अन्य

कहिले खुल्ला विद्यालय ?

राजश्री तिम्सिना

राजश्री तिम्सिना

कक्षाः ७, काष्ठमण्डप विद्यालय, मण्डिखाटार, काठमाडौं  

कोरोना (कोभिड– १९) भाइरस एक प्रकारको सरुवा रोग हो । यसको महामारीले विश्वका लगभग सबै देशलाई नराम्रोसँग असर गरेको छ । हालसम्म यस विरुद्ध कुनै पनि उपचार वा खोप छैन । त्यसैले वाध्य भएर धेरैजसो देशले यो महामारी थप फैलन नदिन लकडाउनको सहारा लिएका छन् ।  

शुरुमा यो रोगको भाइरस चीनको वुहान भन्ने शहरमा अवस्थित माछामासु बजारबाट फैलिएको र यसको मुख्य वाहक चमेरो रहेको विश्वास गरिंदै आए पनि हालसम्म यसको पुष्टी हुन सकेको छैन । चीन, अमेरिका, वेलायत लगायतका देशहरू यस  भाइरसविरुद्धको खोप विकास गर्न लागिपरेका छन् तैपनि सन्तोषजनक उपलब्धी हुन सकेको छैन । वैज्ञानिकका अनुसार यस्तो खोप विकास गर्न बर्षौं समय पनि लाग्न सक्छ ।

ोरोना भाइरसका कारण संसारमा हरेक दिन संक्रमित हुने तथा मृत्यु हुने संख्या बढ्दै गइरहेको छ । यसरी संक्रमित र मृत्यु हुनेको संख्या दैनिक हजारौंमा हुने गरेको छ । यो भाइरसका कारण विश्वमा हालसम्म ५३ लाख भन्दा बढी संक्रमित तथा ३ लाख ४० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । यसैकारण संसारभरका मानिसमा त्रास फैलिएको छ ।

लकडाउन अझै बढ्न सक्ने देखिएको छ जसले गर्दा बेरोजगारीको संख्या बढ्दै जाँदा भोकमरीको समस्या समेत आउने देखिन्छ । 

कोरोना संक्रमणका मूख्य लक्षणमा १०४ डिग्रीभन्दा बढी ज्वरो आउने, सुख्खा खोकी लाग्ने र स्वास फेर्न गाह्रो हुने हुन्छ । यसको गम्भीर अवस्थामा मानिसको मृत्यु पनि हुन सक्छ । सामान्यतया यस्ता लक्षण संक्रमितसंगको सम्पर्कमा आएको २ देखि ३ हप्तासम्ममा देखिन सक्छ । यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्यकर्मीको सम्पर्कमा रहनु पर्छ । तर कहिलेकाहीँ यस्ता लक्षण नदेखिए पनि कोरोना संक्रमित भएको हुन सक्छ । 

तसर्थ सकेसम्म शंकास्पद व्यक्तिहरूको सम्पर्कबाट टाढा रहने, सावुन पानीले लगातार हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, खोक्दा वा हाछ्यु गर्दा नाक र मुख रुमालले छोप्ने, सामाजिक दूरी कायम गर्ने, आफ्नो नाक, मुख र आँखा सकेसम्म नछुने र जनावरहरूको सम्पर्कबाट टाढा रहने । अत्यावश्यक काम वाहेक घर बाहिर नजाने तथा घर बाहिर निस्कनै परे राम्रो गुणस्तरको मास्कको प्रयोग गर्ने गर्नु पर्छ जसले कोरोना मात्र हैन अन्य रोग लाग्नबाट समेत बचाउँछ ।  

नेपालमा पनि गत माघमा कोरोना भाइरसबाट संक्रमित पहिलो व्यक्ति फेला परेका थिए । उनी चीनको वुहान शहरबाट नेपाल फर्किएका हुन् । उनी सफल उपचारपछि घर फर्कि सकेका छन् । तर त्यस यता क्रमशः संक्रमितहरुको संख्या बढ्दै जान थालेकोले नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि देशभर लागु हुनेगरी लकडाउनको आदेश जारी गरेको थियो जसलाई पटक पटक थप गरी आगामी जेठ २० गतेसम्म कायम गरेको छ ।  

कोरोनाले गर्दा सबैलाई विगत २ महिनादेखि घरैमा बन्दी बनाएको छ । पहिला त मलाई विद्यालयबाट कहिले विदा हुन्छ भन्ने लाग्थ्यो तर अहिले त मलाई विदा अत्यन्तै धेरै भएर विद्यालयको पढाइ कहिलेदेखि शुरु हुन्छ भन्ने लागेको छ । हाम्रो देशमा पनि दिनदिनै कोरोना भाइरसका संक्रमित बढ्दै जाँदा लकडाउन अझै बढ्न सक्ने देखिएको छ जसले गर्दा देशमा बेरोजगारीको संख्या बढ्दै जाँदा भोकमरीको समस्या समेत आउने देखिन्छ ।

तसर्थ सरकारले भविष्यमा आउन सक्ने यस्ता समस्याको समाधानका उपाय समयमै अपनाउनु पर्ने देखिन्छ । नत्र कोरोनाको कारणले भन्दा भोकमरीको कारणले धेरैको मृत्यु हुन सक्ने चेतावनी विज्ञहरूले दिन थालेका छन् । यसतर्फ सरोकारवाला सबैले बेलैमा सोचौं । 

प्रकाशित: १३ जेष्ठ २०७७ ०९:१३ मंगलबार

जूनकीरी कोरोना महामारी