अन्य

हामी सँगै नभएर पनि खुसी छौं

लकडाउन सम्वाद

जितेन्द्र रसिक  

संवाद १

छोरी – ड्याडी, हजुरबुबा भन्नुहुन्छ मोवाइल धेरै चलाउनु हुन्न । के मोवाइल खराब वस्तु हो ?

म – खराब कुनै कुरा हुन्न । मोवाइल खराब वस्तु होइन ।  

छोरी –  उसो भए हजुरबुबा मलाई किन विद्यार्थीले मोवाइल चलाउनु हुन्न भनेर गाली गर्नुहुन्छ ?

म – तिमी खराब बनौली भनेर होला । संसारमा कुनै पनि चीज खराब हुन्न । खराब त मानिसले आफूले गर्ने कार्य र व्यवहारले जन्माउने हो । कुनै पनि वस्तुको सदुपयोग मात्र गर्ने हो भने केही पनि कुरा खराब हुन्न । तर दुरुपयोग गरियो भने त्यसले मानिसको हरेक क्रियाकलापमा असर पुरयाउँछ । त्यसको असर व्यक्ति हुँदै परिवार, परिवार हुँदै समाज र समाज हुँदै हरेक क्षेत्रमा पुग्दछ ।  

छोरी –  उसो भए अब मलाई मोवाइल चलाउने अनुमति दिनुस् । म खराब काम गर्दिन ।  

म  – तिमी मोवाइल दुरुपयोग गर्दिनौ भनेर कसरी विश्वस्त हुँ म ?

छोरी –  त्यसो भए दुरुपयोग भनेको के हो ? केके गर्नुहुन्छ ? केके गर्नु हुँदैन हामीले ?

म – अनावश्यक तरीकाले धेरै समय गेम नखेल्ने । यदि तिमी सामाजिक संजाल पनि चलाउँछौ भने राम्रा पक्षको अनुसरण गर्ने । नराम्रो पक्षलाई बेवास्ता गर्ने । तर तिमीले राम्रो पक्ष के हो र के होइन भन्ने जानकारी राख्ने क्षमता राख्नुपर्छ । यदि त्यसो गर्न सकेन भने तिमीले सामाजिक संजालबाट अपराध पनि गरिरहेको हुनेछौ । 

सामाजिक संजालमा जोडिन आउने मानिसहरू सबै राम्रा हुन्छन् भन्ने छैनन् । त्यसैले राम्ररी नचिनेका मानिसबाट साथी बन्न आएका अनुरोध स्विकार नगर्ने । च्याटमा जथाभावी कुराकानी नगर्ने । अति जरुरी कार्यमा सदुपयोग गरयौ भने कुनै पनि वस्तु खराब हुन्नन् । विश्व नै सूचना र प्रविधिको युगमा छ । तर, प्रविधिको प्रयोग गर्दै आफू पनि सिर्जनात्मक हुन सक्नुपर्छ ।  

संवाद –२

छोरी – बाबा मेरो स्कुलमा शिक्षकले भन्नुभएको नेपालमा पनि कोरोना भाइरस संक्रमित मानिस भेटिएछ । अब विद्यालय बन्द हुन्छ अरे । के गर्ने होला ?

म –  घरमै बसेर अध्ययन गर्ने ।  

छोरी – होइन म फुपूको घर जान्छु । त्यहाँ बहिनी पनि छे । हजुरबासँगै म फुफूघर जान्छु । भोलिबाट वार्षिक परीक्षा पनि सकिँदैछ । रिजल्ट आउने बेलासम्म म फुफूबाट धेरै काम पनि सिकेर आउँछु । शहरभन्दा गाउँमा विदा मनाउन रमाइलो हुन्छ ।  

म – तिमीले ठीकै भन्यौ । तिमी जान सक्छौं ।  

संवाद –३

एक महिनापछि

छोरी – (फोनमा) बाबा यो लकडाउन कहिले सकिन्छ ? मलाई घर र बाबामामुको धेरै याद आउँदै छ । म यहाँ बस्नै सकिनँ  । लिन आउनुस् न प्लिज ।  

म – छोरी तिमी केही समय त्यहीँ बस । सरकारले लकडाउन गरेको छ । कोभिड – १९ कोरोना संक्रमित बढिरहेका छन् । हामी जहाँजहाँ छौं त्यहीँ सुरक्षित रहनुपर्छ । दिक्क नमान है ।  

छोरी – धेरै दिन घरबाट टाढा बस्न गाह्रो हुँदो रहेछ । मलाई न्याँस्रो लागिरहेछ भन्नुु न म के गरूँ ? मलाई लिन आउनुस् न ।

म  – नजिकै भए लिन आउन हुन्थ्यो । तर, यस्तो जोखिममा नजिकै पनि हिँड्डुल गर्न हुँदैन । तर तिमी दिनभर बस चढेर पुग्ने ठाउँमा छौ । लिन आउन सम्भव पनि छैन । बरु मैले तिमीलाई भनेको कुरा सम्झ । यस्तो बेला सिर्जना गरयो भने मन स्थिर रहन्छ । तिमीले देखेभोगेका कुरालाई कथा वा कुनै सिर्जनामा लेख । यसले तिमीलाई लेख्न र सिर्जनशील बनाउन पनि सघाउँछ । मनमा अनेक कुरा खेल्दैनन् । अनलाइनबाट विद्यालयका शिक्षकहरूसँग संवाद गर । मोवाइलको सदुपयोग गर । अनलाइन सिकाइ पनि चलिरहेको छ ।  

छोरी –  हस् बाबा म प्रयास गर्छु ।  

संवाद –४

(फोनमा)

एक महिनापछि  

छोरी  –(खुसी हुँदै) ‘बाबा मैले कथा लेखें नि । पाँच वटा कथा तयार भयो । कथामा यहीँ गाउँमा कोरोनाबाट त्रसित भएका मानिसहरूलाई पात्र बनाएको छु । फुफूले खाना पकाउने विभिन्न परिकार बनाउन सिकाउनुभएको विषय पनि समेटेको छु । अनि हस्पिटलमा स्वास्थकर्मीका रूपमा हस्पिटलमै क्वारेन्टिनमा बसेर विरामीको सेवा गरिरहेका दाइको अनुभूित पनि समेतेको छु । साँच्चै कथा रमाइलो बनेको छ । यहाँ हामीले घर नजिकै बगैंचामा एैसेलु र चुत्रो पनि खायौं । कथामा ती विषय पनि समेटेकी छु । लकडाउन खुल्ने बेलासम्म म दश वटा कथा तयार पार्नेछु अनि बाबाले मेरो पुस्तक प्रकाशन गरिदनुस् । लकडाउनले मलाई कथाकार बनाउने भयो ।  

म – अवश्य । लकडाउन खुलेपछि म तिम्रो कथा मिलेको छ कि छैन हेर्छु । मिलेको छैन भने सच्याउन लगाउँछु अनि कथा संंग्रह प्रकाशन गरिदिने छु ।  

छोरी – ‘हस् बाबा, मलाई अहिले पहिलेको जस्तो बोर लागेको छैन । समय गएको पनि पत्तै हुन्न । अहिले त कथाका लागि केही कुरा आवश्यक परयो भने घरको छतमा गएर परपरसम्म हेर्छु । मनमा जस्तो कल्पना आयो त्यसैलाई लेख्न थालेको छु ।’  

छोरी खुसी भइन् । अहिले उनी सिन्धुपाल्चोकस्थित फुफूघरमा दुई  महिना जति बसेर हाल नजिकै मामाघरमा बसेर कथा लेख्दै छिन् । म भक्तपुरमा छु । लकडाउनले उनलाई सिर्जनशील बनाएको छ । म खुसी छु । उनी पनि खुसी छिन् । हामी सँगै नभएर पनि खुसी छौं ।  

 भाइबहिनीहरू पनि घरमा लकडाउनको पालना गर्दै बसिरहनुभएको छ । तपाईहरू पनि ‘म केही सिर्जना गर्छु’ भन्ने धारणा बनाउनुस् । कोर्सका पुस्तकहरू पनि पढ्नुस् । दिक्क लाग्न थाल्यो भने तपाईले लकडाउनमा भोगेकादेखेका, टेलिभिजनमा देखेका र आफ्नै मनमा उब्जिएका कुरालाई सिर्जनामा उतार्नुस् । कथा लेख्न सक्नुहुन्छ भने कथा लेख्नुस् । कविता लेख्न सक्नुहुन्छ भने कविता लेख्नुस् । यो पनि सकिएन भने डायरी लेख्नुस् । त्यो तपाईको र मुलुककै लागि कुनै समय ऐतिहासिक दस्ता बन्नेछ ।

लेख्नै मन लाग्दैन भने कुनै न कुनै सिर्जनशील काम गर्नुस् । गीत बजाउनुुस् । नाच्नुस । गाउनुस् । अभिभावकलाई आफ्नो सिर्जना देखाउनुस् । सामाजिक संजालमा जोडिसकेका भाइबहिनी छन् भने साथीहरूलाई पोस्ट गरेर आफ्नो प्रतिभा देखाउनुस् तर दिक्क मानेर नबस्नुस् । लकडाउन सकिने बेलासम्म तपाई निकै सिर्जनशील भएर निस्कनु हुनेछ । 

प्रकाशित: २५ जेष्ठ २०७७ ०५:०२ आइतबार

जूनकीरी कोभिड १९ पढाइ