अन्य

तीन कविता

इन्द्रेणीको खोजी 

खित्का छोडेर हाँस्न बन्देज छ अचेल
हाँसो हराएको छ ओठबाटै
लालिमा चोरिएको छ पटकपटक
कोमल गालाबाट
दिनदहाडै उधारिन्छन
साना नानीको चोली
लाग्छ, समय फेरिएको छ अचेल ।

पटकपटक गरिरहेछ अट्टाहास
उठाएको छु विचारको हिमाञ्चल 
आस्था र विश्वास सँगै
साध्य र साधन दुबै बनेका बेला
तिम्रा विचार माथिको तटबन्धमा
लागेको छ लेउ ।

जब तिमी बिद्रोहको आगो पिउँछौ
समताको भजन निस्कन्छ मेरो निबबाट
काला पत्थर बोल्छन् अक्षरहरूमा 
जे तिमी सुन्नै चाहँदैनौ थाहा छ मलाई
म तिमीलाई सुनाउन चाहन्थे त्यही कुरा
जे तिमी बोल्दैनौ 
मेरा अक्षर त्यही कुरा बोलिरहन्छन । 

मेरा अक्षरमा न जात छ न भूगोल
न थर, न गोत्र नै 
लाग्छ नदी झै बहाउन सकूँ मन
निन्द्रा पछिको यथार्थ बन्न सकुन सपना
फुकिरहन सकुँ आवश्यकताको बिगुल
अनि बाँच्न पाउँ यही काखमा
मर्न पाउँ यही माटोमा नै ।

जब खोस्रिन्छु माटो 
तन, मन भेट्ने गर्छु
प्रत्येक डल्लाहरूमा 
परिश्रम र पसिनाको मूल्य भेट्छु 
प्रत्येक कणकणमा
सायद मेरी आमाको अस्मिता
मेरो गौरव हो यो माटो ।

आत्मसमर्पण गर्दिनँ म
हिजो तिमी लड्यौ
आज म लड्दैछु र लडिरहेको हुनेछु
केवल तिम्रा लागि, तिम्रो भोलिका लागि
अनि अनगिन्ती जोश र जाँगरका निम्ति
मलाई बिराएँ भन्ने बिल्कुलै लागेकै छैन
मैले त केवल गरिरहेछु
केही थान खुशीहरूको जोहो
जहाँ जोडिएको छ सन्तानको भोली
त्यसैले रङ्गहरूको जोहो गर्नकै लागि
त्यो इन्द्रेणीको खोजीमा छु म ।
०००

उदाउनेछ एउटा दिन

एउटा दिन
साँच्चै दिन हुन सकेन
हिजो साँझ अस्ताएको घाम
आज उस्तै बनेर उदाउनु पर्ने
न प्रभात, न मध्यान्ह न सन्ध्या
हरेक बिहानी फरक भइदिन्छ अचेल 
त्यही छटपटीमा बाँचेको छ ऊ
भोलीको पर्खाइमा । 

सायद समय
नदीको दुई किनार जस्तै बनेको छ
साथ छ तर बेमेल छ
कठिन जीवनको दौरानमा
बिना नदीको किनार
र किनार बिनाको नदी जस्तै ।

यिनै विचारपथ
त्यही पाठ पढ्न तल्लिन छु
जीवनलाई छाम्दै गर्दा ब्रेललिपी जस्तै 
गन्तव्यका रेखाहरू टेडामेडा भान हुन्छन् 
यिनै उतार चढावमा आजकल
सत्यहरू झुट
झुठहरू सत्य बन्न थालेका छन् । 

नीलो आकाश
निमग्न, निर्धक्क र निसंकोच यो घर्ती 
मेरीआमा जस्तै महान छ
तर पनि उसलाई
यो छाँगा, झरनाहरूको निरन्तरता
उसलाई पटक्कै मन पर्दैन अचेल 
त्यसैत्यसै बिचलित छ ऊ
सगरमाथाको शिखर चुम्ने
आँटिलो मनमा भुकम्प पालेर बसेको छ ऊ ।

आज हठात मनको दैलो
हावाले भत्काएर गएछ उसको
परेवाका जोडीहरू बस्ने दलिन
बनेका छन् आवाजविहिन 
आकाशमा मडारिएको बादलले
खुशीका फूलहरू छर्दै छरेनन् 
उज्यालो ओढेर दिन निदाउने गर्छ
रातमा अँध्यारो बाल्छ ऊ ।

जीवनमा जति विघ्नबाधा सहेर पनि
भोलिका दिन मेरा सन्तानका लागि
घाम उदाउनु पर्छ खुशी बोकेर
हावा चल्नु पर्छ परिवर्तन सँगै
मौनताको सिमा तोड्दै
बाँडिनु पर्छ आँगनका पिडाहरू
यस्तै वेदना, गुनासा थकाइ र तिर्खाहरू
बन्नुपर्छ साझा
अविश्वासहरू बिश्वासले मेटिनु पर्छ
हुनुपर्छ केवल बिजय सत्यको
त्यो दिन एउटा दिन बनेर उदाउनु पर्छ
केवल सबैको साझा दिन । 
०००

खोल भित्रको मान्छे 

अचम्मित हुन्छु म
र अनौठो लाग्छ जीवन
मनको छटपटी
उडिरहन्छ अग्निशिखामा
अधुरा चाहना र मनका वहहरू
लाग्ने गर्दछ
सजिवका नाममा
निर्जिव भैदिएको भए
उपयोगी वस्तु त बन्थे कसैका लागि
बाँच्नैका लागि
यो विशाल भिडमा
गर्नु पर्ने थिएन सायद
यो कठिन सघर्ष ।

निर्जिव त सकिँन बन्न
तर सजिवमा पनि मान्छे किन ?
न मनभरि शान्तिको सास छ
न इच्छा, न आकांक्षा र चाहना
अधुरै अधुरो मन
अपुरै अपुरो लाग्छ जीवन ।

लाग्छ अचेल
यदि म वृक्ष भैदिएको भए
धेरैलाई  दिनसक्थे शितलता 
सक्थे धेरैको बन्न बासस्थान
धेरैधेरैको सुस्केरास्थल
यस्तैयस्तै केवल
सार्थक र पूर्ण जीवन ।

कुनै  बखत
कतै म निर्र्दोषमा नै
काटिन पुगें भने
टुक्राटुक्रामा चोटहरू लुकाएर
मुढो बनि पल्टिदिन्थें
सायद सुन्ने थिएन होला कसैले
ऐया ! आत्थु र चिच्याहट
लाग्छ म सजिवको नाममा निर्जिव 
आज मान्छे भएछु
केवल खोल भित्रको मान्छे ।
०००

प्रकाशित: २८ वैशाख २०७७ ०३:५६ आइतबार

कविता