मोनिता पौडेल, कक्षा: ७
सेन्टजेभियर्स स्कुल, जावलाखेल
अहिले कोरोना भाइरसका कारण देशैभर लकडाउन छ । लकडाउनका कारण हामी घरभित्रै बस्न बाध्य छौं । कोरोना नफैलेको भए म झोला बोकेर विद्यालयमा पढ्न गइरहेकी हुन्थें । साथीहरूसँगै बसेर खेल्थें, पढ्थें होला । आमाबुबासँग घुम्न गएकी हुन्थें होला । लकडाउनले मेरा सबै योजना चौपट बनाइदियो । म घरमै अनलाइन कक्षाबाट पढ्दै छु । यस्तो बेला कक्षाकोठामा साथीसँगै बसेर पढ्दाको सम्झना आइरहेको छ ।
छिट्टै लकडाउन अन्त्य होला जस्तो देखिन्नँ । हाम्रो देशमा कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ । सरकारले जेठ पाँच गतेसम्म लकडाउन गरेको छ । संक्रमितको संख्या ह्वात्तै वढ्यो भने लकडाउन अझै लम्बिनेछ । म भगवानसँग कामना गर्दछु कि लकडाउन टुँगिने वातावरण बनोस् ।
लकडाउन जब खुल्छ तब विद्यालय जान हतार गर्नेछु । विद्यालयमा गएर नयाँ कक्षाका सर, मिस तथा साथीसँग कुराकानी गर्न मन छ । उनीहरूसँगै बसेर पढ्न मन छ । विद्यालयको पुस्तकालयबाट पुस्तक ल्याएर पढ्नेथें । पुस्तकालयमा शिक्षकलाई किताब मिलाउन सहयोग गर्थें । साथीसँग मिलेर फुटवल पनि खेल्थें ।
विद्यालयमा गएर नयाँ कक्षाका सर, मिस तथा साथीसँग कुराकानी गर्न मन छ । उनीहरूसँगै बसेर पढ्ने रहर छ ।
साथी र शिक्षकसँग शैक्षिक भ्रमणमा जान्थें । स्काउटको ककनी क्याम्पमा उनीहरूसँग क्याम्प फायर गर्थें । विद्यालयको क्यान्टिनमा वनाइएको मिठो खाजा खान्थें । विद्यालयमा हुने प्रतियोगीताहरूमा सहभागी हुन्थें । नाच सिकाउने शिक्षिकावाट नाच्न र गाउन सिक्थें ।
लकडाउन खुल्यो तर विद्यालय खुलेन भने म पोखरा जान्थें । त्यहाँ मेरो मामाघर छ । विद्यालयले संचालन गरेको अनलाइन कक्षामा पोखरा गएर पनि सहभागीता जनाउन सकिनेछ । मामाघरका हजुरवा, हजुरआमा, सानुबुबा, सानीआमा, ठूलोबुबा, ठूलीआमा दिदी, दाईभाई र बहिनी सवैलाई भेट्थें । सुखदुःखका बात मार्नेथिएँ । हजुरआमाले भाडामा दिएको घरमा आलुचिप्स वनाउने कारखाना छ । त्यहीँ गएर चिप्स खान्थें । त्यस कारखानाको अगाडि एउटा विद्यालय छ । त्यहाँ गएर साथीहरूसँग खेल्थें ।
हजुरआमाको घरमा गाई पालिएको छ । त्यहाँ एउटा गाई, बाच्छो र बाच्छी छन् । हजुरआमाले पालेको गाईले दूध दिन्छ । म बाच्छाबाच्छीसँग खेल्नेथें । मामाघरमा एउटा कुकुर पनि छ । कुकुरको रंग कालो भए पनि नाम गोरे राखिएको छ । म र भाई त्यही गोरेसँग खेल्नेथ्यौं । बारीबारीमा कुद्नेथ्यौं । त्यहाँ भकारीमा धान राख्ने चलन छ । त्यहाँ धेरै मुसा आउँछन् । ती मुसालाई मार्न हजुरआमालाई सहयोग गर्नेथें ।
मामाघर नजिकै ठूलो चौर छ । त्यहाँ साँझपख भलिवल खेल खेलिएको हुन्छ म त्यहीँ गएर भलिवल खेलेको हेर्नेथें । ठूलीआमाको घर पनि पोखरामै छ । म उहाँकोमा जान्थें । उहाँले पकाएको मम मलाई खूब मन पर्छ । उहाँलाई मम पकाउन भन्थें । मम कसले धेरै खाने भनेर पहिलापहिला जस्तै दाई र दिदीसँग प्रतिस्पर्धा गर्थें । साथमा पोखरामा भएका पर्यटकीयस्थल भ्रमण गर्थें । त्यति वेलासम्म विद्यालय खुलेमा म काठमाडौं फर्केर पढ्न जान्थें ।
प्रकाशित: २८ वैशाख २०७७ १४:५० आइतबार