अन्य

लकडाउनमा व्यबहारिक ज्ञान

अनुपा केसी, कक्षा : ८ 
बुढानिलकण्ठ स्कुल, काठमाडौ

लकडाउनका चालीस दिन परिवारसँग रमाइलो गर्दै वित्यो । मैले तालिका बनाएर समयको सदुपयोग गरिरहेकी छु । बिहान उठेर कोठा मिलाउन र चियानास्ता बनाउन सिकेकी छु । भाई र म फूलमा पानी हाल्छौं । कौसीमा निस्केर स्वस्थ हावा खान्छौं । खेल्छौं, रमाउँछौ । कथा, कविता र निबन्ध पनि पढ्छौं । 

मैले राम्राराम्रा चित्र पनि कोरेकी छु । विद्यालयका कला शिक्षक राजेशलक्ष्मी मानन्धर हुनुहुन्छ । उहाँले राम्रोसँग सिकाउनु हुन्थ्यो । अचेल सन्देशमुलक कार्टुन बनाएर फेसबुकमा पोष्ट गर्नुहुन्छ । अस्ती उहाँको कार्टुन हेर्दा आँखाबाट आँसु झ-यो । उहाँले हुँदा खानेहरू र हुनेखानेहरूको फरक झल्काउनु भएको थियो । 

अचेल किताब भन्दा बाहिरी कुराको ज्ञान बढेको छ । आमाबुवाले शिक्षामुलक भिडियो हेर्न प्रोत्साहित गर्नुहुन्छ । व्यक्तिगत सरसफाइमा जोड दिनु हुन्छ । बेलाबेलामा साबुन पानीले हात धुन लगाउनु हुन्छ । समयसमयमा मनतातो पानी खुवाउनु हुन्छ । आमाबुवा पनि साथी जस्तै बन्नु भएको छ । सँगै रमाइलो गर्नु हुन्छ । खेल्नु हुन्छ । 

हामी सबै मिलेर घरायसी काम गर्छौं । म भान्सामा आमालाई सघाउँछु । पहिला घरको काम गर्ने फुर्सद पाइन्नथ्यो । बिदामा कतै घुम्न गइन्थ्यो । बिद्यालयमा भने कुकिङ्ग कक्षा हुने भएकाले ग्याँस बाल्न र खानेकुरा पकाउन जानेकी थिएँ । लकडाउनमा धेरै कुरा सिकि सकें । 

बुवाले सकारात्मक ऊर्जा दिने खालका लेखहरू पढेर सुनाउनु हुन्छ । यसबाट सबैको सेवा गर्न, सत्य बोल्न र समाज सेवा गर्न हौसला मिलेको छ ।

आमाले मलाई धेरैथरि परिकार बनाउन मद्दत गर्नु भयो । दाल, भात, तरकारी, अचार, चट्नी र सुख्खा रोटि, सेलरोटि, मालपुवा, समोसा, पकौडा, आलुचप, जेरी, हलुवा, पुरी, डोनट, रसबरी, लालमोहन, चटपटे, पानीपुरी, मम र केक बनाउन सिकेकी छु । घरमा दैनिक प्रयोग हुने खाद्यान्नबाट पनि धेरै थरिका परिकार बनाउन सकिँदो रहेछ ! 

आफुले मेहेनत गरेर पकाएका खानेकुरा खाँदाको मजा बेग्लै हुन्छ । बुवाले सकारात्मक ऊर्जा दिने खालका लेखहरू पढेर सुनाउनु हुन्छ । यसबाट सबैको सेवा गर्न, सत्य बोल्न र धेरै पढेर समाज सेवा गर्न हौसला मिलेको छ । ममा राष्ट्रभक्तिको भावना जागेको छ । त्यसैले भविश्यमा समाजका लागि काम गर्नेछु । 

मलाई गाउँको सम्झना धेरै आउँछ । वार्षिक परीक्षा सकेर गाउँमा हजुर बुवाआमासँग भेटघाट गर्ने ठूलो इच्छा थियो । उहाँहरूसँग बारीमा घुम्ने, तरकारी  गोडमेल गर्ने रहर थियो । लकडाउनले गर्दा गाउँमा जान पाइएन । फोनमा उहाँहरूसँग कुराकानी भइरहन्छ । हजुरबुबा र आमाले हाम्रो चिन्ता गर्नु हुन्छ ।  भन्नु हुन्छ, ‘घरबाट बाहिर ननिस्कनु है नातिनी !’

लकडाउनमा व्यवहारिक कुरा सिक्न पाएका छौं । पछिल्लो समय हाम्रो विद्यालयले अनलाइन कक्षा चलाएको छ । अचेल यसैमा व्यस्त छु । 

अन्त्यमा, कोरोना भाइरसबाट चाँडै मुक्ति मिलोस् । हामी सबै आ–आफ्नो काम गर्न पाऔं । विद्यालयमा साथीसँग भेट्ने, रमाउने र पढ्ने दिन छिट्टै आओस् । 

प्रकाशित: २३ वैशाख २०७७ ०५:२० मंगलबार

जूनकीरी