अन्य

कौसीबारी राम्रो

प्रांशु भुसाल

प्रांशु भुसाल

कक्षा ७, बूढानीलकण्ठ स्कुल

नारायणस्थान, काठमाडौँ

घरसँगै रहेको सानो बारीलाई करेसाबारी भनिन्छ । घरको छानाबाट खसेको बलेनीसँगै जोडिएको भाग नै करेसो हो । यही करेसो जोडिएको भागमा भान्छाका लागि आवश्यक पर्ने चिजबिज लगाइन्छ । धनियाँ, खुर्सानी, पुदिना, हरियो सागपात र दिनदिनै आवश्यक पर्ने चिज करेसाबारीमा लगाइन्छ । करेसाबारी भान्सामा राखेको फ्रिजजस्तै हो । आफुलाई जतिखेर आवश्यक प¥यो त्यतिखेर ताजा वस्तु करेसाबारीबाट ल्याउन सकिन्छ ।

घरको अगाडि फूलबारीले जस्तै करेसामा रहेको सानो तरकारी बारीले घरको शोभा बढाएको हुन्छ । करेसाबारीबाट ताजा र स्वस्थ तरकारी पाइन्छ । यस्तै दिनदिनै गोडमेल गर्ने र पानी राख्ने गर्दा खाली समय बिताउन सहयोग हुन्छ । झारपात गोड्ने, तरकारी लगाउने गर्दा शारीरिक व्यायाम पनि पुग्दछ । यसरी करेसाबारी ताजा तरकारी फलाउने ठाउँमात्र नभएर मन बहलाउने र शारीरिक रुपमा स्वस्थ राख्न सहयोग पु¥याउने घरको महत्त्वपूर्ण ठाउँ समेत बनेको छ । बन्दाबन्दी र नाकाबन्दीका बेलामा त करेसाबारीको महत्व झनै बढेर गएको छ । २०७२ सालमा भारतले नाकाबन्दी गर्दा करेसाबारी भएका र बनाएका मानिसले मात्र ताजा सागसब्जी खान पाएका थिए । अहिलेको बन्दाबन्दीमा पनि करेसाबारीमा उब्जाएका खानेकुरा खान पाउने मानिस भाग्यमानी ठहरिएका छन् ।  

करेसाबारी भएका कारण नै हामीले सागसब्जी कसरी रोप्ने, मलजल कसरी गर्ने र कुन समयमा के रोप्ने भन्ने कुरा सिक्न पाएका छौँ । स्कुलमा बिउबाट कसरी टुसा पलाउँछ भन्ने पढेका हुन्छौँ तर करेसाबारी छ भने त्यो कुरा गरेर सिक्न सकिन्छ । अचेल तरकारी र फलफूलमा रासायनिक मल र किटनाशक औषधीको प्रयोग धेरै गरिन्छ । यस्ता बिषादीको नराम्रो असर वातावरण र ती चिज खाने व्यक्तिमा पर्छ । क्यान्सर लगायतका रोग बढ्दै जानुको कारण पनि बिषादी नै भएको वैज्ञानिकले बताउँदै आएका छन् । यसैले संसारभर अर्गानिक उत्पादनको महत्व बढ्दै गएको छ । घरमा आवश्यक पर्ने सबै चिज आफैं उत्पादन गर्न नसके पनि दैनिक प्रयोग हुने सागसब्जी करेसाबारीमा उत्पादन गर्न सके स्वास्थ्य समेत राम्रो बन्छ । घरका सबैसँगै मिलेर करेसाबारीमा काम गर्दाको आनन्द नै बेग्लै किसिमको हुन्छ ।

करेसाबारी छ भने भान्छाबाट आउने फोहर व्यवस्थापन गर्न सहयोग पुग्छ । सड्ने, गल्ने फोहोरमैला सडाएर बारीमा प्रयोग गर्न सकिन्छ । यसो गर्दा वातावरण पनि सफा हुन्छ । लकडाउनका बेला म र बहिनी पनि करेसाबारीमा जान्छौँ । हामीले काँक्रो, सिमी, बोडी, घिरौँला, लौका, मुला र सागपात रोपेका छौँ । बारीमा गोडमेल गर्दा र पानी लगाउँदा रमाइलो पनि हुन्छ । किसानले खेतबारीमा धान, गहुँ आदि बाली लगाउँछन् तर करेसाबारी जो कोहीले बनाउन सक्दछ । आजकल त घर वरिपरि जमिन नहुने मानिसले पनि कौसीबारी बनाउन थालेका छन् । घरकै कौसीमा गमला, बोरा र बट्टामा माटो भरेर तरकारी लगाउने गरिन्छ । 

करेसाबारी र कौसीबारी ताजा तरकारीका लागि मात्र नभएर मनोरञ्जन र शारीरिक व्यायामका दृष्टिले पनि निकै महत्त्वपूर्ण हुन थालेका छन् । यसैले घरनजिक खाली जमिन भएकाले जमिनमा र नभएकाले कौसीमा भए पनि केही तरकारी रोपेर घरमै उत्पादन भएको ताजा तरकारी खाने प्रयास गर्नुपर्छ । यसले थोरै मात्र भए पनि विदेशबाट तरकारी ल्याउने काममा कमी ल्याउनेछ । म सबैलाई हामी जहाँ छौँ त्यहाँ केही न केही रोपौँ अनि स्वस्थ बनौँ भन्न चाहन्छु ।  

प्रकाशित: ३ जेष्ठ २०७७ ०९:०० शनिबार

जूनकीरी