुझें । एउटा गाडी माइकिङ गर्दै आउँदै थियो, कोरोना भाइरसबाट सुरक्षित रहने उपायहरू । ती उपाय मैले प्रयोग गर्न पाएको खै त ? मलाई चाहिँ सफा खाना चाहिँदैन, मास्क, पन्जा, हात धुने साबुन र पानी चाहिँदैन, आङ ढाक्ने वस्त्र चाहिँदैन ? यो माइकिङ कसका लागि ? म अनुत्तरित नै छु । बाहिर निस्कन नहुने रे । मलाई खै त भित्र राखेको ? मैले यस्ता कुरा सोच्नु नै व्यर्थ थियो । मैले कानको जाली फुट्ने आवाज कानमा औंला हालेर नै बन्द गरें ।
मैले त राम्रोसँग बुझेको छु तर मेरो पेट पटक्कै बुझ्दैन । म आज दैवसँग माफी माग्दै छु । मैले चोरी गर्नु अपराध हो भन्ने बुझेको छु । तर, बाध्य छु । यो मेरो पेटले गरेको हो । दैव सजाय पनि यही पेटलाई देऊ । हे दैव, अर्को जुनी पाएँ भने, यही माटोमा आएँ भने मलाई यस्तो जिन्दगी नदेऊ है । म प्राण त्याग गर्दै छु । मरिसकेपछि मलाई कोरोनाको बिल्लाचाहिँ नभिराइदेओ है । म त भोक र अशिक्षाको शिकार हुँ ।
प्रकाशित: २८ जेष्ठ २०७७ ११:०६ बुधबार