बोधराज पौडेल
सुन्दर कलाले सबैलाई मोहित पार्दछ । कला सुन्दर बनाउनका लागि रंगहरूको उचित समायोजन हुनु पर्दछ । बालबालिका तिनै सुन्दर कलाका प्रतिबिम्ब हुन् । जहाँ जति नियालेर हेरयो त्यति धेरै आकृति देखिन्छ । ती सबै सबै सुन्दर लाग्छन् । जसरी पानी परेपछि पलाएका नयाँ आँकुराहरू ।
हामीले भन्ने गरेका छौ, बालबालिका भविष्यका राष्ट्र निर्माता हुन । उनीहरूलाई यो समयमा राम्रो वातावरणको सिर्जना गर्नु अपरिहार्य छ । आफ्ना बालबालिकालाई अनुशासित र धैर्यवान् बनाउनमा आमाबुबाको महत्वपूर्ण योगदान रहेको हुन्छ । यस्तो समयमा उनीहरूको मस्तिष्कलाई चलायमान बनाउनुपर्ने हुन्छ । जसका लागि आमा बुबाले सिर्जनशील कार्यमा लगाउँदा उनीहरूलाई बहकिनबाट रोक्न सकिन्छ । ‘खाली दिमाग सैतानको घर’ भन्ने त उखानै छ ।
नयाँ शैक्षिक सत्र शुरू भएको हुनाले नयाँ किताबका माध्यमबाट उनीहरूलाई पढाइमा रुचि बढाउन सकिन्छ । नयाँ किताबमा नयाँ कथा र कविता रहेका हुन्छन् । यसको साथै घरमा रहँदा हामीले उनीहरूलाई कविता, गीत, संगीतमा भुलाउने र चित्रकला बनाउन काममा लगाउन सकिन्छ । यसरी सिर्जनामा लगाउँदा उनीहरूमा आत्मबल वृद्धि हुन्छ भने अर्कोतर्फ सिर्जनामा निखारता आउँछ । भनिन्छ, ‘आत्मबल संसारमा भएका सबै रक्षा कवचभन्दा बलवान् हुन्छ ।’
बेलाबेलामा साथीहरूसँग फोनमा कुरा गर्न लगाउँदा पनि सूचना आदानप्रदान गर्नमा सहयोग हुन्छ । यो कार्यले साथीले के काम गरिरहेको छ र कसरी गरिरहेको छ बुझ्नमा मद्दत पुग्दछ । जसबाट नयाँ कुराको खोज र ऊर्जा पाउनका लागि सहयोगी हुन्छ । तसर्थ भनिन्छ, ‘बादेबादे जायते तत्व बोध’ अर्थात् छलफलबाट नयाँ कुराको निष्कर्ष निस्कन्छ ।
लकडाउनका कारण कतै घुम्न जाने वातावरण हुँदैन । तर, नेटको माध्यमबाट संसारका रहेका प्रसिद्धस्थानको बारेमा जानकारी दिन सकिन्छ । यो उनीहरूको जानकारीका लागि राम्रो खुराक हो भने त्यहाँ भएका चित्र र वातावरणको माध्यबाट उनीहरूलाई धेरै कुरा सिकाउन सकिन्छ । कुनै पनि कुरा घोकाउनुभन्दा चित्रका माध्यमबाट सिकाउँदा उनीहरूले छिटो सिक्न सक्छन । तसर्थ ‘हजार शब्दको बयान एउटा चित्रले गर्छ ’ भन्ने भनाइ संसारभरि चलेको हो ।
बच्चाको आनीबानी र उनीहरूको रुचिबारे जान्ने यो एउटा सुनौलो अवसर पनि हो । उनीहरू के चाहन्छन् ? उनीहरूको खास रुचि केमा छ । के कुराले उनीहरूलाई प्रभावित गर्न सकिन्छ । परिवारका सबै सदस्य घरमा नै रहने हुनाले हजुरबाहजुरआमाबाट नीति कथा र पौराणिक कुरा सिक्न सक्नेछन् । यो समय ज्ञान आदानप्रदान गर्न उपयुक्त समय पनि हो । जसबाट हामीले बिर्सदै गएको पुराना कुराको पुस्ता हस्तान्तरणको काम हुने छ ।
घरमा बच्चासँग बसेर रमाइला खेलहरू खेल्ने । खेल मनोरञ्जनको साधन मात्र नभएर स्फूर्ति बढाउने माध्यम पनि हो । खानाका परिकार बनाउन सिकाउने काम गर्न सकिन्छ । यसबाट स्वादअनुसारको खाना बनाउने तरीका र चाहिने सामग्रीबारे ज्ञान बढाउन सकिन्छ । भनिन्छ, ‘मीठो कुराले स्वादमा मात्र होइन सोचमा पनि फरक पार्छ ।’
बालबालिकाको कुनै वास्तविक आकार हुँदैन । उनीहरूलाई हामीले जस्तो बनाउन चाहन्छौं, त्यस्तै बनाउन सक्छौ । त्यसैले भनिन्छ, ‘केटाकेटी भनेका काँचो माटो र बाँसको तामा हुन ।’ उनीहरूलाई हाम्रो आवश्यकताअनुसार के बनाउने भन्ने कुरा हाम्रै हातमा छ ।
स्मरण रहोस्, हामीले दुई महिनाको समय घरभित्र गुजारिसकेका छौ । संसारभर फैलिएको कोरोना महामारीका कारण विश्व नै लकडाउनमा रहेको छ । चैत्र ११ बाट शुरू भएको लकडाउन जेठ २० सम्म आइपुग्दा ७१ दिनको हुनेछ । यो समयमा विद्यालय बन्द रहेका कारण बालबालिकाको पठनपाठन ठप्प छ ।
प्रकाशित: १५ जेष्ठ २०७७ ०५:२६ बिहीबार