अन्य

काम सिक्ने अबसर

आधार राज अधिकारी, कक्षा: ७  
नाइटिङ्गेल इन्टरनेशनल सेकेण्डरी स्कुल, कुपण्डोल, ललितपुर।
     
आज सिँगो संसार कोरोना भाइरसको त्रासमा बाँचेको छ । भाइरसबाट सुरक्षित रहन हामी सबै लकडाउनमा छौँ । हाम्रो विद्यालय बन्द छ । त्यसैले लकडाउनले हाम्रो दिनचर्या बदलिइदिएको छ । 

हामी दाजुभाई बिहान उठेर दाँत माझे पछि तातोपानी पिउँछौं अनि बाबासँग  आधा घण्टा योग गर्छौं । भाइले कपालभाँती, भ्रामरी, अनुलोमविलोम, उज्जाई, मण्डुुुक आसन र सूर्य नमस्कार जस्ता योगासन राम्रोसँग गर्न जानिसक्यो । योग गरेपछि फूर्तिलो भएर भाइ र म बाहिर परेवालाई गहुँ खान दिन्छौं । 

गहुँको दाना देखेर थुप्रै परेवा झुम्मिन्छन् । कति रमाइलो हुन्छ । हामी परेवाले खाएको रमाइलो मानेर हेरिरहन्छौं । हामी सबैले यसैगरी पशुपन्छी र जिवजन्तुलाई माया गर्नु पर्छ । 

बिहान आमाले हामीलाई गाईको दूध र केही खनेकुरा दिनुहुन्छ र खाइसकेपछि भाइ र म कोठामा कुचो लगाउन जान्छौं । मलाई पनि कुचो लगाउन आमाले सिकाउनु भएको हो । अहिले म भाइलाई सिकाउँदै छु । कुचो लगाउने काम सकिए पछि कौसिमा रोपिएका फूलका गमलामा पानी हाल्छौं । अब त भाइले पनि राम्रोसँग फूलका विरुवामा पानी हाल्न जानिसक्यो । त्यति मात्र होइन, गमलामा उम्रिएका अनावश्यक झार उखेलेर कसरी फाल्ने भनेर पनि सिकिसकेको छ । 

मैले सिकेका कुरा ६ वर्षको भाईलाई सिकाउँदैछु । हामी मिलेर कोठा सफा गर्छौं । गमलामा पानी हाल्छौं । परेवालाई गहुँ खुवाउँछौं । भाई तरकारी पनि केलाउँछ ।  

आफूूूूले मेहेनत गरेर हुर्काएका रंगिचंगी फूल र त्यस वरपर घुम्दै फूलका रस चस्न आउने माहुरी देखेर हामी दाजुभाइ दंग पर्छौं । त्यसपछि हामी टिभी हेर्न बस्छौँ । भाइ र मलाई रमाइलारमाइला कार्टुन हेर्न मनपर्छ । विहानको खाना खाइसके पछि साढे ११ बजेदेखि मेरो अनलाइन कक्षा शुरु हुने भएकाले म पढाइमा व्यस्त हुन्छु । मेरो ६ वर्षको भाइ चाहिँ ट्याव्लेटमा गेम खेल्न बस्छ ।  

लकडाउनमा मैले भाँडा माझ्न, तरकारी काट्न र चिया पकाउन पनि सिकें । यी कुरा मलाई आमाले सिकाउनु भएको हो । अनि भाइले तरकारी केलाउन पनि सिक्यो । हामीले बिहान दूध र खानेकुरा खांँदा फोहोर भएको टेवल कपडाको टालो र पानीले सफा गर्ने तरिका पनि भाइलाई सिकाएको छु । भाइले तरकारी केलाएको भिडियो खिचेर पनि राखेका छौँ । 

कोरोना भाइरसको संक्रमण नहोस् भनेर साबुन पानीले हात धुने र मुखमा मास्क लगाउने राम्रो तरिका र यसको महत्व टिभी र पत्रपत्रिकाबाट सिक्यौं । माछामासु, अण्डा र तरकारी राम्रोसँग पकाएर खानुपर्छ र फलफूल राम्रोसँग पखालेर मात्र खानुपर्छ भनेर पनि जान्यौं । बारंबार साबुन पानीले हात धोइरहँदा कोरोना भाइरसको संक्रमणबाट बच्न मद्दत गर्छ भन्ने हामीले संचार माध्मबाट सिकिसकेका छौं । 

भाइलाई मैले जोड, घटाउ र २ देखि ६ सम्मको गुणन टेबल पनि सिकाएको छु । यी सबै भाइले कन्ठै गरिसकेको छ । मेरो अनलाइन कक्षा सकिए पछि म गृहकार्य गर्न लाग्छु । स्कुलबाट भाइको पनि गृहकार्य आइसकेको हुन्छ र ऊ पनि पढाइमा व्यस्त हुन्छ ।

कोरोनाको महामारीका कारण आज विश्व नै समस्यामा परेको छ । यस्तो बेला हामीले थोरै भए पनि जिवनोपयोगी काम सिक्न पाएकोमा खुशी लागेको छ ।

प्रकाशित: २८ वैशाख २०७७ ०४:११ आइतबार

काेराेना_भाइरस लबडाउन बालबालिका