नीना नाजारोवा/अनासतासिया गुलोबायेवा
सन् २०१३ देखि २०१८ का बीचमा करिब ६० हजारभन्दा बढी राजनीतिक कार्यकर्ताहरु हाउस अरेस्टमा बसेका थिए । हाउस अरेस्ट झेलिसकेका ६ जना रुसी नागरिकले बिबिसीसँग आफ्ना अनुभव बताए । खासमा आइसोलेसनमा बस्न कसरी सहज बनाउन सकिन्छ रु भन्ने उनीहरुको अनुभव यतिबेला काम लाग्न सक्छ ।
रुसी थिएटर निर्देशक किरिल सेरेब्रेननिकोभले डेढ वर्ष हाउस अरेस्टमा बिताए । उनले एउटा भिडियो पनि बनाएका थिए, जब तपाईं घरमा बन्द हुनुहुन्छ भने होश कसरी नगुमाउने भनेर । प्रायः मानिससँग इन्टरनेट हुँदा अरुसँग कुराकानी गर्न सहज हुन्छ तर हाउस अरेस्ट हुँदा तपाईंसँग ती सुविधा पनि हुँदैनन् । त्यस्तो बेलामा बाहिरतिर नहेरी आफैँभित्र छिर्नु एउटा गज्जबको अनुभूति हुने उनको धारणा छ ।
‘यो आफूलाई कयौँ किसिमका उल्झनबाट मुक्त गर्ने उम्दा तरिका हो । तपाईंले तिनै कुरामा आफ्नो ध्यान केन्द्रित गर्न सक्नुहुन्छ, जुन कुराको महत्व तपाईंको जीवनमा साँच्चिकै हुन्छ । उदाहरणका लागि, तपाईं को हो, तपाईं जीवनमा के चाहनुहुन्छ आदि ।’
एकान्तबासका बेला एउटा डायरी राख्ने सल्लाह उनी दिन्छन् । त्यो बेला तपाईंका दिमागमा अनेकन् कुरा बग्रेल्ती खेल्न आइपुग्छन् । ती साह्रै सामान्य पनि हुनसक्छन्, असामान्य पनि हुन सक्छन् । सामान्य भनेर हेला नगरी तिनलाई लेख्नुपर्ने उनको सुझाव छ ।
नारीवादी र बालबालिकाको थिएटर निर्देशक युलिया त्सवेत्कोभा सर्बियामा महिला तथा यौन अल्पसंख्यक समुदायका अधिकारीहरुसँगको कुरा अनलाइन प्रचारित गरेका कारण चार वर्षसम्म हाउस अरेस्टमा परेकी थिइन् ।
उनी भन्छिन्, ‘जति वर्ष म हाउस अरेस्टमा बसेँ, कुनै कामबिना बसेँ । पहिलो पटक मैले केही काम नगर्दा आफmूलाई ग्लानि महसुस गरिनँ । नत्र त हरेक कुरा छुटेकामा मलाई ठूलो पछुतो हुने गथ्र्यो ।’
नजरबन्दका बेला बनाइने रुटिन
सर्गेई फोमिनले केस शुरु हुनु पहिले एक महिना हिरासत र तीन महिना हाउस अरेस्टमा बिताए । मस्कोमा राजनीतिक विरोध प्रदर्शनमा सहभागी भएको भन्दै उनलाई तीन महिना हाउस अरेस्टमा राखिएको थियो ।
जब उनलाई एक महिना हिरासतमा राखिएको थियो, त्यो बेला नै उनी हाउस अरेस्टका लागि मानसिक रुपमा तयार भएर बसेका थिए र त्यसका लागि उनले केही योजनाहरु बनाएका थिए ।
उनी भन्छन्, ‘मैले कसरत गर्ने, पुसअप गर्ने, पढ्नेजस्ता योजना बनाएको थिएँ । तर एक महिनापछि नै सारा रुटिन बिग्रियो । म १० बजे उठ्थेँ । तीन बजेसम्म ओछ्यानमा नै पल्टिरहन्थेँ । बाथरुममा म तीन तीन घण्टा लगाउँथेँ र बिस्तारै फेरि ओछ्यानमा घुस्थेँ ।
युलियालाई पनि तनाव नै भयो । उनी भन्छिन्, ‘मैले आफूलाई संसार र वास्तविकताबाट टाढा लैजान चाहन्थेँ । जुन वास्तवमै आतंकित पार्ने किसिमको सोच थियो ।’
गणितज्ञ दिमित्री बोगाटोभले ६ महिनाभन्दा बढी समय २०१८ ताका हाउस अरेस्टमा बिताएका थिए । उनी भन्छन्, ‘त्यो बेला कुनै पनि किसिमको टाइमटेबल पालना गर्नु गाह्रो थियो । त्यो बेला तपाईंलाई गर्नुपर्ने काम हुँदैनथ्यो । न त समयमै काम सक्नुपर्ने बाध्यता हुन्थ्यो । यस्तो बेलामा सबै कुरा बेइमानीजस्तो महसुस हुन्थ्यो ।’
युक्रेनी साहित्यको लाइब्रेरीकी पूर्व निर्देशक नताल्या सरिनालाई २०१५ मा हिरासतमा लिइएको थियो र १८ भन्दा बढी महिना उनी नजरबन्दमा परिन् । प्रहरीको छापा मार्ने र सोधपुछपछि जब उनी हाउस अरेस्टमा परिन्, त्यसको केही दिन त उनलाई स्वर्गझैँ लाग्यो तर यो खुसी धेरै दिनसम्म टिक्न सकेन ।
उनी भन्छिन्, ‘तपाईंलाई लाग्दो हो, फूर्सदिला दिन भए त कत्ति न पढिएला, कत्ति न संगीत सुनिएला तर त्यस्तो हुँदैन । यस्तो बेलामा तपाईंलाई ध्यान केन्द्रित गर्नै गाह्रो हुन्छ । तपाईं टिभी खोल्नु हुन्छ तर ती सबै तपाईंको बुझाइभन्दा टाढाका कुरा हुन् कि भन्ने महसुस हुन्छ ।’
घरमा केही महिना नजरबन्दमा परेपछि नताल्याले आफ्नो क्लिनिक पनि जाने स्वीकृति पाइनन् । उनको ढाडमा समस्या देखिएको थियो, त्यसको उपचार गर्नु थियो । प्रहरीले ढाड नै सेकिने गरी प्रहार गरेको उपचार पनि उनले पाइनन् ।
जब उनले उपचारका लागि एउटा क्लिनिक जाने अवसर पाइन्, त्यहाँका मानिसहरुको अवस्था देखेर आफूलाई भाग्यमानी महसुस गरिन् ।
‘जब मलाई प्रहरीले ५०० मिटर पैदल हिँड्न सक्ने स्वीकृति दिए, त्यो बेलाको भाव बयान गरिनसक्नुको थियो किनभने म ज्यादै भावुक भइरहेकी थिएँ । यो कुनै सानो स्वतन्त्रताको महसुस गराइजस्तो थियो तर फेरि मलाई उदास पनि बनाउँथ्यो कि अब चाँडै म त्यो घरमा नजरबन्दमा परिहाल्छु भने यो स्वतन्त्रताको के अर्थ ?’
सर्गेईलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइँदा उनले दुई पटक नियम तोडे,
‘राति कहिलेकाहीँ मैले आफ्नो टाउकोमा हुडी लगाएर लुकिछिपी बियर किन्न जान्थेँ । बाहिर निस्कँदा मलाई लाग्थ्यो, म जेलबाट भागेर यहाँ आएको हुँ । र, त्यो बेला मलाई बडो आनन्द आउँथ्यो ।’
फोन गर्ने स्वीकृति
नताल्या भन्छिन्, ‘हाउस अरेस्टका बेला अदालतले तपाईंलाई आफ्ना नजिकका नातेदारसँग कुरा गर्ने अनुमति दिन्छ । नताल्याका पति र छोरी आइसोलेसनका बेला फोनबाटै भावनात्मक रुपमा एक हुन सघाउ पुग्यो ।
पछि उनले फोन चाहे जति कुरा गर्न पाउन थालिन् र साथीभाइलाई निम्त्याउन पनि पाउन थालिन् । ‘यस्तो बेलामा तपाईंसँग कुनै जनावर पाल्नु भएको छ भने तिनले बडो राहत दिन्छन्,’ उनी हाँस्दै भन्छिन् ।
प्रविधि विशेषज्ञ र विपक्षी कार्यकर्ता अलेक्जेन्डर लिटरेयेभले गैरहिंस्रक प्रदर्शनकारीलाई कुट्ने प्रहरी पहिचान गर्न एउटा अनलाइन प्रोजेक्ट बनाएका थिए । उनको हाउस अरेस्टको समय शुरु मात्र के भएको थियो, उनकी साथी डारया रोज उनीसँग भेट्न आइन् । उनी भेट्न आउँदा सधैँ मिठा परिकार ल्याउँथिन् र आत्मविश्वास दह्रो बनाएर जान्थिन् ।
यस्तो बेलामा हरकोही पढ्ने सल्लाह दिन्छन् । किरिल सेरेब्रेननिकोभ ‘वार एन्ड पिस’जस्ता केही किताबको नाम सुझाउँँछन् । यस्तो बेलामा उनी संस्मरण लेख्ने र नयाँ भाषा सिक्ने सल्लाह दिन्छन् ।
अलेक्जेन्डर लिटरेयेभ कविता लेखिरहेका छन् र नयाँ प्रोजेक्टको योजना बनाइरहेका छन् ।
युलिया भन्छिन्, ‘राजनीतिक कैदीका बाारेमा सोच्नुस् त ! अनिश्चित समयका लागि बन्दमा पर्नुको हालत कस्तो हुन्छ ? क्वारेन्टिन कम्तीमा त्यस्तो डरलाग्दो अनुभव त हुँदैन !’
अलेक्जेन्डरका वकिल एलेक्सी बुसमाकोभ भन्छन, ‘सेल्फ आइसोलेसनका बारेमा सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यस्तोमा तपाईं एक्लो हुनुहुन्न । ढिलोचाँडो यो सकिन्छ नै र तपाईं पहिलेजस्तै स्वतन्त्र हुनुहुनेछ । त्यसैले सेल्फ आइसोलेसन मानिसका लागि जीवनको स्वतन्त्रता बुझाउन ठूलो पाठ हुनेछ ।’
प्रकाशित: २३ वैशाख २०७७ ०१:४६ मंगलबार