अन्य

सात दिनका लागि कर्णाली सिल, पैदल यात्रीलाई पनि प्रवेश नदिइने

सुर्खेत - कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि लागू हुने गरी सात दिनका लागि प्रदेश सिल गर्ने निर्णय गरेको छ। छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सात दिनका लागि प्रदेश सरकारले सिल गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेश ५ र सुदूरपश्चिम प्रदेशसँग जोडिएका सीमा नाका सिल गर्नुका साथै २७ स्थानमा मेडिकल मार्च अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। 

सामाजिक विकास मन्त्री दल रावलले अत्यावश्यक (एम्वुलेन्स र रेफर गर्नुपर्ने विरामीले प्रयोग गरेका सवारी–साधन)बाहेकका कुनै सवारी साधनहरु कर्णालीमा प्रवेश नदिइने बताए। 

‘छिमेकी प्रदेशहरुमा कोरोना संक्रमणका विरामीहरु बढेकाले कर्णालीलाई सुरक्षित राख्न सात दिनका लागि दक्षिणका सबै सीमा नाका सिल गर्ने निर्णय भएको हो,’ मन्त्री रावलले भने, ‘सीमासम्म आइपुगेका कर्णालीका नागरिकहरुलाई पनि सोही ठाउँमै क्वारेन्टाइन निर्माण गरेर राख्छौं।’ प्रदेश सरकारले कर्णाली प्रवेश गर्ने मुख्य नाका बबईमा एक सय बेडको क्वारेन्टाइन निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ।

प्रदेश सरकारले दक्षिणबाट हिँडेर आउनेहरुलाई पनि प्रदेशमा भित्रिन नदिनका लागि सुरक्षा निकायलाई निर्देशन दिएको छ। बर्दियासँग सीमा जोडिएको बबई, दाङसँग सीमा जोडिएको सल्यानको कपुरकोट, सुदूरपश्चिमसँग सीमा जोडिएको कैलालीको कुइने नाकामहरुमा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि विपद् व्यवस्थापन परिषद्ले गरेको छ।

२७ स्थानमा मेडिकल मार्च

छिमेकी प्रदेशहरुमा कोरोना संक्रमण बढ्दै गएपछि बन्दाबन्दी (लकडाउन)को अवधिमा कर्णालीमा भित्रिएका नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि २७ स्थानमा मेडिकल मार्च अभियान सुरु गर्ने निर्णय पनि परिषद् बैठकले गरेको छ। अन्तरपालिकाको मध्यविन्दू छनोट गरेर कर्णालीका २७ स्थानमा विशेषज्ञ चिकित्सकसहितको टोलीले कोरोना परीक्षणका साथै आवश्यक अन्य स्वास्थ्य परीक्षण गर्ने सामाजिक विकास मन्त्री रावलले जानकारी दिए। चिकित्सकसहितको टोलीले संभावित विरामीहरुको पहिचानका लागि स्वाव संकलन, आरडीटी परीक्षण गर्नेछ।

कर्णालीमा तीन हजार ४०९ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकसहितको टोली साविकको कर्णालीका कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा खटिने छ भने कर्णाली प्रदेश अस्पताल, मेहलकुना अस्पताल र चौरजहारी अस्पतालमा कार्यरत चिकित्सकसहितको टोली सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिममा खटिने छ।

लकडाउनयता कर्णाली प्रदेश गर्ने मुख्य तीन मध्येको एक बबईबाट मात्रै १० हजारबढी नागरिकहरु भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार स्थानीय तह र प्रदेश सरकारले उद्दारका नाममा बबईबाटमात्रै १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन्।

यो अवधिमा कालीकोटका दुई हजार ६७४, जुम्लाका एक हजार ५३५, मुगुका एक हजार ३४९, दैलेखका एक हजार १२३, सुर्खेतका एक हजार ९४, जाजरकोटका एक हजार २६, डोल्पाका ६५५, रुकुम पश्चिमका ३६६, हुम्लाका ३०४ र सल्यानका २०६ जना बबई नाकाबाट भित्रिएका छन्।

प्रकाशित: २२ वैशाख २०७७ १२:०६ सोमबार

कर्णाली काेराेना लकडाउन