अन्य

लकडाउन र सिर्जना

दीक्षा रायमाझी

कक्षा–९,

विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, स्वयम्भू, काठमाडौं ।

जीवनमा वसन्तको मनोरम हरियाली मात्र होइन, बर्सातका कालाकाला घनघटाहरू पनि आउँदा रहेछन् अनि जीवनलाई दुःख र वेदनाले ढपक्कै ढाक्दो रहेछ र आज हामी सबै जना जीवन शुक्ल पक्षको त्यो कालो रात गुजारिरहेका छौं । यो महामारी कोरोना भाइरसले गर्दा विश्वभर कालको त्रास फैलिएको छ र यसैं क्रममा नेपाल सरकारले लकडाउनको निर्णय जारी गरेको छ ।

जेठ २० सम्मको लकडाउन सबैका लागि सुनौलो अवसर हो । विद्यार्थीहरूलाई एउटै ठाउँमा बस्दा तनाव लाग्छ तर त्यो आफ्नो हेराइको खेल हो । वास्तावमा भन्नुपर्दा बालापनमा हामीसँग अरू बेलाभन्दा बढी रचनात्मक शक्ति रहन्छ । एक शिक्षा आर्जन गरेको विद्यार्थीले आफूमा उम्लेको हरेक जिज्ञासालाई शिक्षाले शान्त पारी नवीन कलाको विकास गर्छ ।  

त्यसैले अहिलेको समयको उपयोग गरेर विद्यार्थीले आफ्नो मनोबल बढाउन सक्छन् । अहिले विद्यार्थीहरूले रचनात्मक कुराहरूमा विशेष ध्यान दिन सक्छन् । उनीहरूले कथा, कविता र निबन्धका सिर्जना गर्न सक्छन् । नयाँ पुस्तक पढ्न सक्छन् । विद्यार्थीहरूले आफ्ना अक्षर सफा र राम्रो बनाउन सक्छन् । उनीहरूले व्याकरण सुधार्न सक्छन् र आफ्नो लेख्ने शैली उत्कृष्ट बनाउन सक्छन् । सबै विद्यार्थीको एउटै क्षमता हुँदैन । त्यसैले पढाइमा कमजोर हुनेले त्यो क्षेत्रमा सुधार गर्न सक्छन् । यही बेला नै हामीले आफ्ना कमजोरीलाई हतियार बनाउन सक्छौं ।  

लकडाउन अचानक भयो । त्यसैले कोही विद्यार्थी गाउँमा पनि पुगेका होलान् । त्यस्ता विद्यार्थीहरूले गाउँको सुन्दरता बुझ्नुपर्छ । हरेक कलाको सुरुवात प्रकृतिबाटै प्रेरित भएको छ । धानका बाला झुलेकाले नृत्यकला जन्मियो । हिमाल हेरेर चित्रकला जन्मियो र त्यसैगरी विभिन्न कला प्रकृतिबाटै जन्मेका छन् । यो कुरा ख्याल गर्दै शहरमा बस्ने विद्यार्थीहरू गाउँको प्रकृतिबाट प्रेरणा लिएर आफूले नयाँ र अनौठो कला उत्पादन गर्न सक्छन् ।  

गाउँमा त यताउता डुले पनि प्रकृतिको स्पर्श पाउन सकिन्छ । त्यसैले विद्यार्थीहरूले आफ्नो नृत्यकला, गायनकला र अरू विभिन्न कलालाई निखारेर आफूलाई सक्षम बनाउन सक्छन् । चराहरूको गीत सुन्दै मस्तिष्कलाई शान्त बनाए धेरै सिर्जना उत्पन्न हुन सक्छ । विद्यार्थीहरू गाउँमा विद्यालय पोसाक नलगाए पनि साँचो विद्यार्थी हुन सक्छन् ।

शहरमै रहेका विद्यार्थीले इन्टरनेटको वेभसाइटमा नयाँ भाषाहरू सिक्न सकिन्छ । त्यसबाहेक पढाइका नयाँ कुरा आविष्कार गर्न सकिन्छ । घरमै बसेर खाना पकाउने, सरसफाइ गर्ने जस्ता धेरै घरायसी काम सिक्न सकिन्छ । धेरैजसो घटना बालबालिकाहरूलाई ग्याँस चलाउन नआएर दुर्घटना भएको खबर सुनिन्छ । यस्ता घटना कम गर्न अहिलेको समयमा यी काम सिकेमा यस्ता घटनालाई सीमित बनाउन सकिन्छ ।  

हामी अरू बेला सधैं कामले आफ्नो परिवारलाई समय दिन सक्दैनौं तर यी दिनहरूमा हामी आफ्नो परिवारसँग कुरा साट्न सक्छौ, धेरैभन्दा धेरै समय परिवारसँग बिताउन सक्छौं । हामीले समयको महत्व बुझेका छौं । म विशेषतः कवितामा रमाउने विद्यार्थी, धेरै प्रतियोगितामा प्रथम र दोस्रो स्थान प्राप्त गरी मेरा बुबाआमालाई खुसी तुल्याएकी छु । किताबी ज्ञान त जो कोहीले प्राप्त गर्छन् नि, तर सिर्जनात्मक ज्ञान पनि साथमा भए मात्र मानव सन्तुलित बन्न सक्ने धारणा मभित्र रहेको छ ।

अन्त्यमा, यो लकडाउन धेरै उपयोगी बनाउन सकिन्छ । डरले होइन, यो कोरोनालाई आत्मविश्वासले भगाउन सकिन्छ । कोरोनाबाट बच्ने कैयौं उपाय पालना ग¥यौं भने यो देशलाई कोरोनाबाट छिट्टै नै मुक्त बनाउन हामी अवश्य सफल हुनेछौं । यो लकडाउन सदुपयोग गरौं र सुरक्षित रहौं । घरभित्र बसौं, सिर्जनामा रमाऔं अनि घरायसी काम सिकौं ।

‘कोरोना तबसम्म हाम्रो घरभित्र आउँदैन, जबसम्म हामी घरबाहिर लिन जाँदैनौ ।’ 

प्रकाशित: १३ जेष्ठ २०७७ १५:०१ मंगलबार

जूनकीरी कोभिड १९