अन्य

योग गरौं, निरोगी बनौं

सुमना राउत

सुमना राउत

कक्षाः १०, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, स्वयम्भू, काठमाडौँ ।  

शारीरिक रूपमा स्वस्थ एवं मानसिक रुपमा आनन्द प्राप्तिका लागि योग नै उच्चतम उपाय मानिएको छ । योगले शरीर, मन र आत्मलाई एकाकार बनाई मन, शान्त र स्थिर रहन मद्दत गर्दछ । योग निरन्तर अभ्यासले शारीरिक, मानसिक र अध्यात्मिक व्यक्तित्व विकास हुन्छ । श्वास प्रश्वासलाई ध्यानमा राखेर विस्तारै आशन गर्नाले मानसिक शान्ति प्राप्त हुन्छ ।  

योगासनबाट शरीरमा स्फुर्तिको जागरण हुन्छ, शरीर हल्का हुन्छ । मानसिक तनाब घट्छ, निद्रा राम्रोसँग लाग्छ । पाचन क्रिया बलियो हुन्छ, अल्छीपन हट्छ । शरीर निरोगी बन्छ । छाला नरम भई शरीरमा चमक आउँछ । विभिन्न किसिमका योगासन र प्रणायामद्वारा उपचार गर्न सकिन्छ । योग जति उमेर ढल्किँदै गयो, उति बढी साधनामा रमाउने र जीवन बिताउने सरल र सहज माध्यम बन्छ । योग युवायुवतीदेखि लिएर बयोवृद्ध उमेरका सबैले गर्न मिल्छ ।  

आजको युगमा अव्यवस्थित खानपान, वातावरण आदिबाट उत्पन्न हुने रोगबाट बच्ने अचुक उपाय नै योग र ध्यान हो ।

योग कक्षामा स्वस्थ्यकर भोजन, गहन आराम, प्राणायाम र ध्यान पनि जोडिएर आउँछ । योगासन व्यायामले शरीर शुद्धिमा मद्दत गर्छ भने प्राणायाम र ध्यानले एकाग्र भई आनन्द प्राप्त गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा जीवन र जगतमा सुख र शान्तिसंग बाँच्ने कलाका योग भनी बुझ्न सकिन्छ ।  

हरेक उमेर समूहका लागि योग आवश्यक हुन्छ । आज भागदौडको जीवनमा त शारीरिक तन्दुरुस्तीको सहज उपाय योग नै हो । योगबाट मानसिक रोगदेखि दीर्घ रोगसम्म निको हुन सक्छ ।  

योग कसलाई आवश्यक पर्छ भन्नुभन्दा पनि कसलाई पर्दैन भन्ने मुख्य कुरा हो । बालकको शारीरिक विकास र विद्यार्र्थीको बौद्धिक विकासका लागि पनि योग आवश्यक हुन्छ । वयस्क युवाका लागि योग कुलतबाट मुक्ति, एउटा संस्कारयुक्त बाटो अपनाउन तथा शारीरिक÷मानसिक सुसंगठनका लगि पनि योग चाहिन्छ ।  

गृहिणीलाई पनि सन्तुलन बनाइराख्न योग आवश्यक हुन्छ । मानसिक शान्तिका निम्ति योगले औषधिको काम गर्छ । यसका साथै, कतिपय रोग उपचारको दृष्टिकोणले पनि योग आवश्यक छ ।  

योगका विभिन्न प्रक्रिया छन् । यी प्रक्रियामध्ये शरीरको बाह्य सन्तुलनका लागि व्यायाम, रोगका दृष्टिकोणले केही आसन र शरीरका अंग–प्रत्यंग स्वस्थ राख्न र मानसिक शान्तिका लागि प्राणायामको महत्वपूर्ण भूमिका हुन्छ । अहिले अष्टांग योगमा आधारित भएर संसार चलिरहेको छ । त्यसमध्ये आसन र प्रणायामप्रति धेरैको आकर्षण छ ।  

एउटा व्यक्तिले एकैचोटि कुनै नियम पालन गर्न नसके पनि आसन र प्रणायामलाई समात्न सक्छ । त्यसपछि भने उसले नियम बिस्तारै पालन गर्न थाल्छ । त्यसपछि एउटा ध्यान उत्पत्ति हुन्छ र मुक्तिको बाटो प्राप्त गर्न सक्छ ।  

प्राणायाम श्वासका माध्यमबाट गरिन्छ । श्वास कसरी लिने, श्वासलाई कसरी रोक्ने, कसरी छोड्ने, रोकेर कतिबेर राख्ने, देब्रे नासिकाबाट लिएको श्वासको प्रभाव के हुन्छ, दायाँबाट लिएको श्वासको प्रभाव के हुन्छ ? श्वास नियन्त्रणका यी विविध विधिको फरक–फरक प्रभाव हुन्छ ।  

प्राणायाम एक हिसाबले अक्सिजन थेरापी हो । अक्सिजन नलिँदा भने मानिसको मृत्यु हुन्छ, थोरै लियो भने बिरामी हुन्छ, पर्याप्त मात्रामा लियो भने शरीर सन्तुलित हुन्छ । पर्याप्त अक्सिजनले शारीरिक र मानसिक रोग समेत निको हुन्छ । त्यसैले शरीरमा पर्याप्त अक्सिजन आपूर्ति गराउने प्राणायाम सबैका लागि आवश्यक छ ।  

प्रणायाम मानसिक सन्तुलनका लागि अचुक औषधिसरह हो । कुनै पनि विधिबाट सन्चो नभएका बिरामीलाई पनि नियमित योगले लाभ मिल्छ ।  

मानिसलाई खाना र लुगा जरुरी भए जस्तै स्वस्थ जीवनयापनका लागि योग आवश्यक हुन्छ । हाम्रो शरीरमा अक्सिजनको मात्रा कमी भयो भने बिरामी परिने भएकाले आवश्यक अक्सिजन उपलब्ध गराउन योग प्रभावकारी हुन्छ । यसले शरीरमा भएका तन्तुहरूलाई सबल पार्छ ।

अर्को दृष्टिले हेर्दा योगले हाम्रो धन र समय जोगाउँछ । हामी बिरामी भएर अस्पताल गयौं भने समयका साथै धन पनि खर्च हुन्छ । योगले विभिन्न रोग लाग्ने सम्भावनाबाट टाढा राख्ने भएकाले धन र समयको बचत हुन्छ । बिरामी पर्नुभन्दा पहिले नै योग ग¥यौं भने धेरै रोगबाट मुक्ति पाउन सकिन्छ । नेपालमा योगबाट निको भएका मानिस हजारौंको संख्यामा छन् ।  

योगले हामीभित्र सकारात्मक सोचको विकास गराउँछ । यसका लागि हरेक बिहान योग गर्नुपर्छ । बिहानै खाली पेटमा योग गरेमा शरीरलाई धेरै फाइदा मिल्छ । ब्रह्ममुहूर्त अर्थात बिहान ४ देखि ५ बजेको समयमा पृथ्वीमा अक्सिजनको मात्रा बढी हुन्छ । त्यसैले उक्त समयमा खुला ठाउँमा बसेर योग गरियो भने धेरै लाभ हुन्छ।

प्राणायाम कति समयसम्म गर्ने भन्ने अन्यौल धेरैमा हुने गर्छ । सामान्यतया हरेक बिहान कम्तीमा आधा घन्टा योग गर्न सकिन्छ । शरीरका लागि एकदेखि डेढ घन्टा समय दिन सक्यौं भने हामी निरोगी हुन्छौं । यदि कोही बिरामी छ भने कति समयसम्म योग गर्ने र कुन प्रकारको गर्ने भन्ने विषयमा योग शिक्षकसँग परामर्श लिनु उचित हुन्छ । किनकि मानसिक रोगी, मधुमेह, रक्तचाप, मुटुरोगका लागि रोगको प्रकृति अनुसार नै फरक–फरक आसन हुन्छन् । आजको युगमा अव्यवस्थित खानपान, वातावरण आदिबाट उत्पन्न हुने रोगबाट बच्ने अचुक उपाय नै योग र ध्यान हो ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०६:१६ मंगलबार

जूनकीरी योग ध्यान