पूजन कार्की
कक्षा: १० , सरस्वती मावि खानीभञ्ज्याङ, ओखलढुंगा
परीक्षा सकिएर घर बस्दा हामी दिदीभाइको दैनिकी फेरिन थाल्यो । एक किसिमको हलुका र फुर्सद जस्तो पनि भयो । गाउँमा मकै छर्ने बेला भएकाले बाबा, आमा, भाइ, म चारैजना त्यही काममा लाग्यौं । पहिला मकैको बीउ छान्यौं । त्यसपछि मल बोक्ने, छर्ने, जोत्ने काम भयो । अनि मकै छरियो ।
शहरबजारमा लकडाउनले ठूलो समस्या पारेछ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूको बिचल्ली भएपछि हप्तौंसम्म भोकैतिर्खै हिंडेर घर पुगेका रे ! सामानको अभाव र भाउ महंगो भएको पनि सुनियो । तरकारी तथा फलफूल किन्न पनि समस्या भयो रे ! त्यो हेरी हामी गाउँलेलाई त केही समस्या थिएन । आफूलाई आवश्यक पर्ने सबैजसो सामग्री घरमा व्यवस्था भएकै छ । स्कूल पनि बिदा भएको र लकडाउन पनि लम्बिँदै गएको हुँदा घरायसी काममा सघाउन प्रशस्त समय भयो । बाआमालाई सघाउने पनि के भन्नु, आफ्नै लागि आफ्नै काम त हो !
नेपाली सरले दिनुभएका किताब पनि पढिसकियो । कक्षा १० का नयाँ किताब कहिले पाइने हो ! स्कूल कहिलेदेखि खुल्ने हो ? अब कुरा खेलाएर पनि हुने कुरो केही छैन । जीवनमा जेजस्तो आइपर्छ, त्यस्तै खेप्नुपर्छ भन्नुहुन्थ्यो अङ्ग्रेजी सरले ।
भाइ र मैले सोत्तर बोक्ने, स्याउला काट्ने, दाउरा जम्मा गर्ने, गोरुबाख्रा चराउने काम गर्न थाल्यौं । छरेका मकै उमे्रर बढ्दै गएपछि गोड्ने काम पनि गरियो । घर सफा गर्ने, खाजा बनाउने, मेलामा खाजा पु¥याउने, भैंसीलाई पानी ख्वाउने कामहरू गर्दा आमाले धेरै सहयोग पाएको महसुस गर्नुभयो ।
पोहोर कक्षा ८ बाट कक्षा ९ मा जानासाथ नेपाली सरको सल्लाहमा हामीले कक्षाका मुना, रेनुका, बिनीता, सुनील, सिर्जना, सुजन र विपना गरी सात जनाको अध्ययन समूह बनाएका थियौं । सरले हामीलाई हप्तैपिच्छे चारवटा नयाँ पुस्तक दिनुहुन्थ्यो । पालोफेरो गरी ती पुस्तक पढेर बुझाएपछि फेरि अर्को चारवटा नयाँ पुस्तक दिनुहुन्थ्यो । हप्तैपिच्छे रमाइलारमाइला पुस्तक पढ्न पाउँदा रमाइलो लाग्थ्यो ।
शुरुशुरुमा त बन्दाबन्दी पनि ठीकै लागेको थियो । पछि लम्बिंदै जान थालेपछि भने स्कूलको सम्झना आउन थाल्यो । दिनदिनै कोरोनाबाट संक्रमित र मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको कुरा रेडियोबाट सुन्नुपर्दा धेरै दुःख लाग्यो । ‘परीक्षाको रिजल्ट कहिले निस्कने हो ! आफ्नो कुन स्थान आउने हो !’ भन्ने कुराले पनि सताउन थाल्यो । यस्तैमा रिजल्ट निस्केको र पास भएको सुनियो तर स्कूल बन्द भएको हुँदा सबै कुरा थाहा पाउन सकिएन ।
‘स्कूल लागेपछि त कत्ति रमाइलो हुन्छ ! नयाँ कक्षामा गएर नयाँ कुरा सुन्न र सिक्न पाइन्छ !’ भन्ने आशा गर्दागर्दै अझैसम्म स्कूलै खुलेन । अब त बन्दाबन्दी भएको पनि दुईमहिना नाघिसक्यो । समाचारमा, कोरोना संक्रमितहरूको सङ्ख्या बढेको बढेकै सुनिन्छ । यस्तै हो भने अझै पनि छिटै खुल्लाजस्तो छैन । शहरतिर त अनलाइन कक्षा भन्ने पनि हुन्छ रे ! त्यसमा, सर कम्प्युटरमा आएर कक्षामा पढाएझैं पढाउने र विद्यार्थी पनि उसै गरी आ–आफ्ना ठाउँमा बसेर कुरा सुन्ने र नबुझेको कुरा सोध्न पनि सकिने रहेछ । त्यसका लागि पहिला नेटको व्यवस्था हुनुपर्ने रहेछ । हाम्रोजस्ता ठाउँमा, हामीजस्ता गरीब विद्यार्थीका लागि त त्यो कुरा पनि सम्भव नहुनेजस्तो लाग्यो ।
आजकल प्रमिला, सुजाता, मुना र रेनुकाबाहेक अन्य साथीसँग भेट पनि हुँदैन । सरहरूलाई देख्न पनि पाइएको छैन । बुधवारे बजार पनि लाग्दैन । नेपाली सरले दिनुभएका किताब पनि पढिसकियो । कक्षा १० का नयाँ किताब कहिले पाइने हो ! स्कूल कहिलेदेखि खुल्ने हो ? मनमा यस्तै कुरा खेलिरहन्छ । अब कुरा खेलाएर पनि हुने कुरो केही छैन । जीवनमा जेजस्तो आइपर्छ, त्यस्तै खेप्नुपर्छ भन्नुहुन्थ्यो अङ्ग्रेजी सरले । विश्वमा जनसङ्ख्या बढ्दै गएपछि त्यसलाई प्रकृतिले नै नियन्त्रण गर्छ भन्ने कुरा अर्थशास्त्रमा पढिएको थियो । अब अहिले यस्तै कुरा सम्झिरहेको छु ।
विद्यालय जान नपाए पनि घरमै बसेर धेरै कुरा सिकिरहेकी छु । वास्तवमा घर पनि त एउटा पाठशाला नै हो नि ! अझ प्रकृति नै सबभन्दा ठूलो गुरु हो भन्ने बिस्तारै बुझ्दै छु । बाआमाले गर्नुभएको दुःखलाई नजिकैबाट बुझ्दै छु । बेलामा आफूले पढ्न नसकेका कारण छोराछोरीलाई चाहिं जसरी भए पनि जति पढे पनि पढाउँछु भन्ने बाबाको भनाइबाट धेरै प्रभावित छु ।
हजूरबाले सैनिक सेवामा जागिर गर्नुभएको रहेछ । यसपटकको बन्दाबन्दीमा उहाँसँग समय बिताउने मौका पाएँ । उहाँले जिन्दगीमा साहस र परिश्रमको आवश्यकता पर्छ भन्ने उदारहणले भरिएका धेरै कथा सुनाउनुभयो । तीमध्ये कुनै त उहाँको जीवनका घटना पनि रहेछन् । तीबाट म असाध्यै प्रभावित भएकी छु ।
यो बन्दाबन्दी पनि कति दिन बढिरहला र ! विद्यालय खुलेपछि नयाँ जोश र जाँगरका साथ पढाइलेखाइमा ध्यान दिनेछु ।
प्रकाशित: १५ जेष्ठ २०७७ ०४:५१ बिहीबार