अन्य

इद मुबारक !

आयुषा लिम्बू
कक्षाः १०, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, स्वयम्भू, काठमाडौँ।

वर्षका १२ महिनामा रमजानको महिनालाई एउटा शुभ महिनाका रुपमा लिइन्छ। यो महिनामा जन्नत (स्वर्ग) को ढोका खुला हुने गर्छ र जुहन्नम् (नर्क)को ढोका बन्द हुने विश्वास राखिन्छ। चन्द्रमाका आधारमा मनाइने गरिएको पर्व २९ वा ३० दिनको हुने गर्दछ। महिना दिन रोजा अर्थात् उपवासमा बसेर चन्द्रमा दर्शन गरेपछि रमजान पर्वको समापन हुन्छ। त्यसपछि, इस्लाम धर्मावलम्बी खुसियालीका रुपमा इदउल–फित्र अर्थात् इद पर्व मनाउँछन्।      

रमजान इस्लाम धर्मावलम्बीको महत्वपूर्ण चाड हो। रमजान मुसलमानका लागि शुभलाभको महिना हो। रमजानलाई कुरानले धेरै ठूलो स्थान दिएको छ। यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा बस्नुपर्छ।  मुसलमानहरूको पाँच महत्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजानमा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई महत्वपूर्ण मानिएको हो।  

रमजानमा गलत कार्य गर्न नहुने, झुट बोल्नु नहुने, लडाइँ, झगडा गर्नु नहुने लगायत पर्वको कडा नियमभित्र बस्नुपर्ने हुन्छ।

घाम उदाउनुभन्दा डेढ घण्टा अगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ। यो समयलाई रोजा खोल्ने समय भनिन्छ।  

दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानले गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन्। रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन, जानेर थुक पनि निल्नु हुँदैन भने दिउँसो सबै मानिसले दतिवन गरी मुख धुनुपर्छ। दिनभर केही पनि खान नहुने भएकाले ठूला मानिसले सजिलै रोजा पूरा गरे पनि उमेर नपुगेकाले धेरै कठिनाइ भोग्नुपर्ने हुन्छ। जसले जति कठिनाइ महसुस गर्छ, त्यसले त्यति धर्म पाउँछ भनेर ठूला मानिसले बालबालिकालाई रोजा बस्न प्रेरित गर्छन्। शरीर र मन दुवै शुद्ध रहनुपर्ने रोजामा महिलाको महिनावारी सुरु भएमा रोजा हुँदैन र महिनावारी रोकिएपछि पुनः रोजा बस्नुपर्छ। रोजाको समयमा श्रीमान् र श्रीमतीबीच शारीरिक सम्पर्क गर्न हुँदैन।  

मुसलमानहरूले रोजा अवधिभर नियमित नमाज पढ्छन्। आर्थिक रूपमा सम्पन्न मुसलमानले रोजाको समयमा गरिब, दीनदुःखीलाई दान गर्नुपर्छ। दान धार्मिक नियमानुसार गर्नुपर्ने हुन्छ, यसमा कसैले कम, कसैले बढी भन्ने हुँदैन। यस अतिरिक्त रोजाको अवधि पूरा गरिसकेपछि इदको नमाज पढ्नुभन्दा पहिले जनही एक किलो ७ सय ५० ग्राम गहुँको दाम निकाल्नुपर्छ, जसलाई फित्तरा भनिन्छ। यो नियम संसारभरिका मुसलमानमा लागू हुन्छ। यसरी निकालिएको रकम गरिब, दीनदुःखीहरूलाई बाँड्नुका साथै फित्तरा र जकात मुसलमानहरूको पाठशाला (मदरशा) सञ्चालनमा प्रयोग गरिन्छ। तीस दिनको रोजा पूरा गरेपछि पुरुषहरू इदगाहमा र महिला एकान्त ठाउँमा गएर सामूहिक रूपमा नमाज पढ्ने गर्छन् र अन्त्यमा एक आपसमा अँगालो मारेर इदमुवारक भन्दै बधाई साटासाट गर्छन्। नमाजको समयमा शरीरसँगै लुगाफाटो पनि शुद्ध राख्नुपर्ने कडा धार्मिक नियम छ।  

रमजान पर्वको अवधिमा गलत कार्य गर्न नहुने, झुट बोल्नु नहुने, लडाइँ, झगडा गर्नु नहुनेका साथै श्रीमतीसँग पनि शारीरिक सम्पर्क गर्न नहुने र अन्य महिलालाई छुन पनि नहुने पर्वको कडा नियमभित्र बस्नुपर्ने हुन्छ। शुद्ध आचरणका साथ यो पर्व गरेमा अल्लाहको कृपाप्राप्त हुने धार्मिक मान्यता छ।

अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा बिरामी, वृद्धवृद्धा, असक्त, गर्भवती महिला र बालबालिकालाई रोजा अर्थात् उपवासमा नबस्ने छुट दिइएको छ।

धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इदुल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवर्धन गर्ने कुरा विश्वास गर्न सकिन्छ।

नेपाल सरकारले बिसं २०६५ देखि यो दिनलाई राष्ट्रिय पर्वका रूपमा स्वीकार गरी सार्वजनिक बिदा दिंदै आएको छ। यो आपसमा भाइचारा वृद्धि गर्ने पर्व पनि हो। इद उल फित्रको नमाज पढेर ‘इद मुबारक’ भनी एक–अर्कालाई अँगालो हाल्दै शुभकामना, आशीर्वचन आदानप्रदान गर्छन्। इदले बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव वृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्छ। 

प्रकाशित: १४ जेष्ठ २०७७ ०३:३३ बुधबार

जूनकीरी काेराेना भाइरस बन्दाबन्दी बालबालिका रमजान