अमृता घले
कक्षा: ८, श्री कान्ती माध्यमिक विद्यालय, ठिङगन, मकवानपुर।
शहरको कोलाहलभन्दा पर स्वच्छ वातावरणयुक्त ठाउँ हुन् गाँउघर। जीवनको वास्तविक चित्र गाउँमा हुन्छ जहाँ माया, ममता र आफ्नोपन पाइन्छ। खेतिपाति, मेलापात, गाईबस्तु, उकालीओराली तथा शुद्धताको प्रतीक गाउँ हुन्। सहरमा अप्ठेरो पर्दा सहारा दिने काम पनि गाउँले नै गर्छ। अहिले कोरोना त्रासका कारण मानिस गाउँ फर्कनुको कारण यही हो।
कोरोना महामारीवाट जोगिन सरकारले लकडाउन गरेको छ। लकडाउन हुनुभन्दा केही अघि म पनि मकवानपुरको ठिङ्गन क्षेत्राबाट काठमाडौंमा आएकी हुँ। कक्षा ८ पढेर यता आएकी, अब कक्षा ९ देखि यतै पढ्छु।
मेरो पढाई शुरु नै नभई कोरोनाको त्रास बढ्यो र लकडाउनमा बस्न बाध्य छु। लकडाउनपश्चात म महाराजगञ्जको श्री शिवपुरी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्नेछु।
लकडाउनमा मलाई गाउँको खूब याद आइरहेको छ। अहिले म गाउँमा भएको भए वुवा, आमा, दिदी, भाईबहिनीसँगै स्वच्छ हावापानी, खानाको स्वाद लिँदै मकै रोपिरहेको हुन्थें। गाउँमा एक अर्काको खेतवारीमा सघाइदिने चलन हुन्छ। यसलाई मेला भनिन्छ। पालैपालो सवैको खेतमा काम गर्दा आफ्नोपन बढ्छ। रमाईलो पनि हुन्छ।
तिर्खा लाग्दा मोही खायो अनि भोक लाग्दा मकैभटमास। यस्तो मिठास सहरमा कहाँ पाइन्छ र ! सहरमा त दूष्ति हावा, विषादी मिसिएको तरकारी अनि मानविय संवेदना नभएका जिर्ण शरीर भएकाहरू मात्र पाइन्छन्।
सामूहिक खेति, व्यावसायिक खेति, ससाना कलकारखाना शुरू गर्नेहरूलाई सघाउनुपर्छ। अनि उत्पादित बस्तु बेच्न बजारको व्यवस्था मिलाइदिनु पर्छ।
सहरका मान्छे डर र त्रासका कारण मनोरोगी भइरहेका समाचार पढ्दा सोच्छु, उनीहरू गाउँमा भएका भए छिमेकी, आफन्तसँग रमाईलो गर्दै हलो जोत्थे। खेतिपाती गर्थे, मेला जान्थे होलान्। गाउँले जीवन अँगाल्दा कोही मनोरोगी हुनु पर्दैन। तर गाउँ मात्र हुँदा पनि देशको विकास हुँदैन नि, गाउँको अन्न, तरकारी, दूधजन्य पदार्थ तथा माछामासु सहरमा बेच्नु पर्छ। उद्योगधन्दा सहरमा हुन्छन जसले गाउँको श्रमशक्तीलाई रोजगारी दिन्छन्।
गाउँको इलम, सिप एवं अनुभव सहरले लिन्छ। यसवापत धन आर्जन गरि गाउँका मानिस पनि धनी हुँदै जान्छन्। अहिले गाउँ र सहरको समान विकास नभएर मानिस गाउँभन्दा टाढा जानु परेको छ। म राम्रो पढाइका लागि सहर आए जस्तै धेरै नेपाली विदेशमा पनि पुगेका छन्। देश बाहिर हुने नेपालीले पठाएको रेमिटेन्सले गाउँ र सहरबीच खाडल बढाएको भन्ने पनि सुनिन्छ। दाजुभाई विदेश जाने अनि छोरीवुहारीलगायत गाउँबाट सहरमा झर्ने हुँदा गाउँमा आमा र बाबा मात्र छन्। कतिपय गाउँमा खेतिपाती गर्न, मलामी जान, विवाहव्रतवन्ध जस्ता सामाजिक कृयाकलापमा मानिसको जनसहभागिता कम देखिन थालेको छ। यसले उत्पादन कम भई हामीले खाद्यान्न किन्न धेरै पैसा विदेश पठाउनु परेको छ जसले व्यापार घाटा बढाइरहेको छ।
आज कोरोनाको महामारीले धेरैजना गाउँ फर्केका छन्। म पनि पढाई सकेर आफ्नो सिप र श्रम गाउँमै खर्चनेछु। मलाई लोकसेवामा नाम निकालेर गाउँको सेवा गर्न मन छ।
स्कुल कहिले खुल्छ थाहा छैन त्यसैले डिसहोमवाट नियमित प्रसारण भइरहेको कक्षावाट भने केही ज्ञान लिइरहेकी छु। हाम्रो गाउँमा हुने साथीहरू यस्तो सुविधाबाट टाढा छन्। त्यसैले शहर र गाउँमा हुने विद्यार्थीबीच झन् ठूलो खाडल बढ्ने देखिन्छ। यसलाई समयमै सम्बोधन गर्नुपर्छ नत्र सरकारको सवैलाई शिक्षा भने नीति कार्यान्वयन हुन सक्दैन।
कोरोनाको कारण अहिले धेरै नेपाली स्वदेश फर्कन खोजेका छन्। उनीहरू फर्के भने गाउँ पुनः जाग्ने छ। धेरैको गाउँमा घरखेत हुन्छ त्यसैले उनीहरूले आफ्नो सिप, क्षमता तथा रकम पनि गाउँकै विकासमा खर्च गर्नेछन् भन्ने सोचेर सरकारले योजना ल्याउनुपर्छ। सामूहिक खेति, व्यावसायिक खेति, ससाना कलकारखाना शुरू गर्नेहरूलाई सघाउनुपर्छ। अनि उत्पादन भएका वस्तु बेच्न पनि बजारको व्यवस्था गर्नुपर्छ। विचौलियाका कारण परिश्रमी किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्। किसानले उचित मूल्य पाउने वातावरण सरकारले बनाउनु पर्छ।
प्रकाशित: १४ जेष्ठ २०७७ ०३:१९ बुधबार