अन्य

नयाँ नेपाल बनाउँछु (अपडेट)

एरिका प्रजापति

एरिका प्रजापति

कक्षा ः  ८

डी. ए. भी स्कुल, ललितपुर  

नेपालमा प्रधानमन्त्री मन्त्रिपरिषदको प्रमुख हुन्छ । प्रधानमन्त्रीको अर्थ पनि प्रमुख मन्त्री हो । देश बिकास गर्नु प्रधानमन्त्रीको मुख्य जिम्मेवारी हो । देशको विकास गर्न प्रधानमन्त्रीले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ र प्रधानमन्त्रीलाई जनताले साथ दिनुपर्छ । त्यसो गरे मात्र देश अघि बढ्न सक्छ ।

कुनै दिन म प्रधानमन्त्री बनेँ भने सर्वप्रथम भ्रष्टाचार उन्मूलन गर्नेछु । भ्रष्टाचार गर्नेहरूलाई जागिरबाट निकाल्नेछु । घुस खुवाउने परम्परा साह्रै नै नराम्रो हो । त्यसैले म त्यस्तो घुस खुवाउने वा लिने काम गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ । जनताले तिरेको कर अनावश्यक ठाउँमा प्रयोग हुन पनि दिन्नं ।  

नेपालका २५ प्रतिशत जनता गरिबीको रेखामुनि छन् । त्यसैले म उनीहरूलाई रोजगार दिएर उनीहरूको जीवनशैलीमा राम्रो प्रभाव ल्याउन सक्दो कोशिस गर्नेछु । जलस्रोत नेपालको महत्वपूर्ण प्राकृतिक श्रोत हो । जल सम्पदाका दृष्टिले नेपाल विश्वकै दोस्रो धनी राष्ट्र पनि हो । ८० प्रतिशत जनताले मात्र पानीको सुविधा पाइरहेका छन् जसमध्ये २७ प्रतिशतले मात्र स्वच्छ पानी पिउन पाएका छन् ।  यसकारण म स्वच्छ पानी देशभरका जनताले पिउन सक्ने बनाउँछु । नेपालको जलस्रोत राम्ररी सदुपयोग भएको छैन । त्यसैले म जलविद्युत उत्पादन गर्ने योजना पनि बनाउनेछु र त्यसलाई पूरा पनि गर्छु ।

अस्पताल पनि साह्रै महत्वुर्ण हुन्छ भनेर मैले कोरोना महामारीले गर्दा थाहा पाएँ । धेरै बिरामी अट्ने राम्रो सुविधा भएको एउटा अस्पताल पनि बनाउँछु । अस्पताल बाहेक विद्यालय, खेलकुद मैदान, सडक निर्माणका काम पनि गर्छु । ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदा पनि संरक्षण गर्छु । हाम्रो देशको पहाडी क्षेत्रमा हुने जडिबुटी पनि सदुपयोग गर्छु । देशको आर्थिक विकास गरेर जनतालाई खुसी राख्ने काम गर्छु ।

अन्त्यमा म यो भन्न चाहन्छु कि यदि म प्रधानमन्त्री बनेँ भने भ्रष्टाचारको जरा उखेल्छु । साथै जनताको कर र बजेट सही ठाउँमा उपयोग गर्छु । नयाँ नेपाल बनाउँछु ।

अहिले नेपालमा पनि कोरोनाको जोखिम बढ्दै गइरहेको छ । त्यसैले साथीहरू हो, घरमै बसौँ, आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ ।

प्रकाशित: ३० वैशाख २०७७ ०६:३७ मंगलबार

जूनकीरी