सुम्निमा राई
सुरुमा मैले कलेजमा मेरा साथीहरूबाट कोरोनाबारे थाह पाएँ । मलाई यो रोग केही हैन जस्तो लाग्दैन थियो । तर, पछिपछि हालत एकदमै बिग्रिदै गयो र दिनदिनै यो रोगले कैयौं मानिसको ज्यान लिन थाल्यो । बिस्तारैबिस्तारै मलाई पनि धेरै डर लाग्न थाल्यो । आखिर कसलाई मर्ने रहर हुन्छ र ?
समय बित्दै गएपछि स्कुल र कलेजहरू सबै बन्द भयो । यो रोग भेटघाटबाट चाँडै सर्ने भएको हुँदा सबै जनालाई घरभित्र बस्ने अनुरोध गरियो र यो घरैमा थुनिएर बस्ने बसाइलाई लकडाउन नाम दिइयो ।
सुरुसुरुमा घरैमा बसेर वल्लो कोठा पल्लो कोठा गर्दागर्दै मलाई वाक्क लागेको थियो । सायद जीवनमै पहिलो पटक म मोबाइल चलाएर थाकेको पनि थिएँ । तर, बिस्तारै बानी पर्दै गयो । कोठामा बस्नु केही ठूलो कुरा लागेन । हरेक कुराको राम्रा र नराम्रा दुई पक्ष हुन्छन् । यसै गरी यो कोरानाको पनि राम्रानराम्रा दुवै पक्ष छन् । तर, यसको राम्रोभन्दा सयौं गुना नराम्रा पक्षहरू छन् ।
अहिलेको मानिसको समय कामले नै खाइदिएको छ । कामबाट अलिकति बँचेको समय मोबाइलले खाइदिएको छ । बेरोजगार युवाहरूको हातमा मोबाइल नभएको दिनै हुँदैन । यसले घरको सम्बन्ध नै चिसिँदै गएको छ । जतिबेला बेला पनि मोबाइलमै झुम्मिदा परिवारको भेटघाट नै पातलिएको छ । एउटै घरपरिवारले एक अर्काको अनुहार खाना खाने बेला मात्रै देख्न पाउँछन् । यस्तो अवस्थामा लकडाउनले परिवारसँग हाँसखेल गर्ने मौका दिएको छ ।
यस्तो बेला पहिले जस्तो सवारी साधन नचल्दा धुवाँधुलो उड्दैन र प्रकृति झन्झन् सुन्दर देखिँदै छ । सफा भयो भने हाम्रो देश विदेशभन्दा कुनै कमी देखिँदैन । कहिलेकाहीँ लाग्छ, प्रकृतिले नै हामीलाई हाम्रो पापको सजाय दिँदै छ ।
यो लकडाउनले हामीलाई भोलि जे पनि हुन सक्छ । फजुल खर्च गर्नु हुँदैन । पैसा बँचाउनुुपर्छ भन्ने पनि पाठ सिकाएको छ ।हामीले यस समयमा कोही मान्छे ठूलोसानो हुँदैन भन्ने बुझेका छौं । यसबेला ठूलो पदमा हुने र सामान्य नागरिक सबै घरभित्र बस्नु परेको छ । जति नै ठूलो पदमा र पैसावाल भए पनि कसैले यो बेला केही गर्न सकेको छैन ।
कोरोनाले हामीलाई हाम्रो जीवनमा भएको हरेक मानिसको महत्व बुझाएको छ । मलाई त आफ्नो साथीहरूको एकदमै याद आउँछ । साथीविना समय कटाउन एकदमै गाह्रो हुने रहेछ ।
अहिलेका बालबच्चा र युवाहरू बाहिरको खानेकुरा खान रुचाउँछन् । घरमा आमाको हातले बनेका मीठो खानेकुराको स्वाद नै बिर्सिसकेका थिए । तर, लकडाउनले घरमा एकैठाउँ बसेर आमाको हातले बनेका मीठो खानेकुराको खान पाएका छन् ।
सबै काम आमाबाबाले गरिदिएको कारण अहिलेका बालबच्चाहरू एकदमै अल्सी भएका छन् । यो लकडाउनले नानीहरूलाई आफ्नो काम आफै गर्न सिक्ने मौका दिएको छ । यो लकडाउनलाई सुनौलो मौका मानेर हामीले आफ्नो मनपर्ने क्रियाकलाप गर्नुपर्छ । म त आफ्ना भाइबहिनीहरूलाई पढाएर, चित्र कोरेर र कथा, कविता लेखेर समयको सदुपयोग गर्दै छु ।
यही लकडाउन हामी जस्तो मध्यम वर्गका लागि एउटा रामो समय बनेको छ भने यही लकडाउन निम्न वर्गका लागि सराप बनेको छ । तर, हामी सबै लकडाउन अन्त्यको प्रतीक्षामा छौं । गरीबका लागि कोरोनाको कहरभन्दा भोकमरीको कहर ठूलो छ ।
दुनियाँमा पापी मानिसहरू पनि धेरे रहेछन् । युटयुबमा घरको भाडा तिर्न नसकेर जबर्जस्ती खेदिएको दृश्य देख्दा निकै दुख लाग्यो । यस्तो बेला साथ नदिनु भनेको ढुंगाको मन भएको राक्षस हुनु सरह नै हो । त्यस्तै खान नपाएर सडकमा भौतारिनेहरूको दृश्यले चसक्क दुख्छ मन । म पनि उनीहरूका लागि केही गर्न सक्दिनँ । तर, तपाईहरू केही मदत जुटाउन सक्नु हुन्छ भने कृपया मदत गरिदिनुहोला । अहिले गरीबहरूको अवस्था एकदम मायालाग्दो छ ।
सुरुसरुमा त नेताहरूले २०, २५ जनालाई राहत बाँडेर जस कमाए । तर, त्यो राहत एक हप्ता पनि पुगेन । पाँच किलो चामल कति नै पुग्छ र ? यस्तो अवस्थामा सरकार पनि चूपचाप छन् । गरीबहरूको आश पनि मरिसक्यो होला ? उनीहरू मर्नु न बाँच्नुको दोसाँधमा छन् । साँच्चिकै गरीबका लागि त यो लकडाउन कालो दिन नै भइसकेको छ ।
कोरोनाले सबैको जीवन प्रभावित छ । हामी विद्यार्थीहरूको जीवनमा पनि ठूलो असर पारेको छ । हाम्रो कलेजले एक महिना जति अनलाइन क्लास चलाएको थियो । तर, मलाई अनलाइन क्लास त्यत्ति उपयोगी लागेन । दुर्गम ठाउँका मेरा धेरै साथीहरू घर गएका थिए । उनीहरूलाई अनलाइन क्लासको केही अर्थ रहेन ।
अहिलेको यस्तो प्रतिकूल अवस्थामा पनि सुरक्षाकमी र स्वास्थ्यकर्मी आफ्नो जीवनको परवाह नगरी खट्दै हुनुहुन्छ । उहाँहरूलाई मेरो तर्फबाट मुरीमुरी धन्यवाद । म चाहन्छु, यो कोरोना कहर चाँडै एउटा नराम्रो सपनामा सीमित होस् । हामी सबै फेरि नियमित जीवनमा फर्किन पाऊँ ।
प्रकाशित: २४ जेष्ठ २०७७ १६:१० शनिबार