अन्य

सबै मानिस समान

रुविआ पराजुली
कक्षा: ६, बुढानिलकण्ठ स्कुल, काठमाडौं।  

नेपालमा सानो जात र ठूलो जात भनेर छुवाछुत गर्ने चलन हटिसकेको छैन। छुवाछुत ज्यादै अमानविय काम हो। मानिस ठूलो जातले होइन, कर्मले हुन्छ। दिलले हुन्छ।  

कुनै पनि जात आफैंमा ठूलो या सानो भन्ने हुँदैन। संसारका सबै मानिस समान हुन्। तर, केही समय अघि मात्र पश्चिम नेपालको जाजरकोटका कथित तल्लो जातका केटा र रुकुमकी कथित उपल्लो जातकी केटीबीच विवाहको विषयलाई लिएर भएको झगडामा ६ जनाको ज्यान गयो। यो कस्तो विडम्वना !  

मानिस ठूलो हुन सत्कर्म गर्नुपर्छ। सबैको दिल जित्न सक्नु पर्छ।  

‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने श्लोक महाकवि लक्ष्मीप्रसाद देवकोटाद्धारा लिखित मुनामदन खण्ड काव्यमा उल्लेख छ। देवकोटाले आफू मर्नु अगाडि भनेका थिए कि ‘मेरा अरु सबै कृति जलाए पनि मुनामदन चाहिं नजलाइदिनु।’ 

कुनै पनि जात आफैंमा ठूलो या सानो भन्ने हुँदैन। संसारका सबै मानिस समान हुन्। 

यसबाट मुनामदन कति महत्वपूर्ण रहेछ भन्ने अनुमान गर्न सकिन्छ। यो नेपालमा सर्वाधिक बिक्रि भएको किताब पनि हो।

मुनामदन कथामा साहूको ऋणको पिरले मदन आफ्नी प्यारी मुना र बुढी आमालाई घरमा छाडी साथीसँग भोटतिर लाग्छन्। पैसा तिर्न नसक्दा घरमा भएको लैनो गाई, भाँडाकुँडा र सुकाएको विस्कुन समेत साहूले खोसेर लान्छ। साहूको क्रुर व्यवहारका कारण मदनको परिवार दयनिय अवस्थामा पुग्छ। गरिबीकै कारण मदन छट्पटीमा हुन्छन्। त्यहीबेला साथीको सल्लाहमा भोट लाग्छन्।  

उता पैसा कमाएर घर फर्कने क्रममा बाटोमा मदन बिरामी पर्छन्। सँगै गएका साथी मदनलाई एक्लै छाड्छन्। बिरामीको स्याहार गर्नुको सट्टा एक्लै छाडेर गएपछि मदन व्याकुल बन्छन्।  

संयोगबस एक भोटे दाइले मदनलाई फेला पार्छन्। मदनको नाजुक अवस्था देखि भोटेलाई दया लाग्छ र भन्छन्, ‘मेरो छ घर एक कोस पर तिमी त मर्दैन। म बोकि लान्छ हुन्छ कि हुन्न  ? फरक पर्दैन।’ ती भोटेको पाउ समाई मदन भन्छन्, ‘ईश्वर मेरा हे भोटे दाइ ! क्या राम्रो वचन।’

भोटेले बोकेर घरमा उनको उपचार गर्छन्। राती जंगलमा गएर जडीवुटी ल्याइवरी ओखती बनाएर खुवाउँछन्। साथै चौंरी गाईको पोषिलो दूध पनि खुवाउँछन्।  

रोग निको पारेको बदलामा मदनले भोटेलाई पैसाको थैली टक्राउँछन् तर भोटे पैसा लिन मान्दैनन्। उनले मदनलाई बचाउनु आफ्नो कर्तव्य सम्झन्छन्। यहाँनेर मदनले भोटेको पाउ पर्नु र भोटेले निस्वार्थ मदनको उपचार गर्नुबाट मानिसमा ठूलो भनेको जात होइन दिल हो भन्ने प्रस्ट हुन्छ। भोटेको पाउ समाती मदन भन्छन्, ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन। मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।’  

त्यस्तै महाभारतमा लक्ष गृहमा पाण्डव बस्दा एक जना कामदारले दिल देखाएर सुरुङ नखनेको भए सायद पाण्डवहरू कौरवले रचेको षडयन्त्रमा फस्न सक्थे। त्यसैगरी रामायणमा राम र लक्ष्मणलाई बाँदरका राजा सुग्रिव तथा हनुमान लगायतले सहयोग गरेको हुनाले नै रावणको पञ्जाबाट सीतालाई मुक्त गराउन सकियो। यस्ता घटनाले मानिस ठूलो हुन जात वा धर्म होइन दिल चाहिन्छ। कर्म गर्नु पर्छ भन्ने शिक्षा लिन सकिन्छ।  

खरायो र कछुवाको दौडमा खरायोले हार्छ। के खरायो हुँदैमा कछुवालाई जित्छ भन्ने छ र ? मुख्य कुरा त मन, विवेक र वुद्धि हो। खरायोको दिलमा घमण्ड आयो र सुत्यो अनि कछुवाले जित्यो। त्यसैले दिल सफा भयो भने असम्भव कुरामा पनि सफलता मिल्छ।  

हामीले कसैलाई जात वा रवाफले जित्छु भन्नु बेतुकका हुन्। दिल ठीक छ भने सबै कुरा ठीक हुन्छ। सबै आफ्ना बन्छन्। त्यसैले मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।

प्रकाशित: २४ जेष्ठ २०७७ ०२:२५ शनिबार

जूनकीरी लकडाउन बालबालिका