चिरञ्जीवी घिमिरे
कक्षा–९,
होराइजन एकेडेमी आवासीय विद्यालय, इटहरी, सुनसरी ।
आत्मीय साथीहरू,
विश्वव्यापी रूपमा कोरोना महामारी फैलिएको छ । यसबाट बच्न सरकारले लकडाउनको घोषणा गरेको दुई महिनाभन्दा बढी बितिसकेको छ । नयाँ कक्षामा भर्ना भई पढ्ने बेला घरैमा बस्नुपर्दा हामीलाई नरमाइलो लागेको छ । यो महामारीको कहिले अन्त्य हुने हो, यसको चित्तबुझ्दो जवाफ कोहीसँग छैन ।
कुनै पनि देशले हालसम्म यसको औषधि पत्ता लगाउन नसक्नु मानव जातिहरूको दुर्भाग्य हो । यस घडीमा लकडाउन नै एक मात्र उपाय बनको छ । हरेक व्यक्तिसँग भौतिक दूरी कायम गर्नु, डिटोल र साबुनपानीले पटकपटक हात धुनु, सेनिटाइजर दल्नु, माक्स, चश्मा र पञ्जा लगाउनु, दिनहुँ तीनचार पटक तातो पानी खानु र घरबाहिर ननिस्कनुु नै कोरोनाबाट सुरक्षित हुने विश्व स्वास्थ्य संगठनले विश्वभरका नागरिकलाई सूचित गरेको छ ।
हाम्रो देशले पनि यही मापदण्डलाई आधार बनाई लकडाउनलाई पालना गरेको छ । त्यसैले नेपाल सरकारको यी सबै शर्त पालना गर्दै म पनि घरमै बसेको छु । विश्व नै कोरोना महामारीबाट आतंकित छ । यो महामारीले विश्वभरका बालबालिकाको शिक्षामा गम्भीर असर पारिरहेको छ । म जस्तै कैयौं विद्यार्थीहरू विद्याललय जानबाट वञ्चित छन् ।
यो आधुनिक युग हो । लामो समयको लकडाउनले केही विद्यालयहरूले अनलाइन कक्षा चलाउन थालेका छन् । हाम्रो जस्तो मुलुकको शहरबजारका केही विद्यालयहरूमा मात्रै अनलाइन शिक्षा सम्भव छ भने गाउँका विद्यालयहरूको अवस्था कस्तो होला ? हाम्रो विद्यायलले पनि अहिलेसम्म अनलाइन शिक्षाको सुविधा दिन सकेको छैन ।
इटहरी २ र ३ जेठ ५ गतेबाट ११ गतेसम्म हाम्रो क्षेत्र सिल हुँदा झन् त्रास फैलिरहेको छ । लामो समयसम्म डरमा रहनुपर्ने हुँदा मन सहज बनाउन मैले पढ्नुको साथै घरमा आमादिदीहरूलाई गाईबाख्रालाई दानापानी दिन र भान्सामा काम गर्न सघाउँदै छु । युटयूब हेरेर विभिन्न परिकार बनाउन सिक्दै छु । दूधबाट पनिर र रसबरी बनाउन सिपालु भएको छुु ।
विपत्को घडीमा त्रसित भएर बस्नुभन्दा सिर्जनात्मक काम गर्नुपर्छ । म चित्रहरूमा रमाउने गरेको छु । मैले आदरणीय व्यक्ति र आफूलाई मनपर्ने चीजका चित्र कोरेर समयको सदुपयोग गरेको छु । आफ्नै चित्रहरूले कोठा सजाएकोे छु ।
‘देशपोस्ट’ का सम्पादक लोकमणि रिजालले मेरो चित्रकलाबारे लेख्नुभएको छ । त्यसैले म अझै हौसिएको छु । चित्रकलामा अगाडि बढ्न हौस्याउँदै द्रोण दाहाल र लघु सुवेदीले मलाई नगद उपहार दिनुभएको छ । चित्र कोरेर पाएको साढे एघार सय रुपैयाँ मेरो जीवनको पहिलो कमाइ थियो ।
आमा जसरी पनि पेट पाल्ने भयौ भनेर खुसी हुनुभएको थियो । बाबाले म पनि चित्रहरू बनाउँथे तर छोराको जस्तो अलि हुँदैन थियो भन्नुहुन्छ । हजुरआमा र दिदीभिनाजुहरू चित्र राम्रो छ । अब हाम्रो पनि चित्र बनाउनु भन्नुहुन्छ । म सबैको चित्र बनाउन तयार छु ।
आत्मीय साथीहरू, मैले त लकडाउनको दिनचर्या बताएँ । तपाईहरू चाहिँ के गर्दै हुनुहुन्छ ? तपाईहरूको अनुभव पनि पढ्न पाऊँ है । यस्तो अवस्थामा एक्लै बसिरहे मनमा अनेक कुरा खेल्न सक्छ । यस्तो भएमा हामीमा दीर्घकालीन मनोसामाजिक असर पर्न सक्छ । तसर्थ हामी आफ्नो परिवारसँग घुलमिल हुनुपर्छ र विपत्तिलाई सजिलैसँग सामना गर्ने साहस लिनुपर्छ । मैले यो समयलाई पूरै सिर्जनात्मक बनाउने प्रयास गरेको छु । तपाईंहरू पनि यस्तै काम गरेर सजिलोसँग समय बिताउनु होला । मैले बनाएका चित्रहरू हेरेर उचित सुझाव पनि दिनुहोला ।
प्रकाशित: १८ जेष्ठ २०७७ ०६:०२ आइतबार