अन्य

असल मान्छेको खोजीमा

देशान्तर पौडेल

देशान्तर पौडेल  

आमाले ‘ठूलो मान्छे बन्ने कि असल मान्छे ?’ भन्ने विषयमा लेख लेख्न सल्लाह दिँदा एकछिन त म अलमलमा परें । ठूलो मान्छे कि असल रे ! कस्तो शीर्षक दिएको ! धेरै बेर घोरिएँ । अहँ आएन । अनि सम्झेँ, बाबाले दशैँमा टीका लगाएर आशिष दिँदा सधै भन्नुहुन्छ, ‘ज्ञानी भए ! असल मान्छे बने !’  

उहाँले कहिल्यै ठूलो मान्छे बन । धेरै पैसा कमाऊ भन्नु भएन ।  

मलाई लाग्थ्यो धेरै पैसा कमाएपछि ठूलो मान्छे बनिन्छ होला ! म एउटा घटना सुनाउँछु है, एक पटक हामी बुटवलबाट काठमाडौं आउँदा कलंकीमा रात छिप्पिसकेको थियो । साथमा झोला र बोरा थिए । आमाले ट्याक्सीवालसँग कुरा गर्नुभयो । धेरैले हाम्रो घरसम्म पुग्न लाग्ने भाडाभन्दा तेब्बर बढी मागे ।  

पद र धनको रवाफले कोही असल हुँदैन । सुबोली, सुकर्म र सुव्यवहारबाट मात्र मान्छे असल बन्छ ।

त्यो देख्दा ट्याक्सीवाला भनेका सबै खराब हुन्छन् भन्ने परिसकेको थियो । त्यही बेला एक जना चालक हाम्रो छेउमा आएर भने, ‘आउनुस् म लगिदिन्छु । म पनि त्यही रुट भएर घर जाने हो ।’  

देशान्तर पौडेलले बनाएको महात्मा गान्धीको चित्र । 

हातभरि ट्याटु खोपेका, कानमा मुन्द्रा लगाएका ती चालक हेर्दै डरलाग्दा देखिन्थे । आमा पनि डराएजस्तो गर्नुभयो । अबेर भैसकेकाले डराईडराई हामी उनकै ट्याक्सीमा चढ्यौं । घर नपुन्जेलसम्म हाम्रो सास रोकिए जस्तो भयो । धन्न ती दाइले सकुसल घरमा ल्याइदिए ।  

हामीले हाम्रै वरपर पनि देख्न सक्छौं । ठूलो घर, गाडी भएका, झलक्क हेर्दा पनि चिटिक्क परेका । नोकरचाकर पालेका मान्छे सम्पत्ति, पद र पावरको फूर्ति लडाउँछन् । तर दैलोमा कुनै गरीब माग्न आएमा धपाउँछन् । छिमेकीसँग नराम्रो व्यवहार गरेर आफूलाई ठूलो देखाउन खोज्छन् । तिनको पद ठूलो होला तर ती असल होइनन् ।  

पद र धनको रवाफले कोही ठूलो हुँदैन । महाकवि देवकोटाले भनेकै छन् नि, ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’ सुबोली, सुकर्म र सुव्यवहारबाट मात्र मान्छे असल बन्छ ।  

अचेल म ठूलो र असल मान्छे बीचको भिन्नता छुट्टयाउन सक्ने भएको छु । ठूलो पदमा पुगेका सबै असल हुन्छन् भन्न सकिँदैन । पद र पैसा हुनेबित्तिकै कोही असल बन्ने होइन । असल हुन त मन ठूलो हुनुपर्छ । सत्कर्म गर्नुपर्छ ।  

असल हुनु भनेको राम्रो काम गर्नु हो । सबैसँग नम्र भएर बोल्नु हो । अरूसँग राम्रो र असल व्यवहार गर्नु हो । राम्रो व्यवहारले सबैलाई राम्रो सोच्न प्रेरित गर्छ । सबैलाई पे्रम, सद्भाव, दया, माया र सहानुभूति राख्न सक्ने मान्छे असल हो । असल मान्छेको व्यवहारले अर्को मान्छेमा पनि सकारात्मक प्रेरणा जगाउँछ ।  

अरूलाई दुःख पर्दा साथ र सहयोग गर्ने मान्छे असल हो । बाबाआमालाई सम्मान र सेवा गर्ने, साथीसँगीलाई सहयोग गर्ने अनि दुःखीको सेवा गर्ने प्रेमले भरिएको मान्छे नै असल हो ।  

प्रकाशित: २८ जेष्ठ २०७७ ०६:३१ बुधबार

जूनकीरी