अन्य

स्वास्थ्य र समयको महिमा

 तिलकबहादुर कुमाल

प्यारा भाइबहिनीहरू, यतिबेला घरमा फुर्सदिला छौ होला । स्कूल कहिले खुल्छ ? लकडाउन कहिले खुल्छ भन्ने खुलदुली लागेको छ होला ।नआत्तिनुस् । हामीले घरमै बसेर पनि रचनात्मक काम गर्नुपर्छ । हामीले समयलाई बरबाद गरयौं भने समयले हामीलाई बरबाद गर्छ । ज्ञान, सीप, बुद्धि, विवेकको विकास गरी असल मानिस बन्नुपर्छ । सबैभन्दा पहिले त हामी स्वस्थ हुनुपर्छ ।  

तपाईलाई थाहा छ ? जीवनको सबैभन्दा पहिलो सम्पत्ति के हो ? सोचौं त, मानिसको पहिलो सम्पति स्वास्थ्य हो  ।  त्यसैले हामी स्वस्थ हुनुपर्छ, किनभने अब आउने समयमा देशको भविष्य कस्तो बनाउने भन्ने कुरा आजका बालबालिकामा निर्भर गर्छ । त्यसैले हामी स्वस्थ भए मात्र देश विकासको जग बन्न सक्छौं ।  

अहिले हाम्रो पहिलो कर्तव्य कोरोनाको महामारीबाट जोगिनु र जोगाउनु हो । यसको लागि जरुरी काम नपरी घरबाहिर ननिस्कनुस्, निस्कनै परे मास्क लगाउन भुल्नु हुँदैन । सन्तुलित खाना, उमालेको पानी खाने र घरआँगन सफा राख्न अल्छी गर्नु हुन्न । बाहिरबाट घर फर्केपछि, कुनै वस्तु छोएपछि साबुनपानीले हात धुने र सामाजिक दूरी कायम गर्ने आदि उपाय अपनाउन नबिर्सनुस् ल । घरमै बसिरहँदा दिक्क लाग्छ नै । नआत्तिऔं, हामीले जीवनमा एउटै लक्ष्य र एकचित्त बनाउनुपर्छ । समयतालिका बनाएर काम गर्ने बानी बसाल्नुस् । स्कूल जानु पर्दैन भनी अबेरसम्म सुत्नु हुन्न नि । बिहान चाँडो उठ्ने र साँझ चाँडो सुत्ने बानी राम्रो हो । सबेरै उठ्ने, दिनभरिमा ८–१० गिलास पानी उमालेको पानी पटकपटक पिउने, कौसीमा बिहानपखको घाम ताप्ने, व्यायाम गर्ने, घर वरपर हिँडने र अदुवा, लसुन, टिमुर, तुलसीजस्ता जडीबुटीका नियमित प्रयोग गर्नाले शरीर तन्दुरुस्त भई रोगसँग लड्ने क्षमता बढ्छ ।  

कोरोनाले गर्दा घुम्नै पाइएन । कति घरमा मात्रै बसिरहनु ? यस्तै कुरा मनमा उब्जिएको होला । पाठ्यपुस्तकसँगै फुर्सदमा कथा, कविता, निबन्धका पुस्तक पढ्नुका साथै लेख्ने अभ्यास गर्नुपर्छ । आफूभन्दा ठूलाबडाबाट लोककथा, पौराणिक कथा, नीतिकथा, अर्तिउपदेश सुनेर ज्ञान र मनोरञ्जन लिनु त छँदै छ । अभिभावकसँगै गाउँखाने कथा खेल्ने, उखानटुक्का भन्न, लोकगीत गाउन लगाएर टिपोट गर्ने, टेलिभिजन, रेडियो मोबाइलबाट विभिन्न किसिमका गीत सुन्ने, गाउने, र नाच्ने अभ्यास गरेर रमाउदै कला सिक्नु त झन् गजब होइन र ?     

 हामीले समयलाई बरबाद गरयौं भने समयले हामीलाई बरबाद गर्छ । आफूले सकेको काम आफै गरेर समयको सदुपयोग गर्नुपर्छ । यसो गरे हामीमा स्वावलम्बी बन्ने क्षमता बढछ । गाह्रो काममा ठूला मानिसको मद्दत लिनुपर्छ । अभिभावकसँगै खाना पकाउन सिक्ने, आफू सुत्ने विस्तरा मिलाउन, लुगाफाटा धुन, किताबकापीको जतन गर्ने, कोठा, घर वरपर सफा गर्न अल्छी गर्नु हुन्न नि । चित्र कोर्न रुचि लाग्ने भाइबहिनीले आफू  सुत्ने कोठामा मन पर्ने चित्र बनाएर टाँस्ने, यति मात्र होइन, करेसाबारीका साथै  फूलबारीमा आफूले सक्ने जति गोडमेल गर्ने र सिँचाइ गर्नेजस्ता काम गर्नुपर्छ ।

तपाईहरूमध्ये धेरैको घरमा टेलिभिजन मोबाइल छ । तपाईलाई थाहा छ ? लामो समयसम्म टेलिभिजन र मोबाइल हेरिरहँदा आँखा र ढाडलाई हानि गर्छ भन्ने कुरा खोजबाट पत्ता लागेको छ । अब तपाईलाई टेलिभिजन हेर्न हुन्न भन्ने लाग्यो होला । तर त्यसो होइन, दैनिक १–२ घण्टा टेलिभिजनमा समाचार, ज्ञानमूलक कार्यक्रम हेरेर ज्ञानविज्ञानका कुरा जान्न छुटाउनु हुँदैन । मोबाइलमा गेम मात्र खेल्ने, अनावश्यक च्याट गर्ने, फेसबुक भिडियो मात्र हेर्दा धेरै समय खेर जान्छ । यसले गर्दा हामीले गर्नैपर्ने महत्वपूर्ण काम बिर्सिन सक्छौं । त्यसैले भाइबहिनीहरू समयलाई चिन्नुपर्छ ।  कमजोर मन बनाउनु हुँदैन । सकारात्मक सोच र आत्मविश्वासले नै जीवनको परीक्षामा सफल हुन सकिन्छ । आशा छ, कोरोना महामारीबाट मुक्त भई प्रफुल्ल भएर विद्यालयमा रमाउँदै पढ्न लेख्न सकौं । 

प्रकाशित: २८ जेष्ठ २०७७ ०७:४० बुधबार

जूनकीरी स्वास्थ्य